यो वर्षको मार्च महिनामा साउदी अरब र रुसमा तेलको मूल्यलाई लिएर निकै प्रतिष्पर्धा चलेको थियो । साउदी अरब चाहन्छ कि रुस तेलको उत्पादन कम गरोस् ताकि अन्तराष्ट्रिय बजारमा तेलको घट्दो मूल्यलाई थाम्न सकियोस् । तर रुस उत्पादन कम गर्न तयार छैन। 

रुसको यो व्यवहारबाट आजित र रुष्ट भएर साउदी अरबले पनि उत्पादन बढाउने र तेलको मूल्यमा छुट दिएर बिक्री गर्ने निर्णय गरेको थियो । साउदी अरबले यो निर्णय त्यतिबेला लिएको थियो, जब सम्पूर्ण विश्वमा कोरोना महामारीको कारण सबै कारोबार ठप्प थियो । दुवै देश एकअर्कामाथि मूल्यमा गिरावटको लागि जिम्मेवार रहेको भन्दै दोषारोपण गर्दै थिए । रुसको सरकारी टेलिभिजनले साउदी अरबलाई आफ्नो मुद्रा रुबेलमा आएको गिरावटका लागि जिम्मेवार रहेको जनाइरहेको थियो । 

दोस्रोतर्फ साउदी अरबले पनि जवाफी कदम चाल्ने निर्णय गरिसकेको थियो । एक अप्रिलमा साउदी अरबको राष्ट्रिय तेल कम्पनी अराम्कोले पनि प्रत्येक दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्ने जनाएको थियो । यो मात्रा रुससँग भएको सम्झौताको तुलनामा २६ प्रतिशत बढी थियो । साउदी अरबलाई रुससँगको मूल्ययुद्धमा आफूलाई बादशाह साबित गर्न सकिने लागेको थियो । 

पछिल्ला तीन वर्षमा तेलको दुनियाँमा दुईवटा अहम बदवाल भएको छ र यसको प्रभाव धेरै नै व्यापक रुपमा देखिएको छ । 

पहिलो कुरा के भने अमेरिकामा तेलको उत्पादन बढेको छ । यो उत्पादन यति बढेको छ कि अमेरिका ठूलो तेल आयातकर्ताबाट विश्वमा प्रमुख तेल निर्यातकर्ता देश बनेको छ । 

दोस्रो भनेको तेलको मूल्यलाई स्थिर राख्नका लागि रुस र साउदी अरबको बीच सहयोग हो । अमेरिका, रुस र साउदी अरब विश्वको तीन प्रमुख सबैभन्दा ठूलो तेल उत्पादक देश हुन् । पहिलो स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानका लागि रुस र आउदी अरबबीच प्रतिष्र्पधा चलिरहेको छ । रुस र साउदी अरबबीचको सहयोग हालका दिनहरुमा नराम्ररी प्रभावित बनेको छ । 

अर्गेनाइजेसन अफ द पेट्रोलियम एक्सपोटिङ कन्ट्रीज अर्थात ओपेकमा साउदी अरबको दबदबा सबैभन्दा धेरै छ । मार्च महिनामा साउदी अरबले ओपेकको माध्यमबाट कोरोनाको कारण तेलको मागमा आएको भारी गिरावटका कारण तेल उत्पादनमा कटौति गर्न प्रस्ताव गरेको थियो । 

रुस ओपेकको सदस्य छैन र उसले साउदी अरबको यो प्रस्तावलाई सर्मथन गर्न अस्वीकार गरेको थियो । यसपछि दुवै देशमा तेललाई लिएर मूल्य युद्धको सुरुवात भएको थियो । 

महामारीका कारण तेलको मागमा भारी गिरावट 
अमेरिकाको सेल ओयल साउदी अरब र रुस दुवैका लागि चुनौतिको रुपमा रहेको छ । तथापि सेल ओयलको उत्पादन महंगो हुने गर्दछ । तर सेल ओयलको उत्पादनको कारण नै अमेरिका विश्वको ठूलो तेल आयातकर्ताबाट सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको छ । 

सेल ओयल र ग्यासको उत्पादन महंगो भएकाले रुसलाई उसको बजारलाई कसैले पनि चुनौति दिन सक्दैन भन्ने लागेको छ । पारम्परिक कच्चा तेलको तुलनामा सेल ओयल चट्टानको पत्रबाट निकालिने गरिन्छ । 

पारम्परिक कच्चा तेल ६ हजार फिटको गहिराईबाट निकालिन्छ जब कि सेल ओयलको उत्पादन जटिल हुने गर्दछ । सन् २०१८ मा अमेरिका साउदी अरबलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश बनेको थियो । अमेरिकाको यो प्रगतिको असर रुस र साउदी अरबको बजारमा पनि पर्यो । 

कोरोना महामारीका कारण तेलको मागमा भारी गिरावट आएको छ । यो गिरावटलाई मध्यनजर गर्दै साउदी अरब र रुसलाई ओपेक र ओपेक प्लसमा तेल उत्पादनलाई भारी कटौति गर्न सहमति गर्नु परेको थियो । अमेरिकालाई पनि आफ्नो उत्पादनमा प्रत्येक दिन २० लाख ब्यारेल कटौति गर्नु परेको थियो । तथापि अमेरिका र रुसको तेल उत्पादन वा निर्यात कम भयो भने त्यति फरक पर्दैन जति साउदी अरबलाई पर्ने गर्दछ । साउदी अरबको अर्थतन्त्र तेलमा निर्भर छ र तेलको बजार प्रभावित बन्यो भने उसको बादशाहको पद धरमराउनेछ र भविष्यलाई लिएर भयले सताउनेछ । 

अमेरिका पछि रुसले दियो साउदी अरबलाई झट्का 
साउदी अरबको तेल उत्पादन र निर्यातलाई रुसको सँगै अमेरिकाबाट कडा चुनौति प्राप्त भइरहेको छ । पहिला अमेरिकाले साउदी अरबलाई तेल उत्पादनको मामिलामा दास्रो स्थानमा धकेलिदियो र अहिले रुसले साउदी अरबलाई तेस्रो स्थानमा पुर्याइदिएको छ । ज्वाइन्ट अर्गेनाइजेसन डेटा इनिशिएटिभ(जेओडीआई) का अनुसार रुसले जुन महिनामा तेल उत्पादनको मामिलामा साउदी अरबलाई तेस्रो स्थानमा पुर्याइदिएको छ । 

यसका साथै रुस, अमेरिका पछि तेल उत्पादनको मामिलामा विश्वको सबैभन्दा ठूलो देश बनेको छ । जेओडीआईका अनुसार जुन महिनामा रुसको तेल उत्पादन प्रतिदिन ८.७८८ मिलियन ब्यारेल रहेको थियो जबकि साउदी अरबको जम्मा ७.५ मिलियन ब्यारेल थियो । 

जुन महिनामा अमेरिका तेल उत्पादनको मामिलामा शीर्ष स्थानमा रहेको थियो । जेओडीआईका अनुसार जुन महिनामा अमेरिकामा तेलको उत्पादन १०.८७९ ब्यारेल प्रतिदिन रहेको थियो । साउदी अरबको तेल निर्यातमा पनि लगातार कमी आइरहेको छ । जुन महिनामा साउदी अरबको तेल निर्यात प्रतिदिन ५० लाख ब्यारेलभन्दा पनि तल्लो स्तरमा आइपुगेको थियो । जेओडीआईका अनुसार मे महिनाको तुलनामा जुन महिनामा उसको तेल निर्यातमा १७.३ प्रतिशतको गिरावट आएको थियो । 

जुन महिनामा साउदी अरबको तेल निर्यात प्रतिदिन ४.९८ मिलियन ब्यारेल रह्यो । मे महिनामा साउदीको तेल उत्पादन प्रतिदिन ६.०२ ब्यारेल थियो र अप्रिल महिनामा १० मिलियन ब्यारेल । 

साउदी अरबका लागि अबको सबैभन्दा ठूलो चुनौति भनेको कसरी आफ्नो अर्थतन्त्रमाथि तेलको परनिर्भरता कम गर्नु भन्ने हुनेछ । 

साउदी अरबका राजकुमारको महत्वाकांक्षा आफ्नो देशलाई तेलको कमाई बिना उभ्याउनु रहेको छ । तर अहिलेको अवस्थामा यस्तो हुने कुनै पनि संकेत देखिएको छैन । 

राइस युर्निर्भसीटी बेकर इन्स्टीटीयुटमा उर्जा मामिलाका विशेषज्ञ जिम क्रायनले समाचार एजेन्सी रोयर्टसलाई गत वर्ष दिएको अन्र्तवार्तामा यस्तो भनेका थिए, साउदी अरबलाई तेलको लत लागेको छ र ऊ अहिले पनि कमजोर बनेको छैन । साउदीको अर्थतन्त्र तेलबाट नै चलिरहेको छ । उसको जीडीपी तेलको आडमा टिकिरहेको छ । 

साउदीका नेताहरुलाई थाहा छ कि तेलको उच्च मूल्य सधैका लागि हुने गर्दैन । चार वर्षअघि यसैलाई ध्यान दिदै साउदीका राजकुमार मोहम्मद बिन सलमानले भिजन २०३० पेश गरेका थिए । 

यो भिजनको लक्ष्य भनेको साउदीको अर्थतन्त्रमा तेलको परिनिर्भरता कम गर्नु हो । साउदीका अन्य छिमेकीहरुलाई राम्रोसँग थाहा छ कि तेलमाथि निर्भर हुनु कति खतरनाक हुनसक्छ । मध्यपूर्व र उत्तरी अफ्रिकाको तेल राजश्वमा लगातार गिरावट आइरहेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)का अनुसार सन् २०१२ मा यी क्षेत्रमा तेलबाट प्राप्त हुने राजश्व एक ट्रिलियन डलर थियो । जुन सन् २०१९ मा ५७५ अर्ब डलरमा सीमित बनेको थियो । यो वर्ष अरब देशहले तेलको बिक्रीबाट ३ सय अर्ब डलर प्राप्त हुने अनुमान लगाएका छन् । तर यसबाट उनीहरुको खर्च पनि निस्कने छैन । मार्च महिनाबाट नै यी देशहरुले उत्पादनमा कटौति गरिरहेका छन् । यसका साथै कर बढाइरहेका छन् र ऋण लिइरहेका छन् । कयौँ देशहरु त नगदको समस्यासँग जुधिरहेका छन् । 

कोसँग कति तेल ? 
सन् २०१६ मा रिस्ताद इनर्जीको एउटा रिपोर्ट आएको थियो । जसमा अमेरिकासँग २६४ अर्ब ब्यारेल तेलको भण्डार रहेको उल्लेख गरिएको थियो । 

यसमा मौजुद तेल भण्डार, नयाँ प्रोजेक्ट, हालै खोजिएका तेल भण्डार र खोज्न बाँकी रहेका तेलका कुवाहरु पनि समावेश छन् । 

यो रिपोर्टमा रुस र साउदी अरबभन्दा धेरै तेलको भण्डार अमेरिकासँग रहेको जनाइएको छ । 

रिस्ताद इनर्जीको अनुमानकाअनुसार रुससँग २५६ अर्ब ब्यारेल, साउदी अरबसँग २१२ अर्ब ब्यारेल, क्यानडासँग १६७ अर्ब ब्यारेल, इरानसँग १४३ र ब्राजिलसँग १२० अर्ब ब्यारेल तेल भण्डार रहेको छ ।