नेपालको कम्युनिष्ट पार्टी र आन्दोलनको ७० वर्षभन्दा लामो इतिहासलाई अध्ययन गर्दा हामी के भेटाउँछौं भने यो सयौं टुक्रामा विभाजित हुँदै आएको छ । कम्युनिष्ट आन्दोलनको यो इतिहासमा एकताको पक्ष अपवाद जस्तो विरलै भेटीन्छ भने यसको मुल प्रकृति फुट र विभाजन रहेको छ । यसरी फुट र विभाजनलाई हेर्दा रुपमा कहिले काहीं जवरजस्त विचार, राजनीति र कार्यदिशाको लेपन लगाइए पनि त्यहाँ पद, प्रतिष्ठा र काम गर्ने शैली नै मुल पक्ष रहेको छ ।

कम्युनिष्ट आन्दोनमा विभाजको कारण रुपमा पदको लुछाचुँडीको देखिए पनि सारमा गंभीर सैद्धान्तिक विषय नै हो । त्यो चिन्तनसँग सम्वन्धित विषय रहेको छ । आज नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीले माक्र्सवादी वा कम्युनिष्ट दर्शन, राजनीति र कार्यक्रमलाई लागु गरेर देखाउने सुवर्ण अवसर र अर्को अर्थमा अग्निपरिक्षाको सामना गर्ने चुनौतीपूर्ण मोडमा आफुलाई उभ्याएको छ । ठीक यतीवेला ने क पा भित्र गंभिर आन्तरिक संकट उत्पन्न भएको छ । पार्टीका अगाडि यस्तो यक्ष प्रश्न तेर्सीएको छ कि यो पार्टीलाई एकतावद्ध राख्ने हो वा विभाजित गरेर इतिहासको पुनरावृत गर्ने ?

नेकपाको वहसमा आज एउटा प्रश्न जब्बरढंगले उठेको छ कि यो द्धोन्द वा संघर्षको कारण विचार, राजनीति वा सिद्धान्तको प्रश्न हो वा पदको लुछाचुँडी र झगडा ?यहाँ अर्को यो प्रश्न पनि छ पदको सवालमा विचार वा सिद्धान्तसँग यसको सम्वन्ध के छ ?अहिले नेकपा भित्रको वहसका सन्दर्भमा व्यापक चर्चा हामीले सुनिरहेका छौ कि. यो पदको लुछाचुँडीको फोहरी खेल भैरहेको छ । विचार, राजनीति र कार्यदिशाका वारेमा वहस नै छैन आदि आदि । यहाँ म एउटा अनुभूतीको विषय उठाउन खोजिरहेको छु कि सामान्यतः विश्वव्यापी रुपमै र विशेषतः नेपालको कम्युनिष्ट आन्दोलनमा पार्टीको कुनै पद र त्यो पद समालेको पदाधिकारीको कार्यशैली एउटा गंभिर सैद्धान्तिक सवाल भित्र नै पर्दछ । अर्को अर्थमा नेतृत्वको तरिका,पद्धति र व्यवहार एउटा सैद्धान्तिक विषय भित्र नै पर्दछ । अझ नेतृत्व र उसले गर्ने व्यवहारवाट सो पार्टीले अंगालेको विचार, राजनीति र चिन्तन पद्धती व्यक्त हुने हुनाले यो अझ संवेदनशिल सैद्धान्तिक प्रश्न हो ।

कम्युनिष्ट आन्दोलनमा एउटा गंभिर र विडम्वनापूर्ण अन्तर्विरोध रहि आएको छ । सिद्धान्ततः वा दार्शनिक चिन्तनगत दृष्टीले कम्युनिष्ट सामूहिक हुन्छन किनभने यसले समाजवादको वकालत गर्दछ । आम जनतालाई समान दृष्टिले हेर्ने र व्यवहार गर्ने समाजवादी पार्टीले स्वयं त्यो पार्टीभित्र समाजवादी शैली र व्यवहार लागु गरेको छ वा छैन ? हो यहि गंभिर प्रश्नमा कम्युनिष्ट पार्टी चुकेको छ । यहि कम्जोरीका कारण पार्टीमा पदको लुछाचुँडी र झगडा उपस्थित हुन पुग्छ । कतिपय सन्दर्भमा पद प्राप्तीको संघर्षले हिंसात्मक रुप पनि धारण गर्न पुग्दछ । कम्युनिष्ट पार्टीले भन्दै आएको र हुनु पनि पर्ने चाहिं नेतृत्व सामूहिक हुनुपर्ने हो ।

नेताहरुको समुहले नेतृत्व गर्ने भन्नुको मतलव समुहमा बहस अन्तक्र्रिया मार्फत जुन निष्कर्ष आउँछ, त्यसलाई व्यक्त गर्ने र लागु गर्ने विशिष्ट कार्यविभाजन वा जिम्मेवारी हो पद । तर त्यसको ठीक विपरित व्यवहारमा हामीले यो भोगे र देखेका छौं कि पदले नेतृत्व र निर्णय गर्ने व्यवहार र कार्यशैलीमा समाजवादी होइन, कतिपय सन्दर्भमा घोर सामन्ति राजकीय शैली देखा पर्दछ । पार्टीमा पदधारी र सदस्यहरुको बीचमा राजा र रैतीको सम्वन्ध र हुकुम फर्मानद्धारा परिचालन गर्ने शैली देखापर्दछ । पद नै शक्तिको श्रोतको रुपमा लिइन्छ र पदलाई नै मान प्रतिष्ठा, सेवा सुविधा रआर्थिक श्रोतका रुपमा समेत लिइने हुँदा कुनै पदलाई कसरी वुझ्ने, ग्रहण गर्ने वा पद सम्वन्धि धारणा निर्माण गर्ने र त्यसको प्रयोग गर्ने सवाल त महत्वपूर्ण वैचारिक सवाल नै वन्न पुग्दछ ।

अतः हामी भन्न सक्छौं कि आज पदको विषय गंभिर सैद्धान्तिक र चिन्तनसँग जोडीएको प्रश्न हो । अझ ठूलो विरोधाभास त कम्युनिष्ट आन्दोलनमा के देखा प¥यो भने हामिले अंगीकार गरेको दर्शन, राजनीति वा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने हाम्रो व्यवहार र जीवनचर्या बीचमा ठूलो खाडल उत्पन्न हुन गएको छ । हामीले कम्युनिष्ट पार्टीको नेतृत्व समाजवादी, सामुहिक चिन्तनको केन्द्रिकृत अभिव्यक्ति भन्ने तर व्यवहारमा घोर व्यक्तिवादी र हिजका सामन्त तथा राजाहरुको जस्तो हुकुम फर्मानबाट चलाउने । आफुले जे सोच्यो त्यो नै सवथोक हो भन्ठान्ने । आफ्ना मनोगत सोंचाईहरुलाई पार्टीका निर्णय र आदेशहरुका रुपमा जारी गर्ने । व्यक्तिगत ईच्छा, चाहना र निहित स्वार्थहरुलाई पार्टीमा लाद्ने र नमर्दासम्म वा मृत्यु शैयामा पुग्दासम्म पनि पद अंगालीरहने स्थिति देखापर्दछ ।

यसरी समाजवादी हुनु त परैको कुरा पूँजीवादी चरित्रसम्ममा नउठ्ने प्रवृति कम्युनिष्ट आन्दोलनमा देखा प¥यो । यहि प्रवृतिका कारण कम्युनिष्ट आन्दोलनमा दुई प्रवृति विकसित हुन पुग्यो । एकातर्फ व्यक्ति पूजा र अर्को तर्फ विखण्डन र अराजकतावाद । नेतृत्वमा पुग्न कि त नेताको चाकडी, गुलामी र पूजा गर्नु प¥यो कि ध्वाँस, विभाजन, विखण्डन र अराजकता । नेतृत्व हात पार्न नेतृत्वको हत्यासम्म गर्ने प्रवृति कम्युनिष्ट आन्दोलनमा यदाकदा देखापरेका छन् । यसले हिजो सामन्तिकालमा सत्ताको नेतृत्व लिन दरवारमा राजाहरुको बीचमा अनेकौं हत्याकाण्डहरु मञ्चन भएको इतिहासलाई स्मरण गराउँदछ ।

दोश्रो प्रश्न छ पार्टीभित्र फरक मतलाई हेर्ने दृष्टीकोणको प्रश्न । यसलाई अन्तर पार्टी जनवादको प्रश्न पनि भन्न सकिन्छ । समाजमा आम जनताको जनमतको कदर गर्ने तथा जनवादको वकालत गर्ने पार्टीले पार्टी भित्रको जनवादको प्रत्याभुत कसरी गराउने भन्ने प्रश्न अहंम बनेको छ ।

यसलाई अन्तर पार्टी जनवादको प्रश्न पनि भन्न सकिन्छ । समाजमा आम जनताको जनमतको कदर गर्ने तथा जनवादको वकालत गर्ने पार्टीले पार्टी भित्रको जनवादको प्रत्याभुत कसरी गराउने भन्ने प्रश्न अहं महत्वको सवाल हो । कम्युनिष्ट पार्टी यो सवालमा पनि चुकेको हामी पाउँछौं । पार्टी भनेको विचारहरुको संकेन्द्रण हो । थुप्रै भिन्न मतहरुको शंष्लेषणका रुपमा हुने निर्णयलाई पार्टीले कार्यान्वयन गर्नुपर्दछ । यसलाई लेनीनले छलफलमा स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता भन्ने शंष्लेषण गर्नुभएको थियो । मतहरुलाई निर्णयमा लिने विधि सर्वसम्मत नभएमा वहुमतको निर्णय र अल्पमतको सम्मानका रुपमा शंश्लेषण गरिएको हो । नेतृत्व वा नेता सामुहिक विचारहरुको केन्द्रिकृत अभिव्यक्ति हो । तर हाम्रो व्यवहारमा हामिले के पाइरहेका छौं भने नेता व्यक्तिगत विचारहरु फर्माणको प्राधिकारयुक्त र निर्णय नेताका मनोगत आकांक्षाहरुको उर्दी हुन र समूह पार्टी व्यक्तिका उर्दीहरुको अवाक श्रोता । यो व्यक्ति समुहको अधिनस्थ रहने वा व्यक्तिको अधिनस्थ समूह रहने भन्ने सवाल पनि हो । व्यक्तिवादले समूहलाई आफ्नो अधिनस्थ राख्न खोज्दछ र सामूहिक छलफल र निर्णयलाई तिरस्कार गर्दछ । आफ्ना निहित स्वार्थ र मनोगत सोंचहरुलाई पार्टी निर्णयका रुपमा आदेश गर्दछ । यसो हुँदा पद र त्यस्तो पदाधिकारीको वारेमा प्रश्न उठ्ने रउठाउने कुरा सैद्धान्तिक विषय हो । उक्त नेतृत्व रनेतृत्व शैलीको प्रश्न अन्ततः दृष्टीकोण, सोंच र चिन्तनशैलीको प्रश्न हो । यहाँ पद कसले धारण गर्ने भन्ने प्रश्न होइन कि त्यस्तो पद र पदधारीले गर्ने नेतृत्व र नेतृत्वशैलीको प्रश्न हो । जसले पद धारण गरे पनि समाजवादी शैली र चिन्तनवाट गर्नु प¥यो । पदको विभाजन पनि समाजवादी सोंच, चिन्तन अनुसार नै गर्नु प¥यो ।

आजको नेकपाको नेतृत्वको प्रश्न यसर्थ उठेको हो की सरकारको नेतृत्व गर्ने तरिका, यो पार्टीले जारी गरेको चुनावी घोषणा पत्र र संविधान सभावाट जारी नेपालको संविधान २०७२ को कार्यान्वयन, नेपालको संघिय लाकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, समाजवाद उन्मुख राज्यसत्ताको सरकारी कार्यक्रमहरुको तर्जुमा र जनतामा सेवा प्रवाह गरिने सेवाहरुको जनपक्षियताको प्रश्न सरकारको नेतृत्वको सन्दर्भ हुन भने पार्टी नेतृत्वका सवालमा पनि पार्टीलाई संस्थागत संचालन, समाजवादी चिन्तन, पद्धति र शैलीमा नेतृत्व । समूहका विचारहरुको सम्मान र ग्रहण, सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्व, छलफलमा जनवाद र काम कार्वाहीमा अनुशासन वा केन्द्रियता, मुलरुपमा समाजवादी क्रान्तिको अभिभारा पुरा गर्ने कम्युनिष्ट पार्टी निर्माण र नेर्तत्व आजको नेकपाको नेतृत्वको दयित्व हो । यसरी नेतृत्व गरे र पार्टीमा निर्णयहरु गराएर संस्थागत परिचालन गरेको खण्डमा एउटै व्यक्ति सरकार र पार्टीको नेतृत्व हुँदा पनि फरक पर्दैन ।

अतः आजको नेकपाको वहसमा पदको वैचारिक सैद्धान्तिक प्रश्नलाई गौण र केवल राजीनामाको रटान मात्र प्रस्तुत हुनुले आम जनसमुदायमा पदिय झगडाको रुपमा चित्रित हुन पुगेको छ । यसलाई हामी कम्युनिष्ट कार्यकर्ताहरुले नेतृत् व गर्ने तरिका, चिन्तन शैली र प्रवृतिको वहसका रुपमा स्थापीत गर्न जरुरी छ । नेतृत्व कसैले छोड्ने र प्राप्त गर्ने विषयका रुपमा होइन कि जसले पनि नेतृत्व गर्दा कसरी गर्ने भन्ने विषयको उत्तर प्राप्त गर्न वा त्यस्तो विधि, पद्धती र तरिकाको ठोस शंश्लेषण र निर्णय गर्न आजको अन्तरसंघर्ष वा वहसलाई सदुपयोग गर्न सक्नु पर्दछ । यसले मात्र कम्युनिष्ट आन्दोनलाई अर्को नयाँ उचाईमा उठाउँछ र कम्युनिष्ट पार्टीलाई थप मजवुत ढंगले एकतावद्ध गर्दछ ।

(केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)