उपत्यकामा हरियो सागसब्जीको भाउ एक सातामै १२० प्रतिशतसम्म आकाशिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार पछिल्लो एक साताको अवधिमा सानो गोलभेडाको मूल्य १२० बढीले बढेको छ। एक साताअघिसम्म प्रतिकेजी २८ र ३३ रुपैयाँमा पाइने गोलभेडा सानो र गोलभेडा सानो (टनेल) हिजोआज प्रतिकेजी ६२ र ६८ रुपैयाँ पुगेको छ।

यसैगरी काँक्रो हाइब्रिडको भाउ ८३ प्रतिशतसम्म बढेको छ। एक साताअघि प्रतिकेजी १२ रुपैयाँमा पाइने काँक्रो बढेर २२ रुपैयाँ पुगेको छ। काँक्रो लोकल ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ। 

हरियो बोडी (तने) को भाउ पनि ३५ प्रतिशतले बढेर ७० रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ। हरियो भटमास ४० प्रतिशतले बढेर प्रतिकेजी ७५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ। 

सबैथरि सागका मूल्य २७ प्रतिशतसम्म बढेको छ। जसअनुसार प्रतिकेजी ७५ रुपैयाँमा पाइने सागर ९५ रुपैयाँ पुगेको छ। 

गान्टेमूला पनि प्रतिकेजी ७५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ। कागती प्रतिकेजी १४५ रुपैयाँ बढेर २५५ रुपैयाँ पुगेको छ। 

त्यसो त कोरोना रोकथामका लगाइएको हप्ते निषेधाज्ञाले पर्याप्त तरकारी आपूर्ति नहुँदा हरियो सागसब्जीको भाउ अचाक्ली बढेको छ। अहिले थोक मूल्य सामान्य बढेपछि खुद्रा मूल्य भने पसलैपिच्छे फरक रहेको ग्राहकहरु नै बताउँछन्।

कोरोना रोकथामका लागि स्थानीय प्रशासनहरुले उपत्यकाका तीनै जिल्लामा भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका छन्।