बिगत जस्तै २०७७ सालको तीज यसपालि पनि हाम्रो घर आगनमा आएको छ।तीज प्रतिको परंपरागत धारणा जेभए पनि यो नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहदै आएको छ।यो चाडलाई चेली- माइती,दिदी – बहिनी ,साथी-सङ्गीको बीचमा भेटघाटगर्ने र दु:ख सुख साटासाट गर्ने अवसरको रुपमा लिइन्छ।महिलाहरुले दु:ख पीडा पोख्ने माध्यमको रुपमा पनि यो पर्बलाई मनाउने गर्दछन् ।
नेपालमाअहिले महिलाहरुले बिगतका तुलनामा केही हदसम्म स्वतन्त्रता र समानताको अधिकार प्राप्त गरेका छन् ।संविधान र कानुनमा महिला अधिकार लेखिएको भए पनि व्यबहारमा महिलालाई अहिले पनि दोस्रो दर्जाको नागरिककोरुपमा हेर्ने गरिन्छ।महिलाहरु माथिका बेचबिखन , हत्या -हिंसा ,बलात्कारका घटनाहरुमा कमी आएको छैन।महिलाहरु श्रम बजारमा ठगिएका छन् ।आर्थिकरुपले बिपन्न महिलाहरूको दशा अत्यन्त दु:खदायी छ।
अहिले विश्व मानव समाज कोरोनाबाट आक्रान्त छ। समग्र मानव समाजको गतिमा अबरोध सृजना भएको छ।देश-बिदेशमा कैयौं उद्योग कारखानाहरु बन्द भएका छन् ।मजदुरहरू जबर्जस्ती रोजगारीबाट निकालिएका छन।महिनौ दिनको लक डाउनले जताततै जनजीवन अस्तब्यस्त भएको छ। कोरोनाको पीडा झेलिरहेको बेला सलहको समस्या थपिएको छ। सलहले किसानको बाली नास गरेकाले खाद्यान्न अभाब बढ्ने वाला छ।धेरै जम्मा भएर नाच्ने गाउने अबस्था छैन।तीजको रौनक आएको छैन।
निर्मला पन्त जस्ता निर्दोष बालिकाको हत्याराहरुले सजाय पाएका छैनन्।रुकुम सोतिको जातीय नरसम्हारको घटनाको घाउ आलै छ। दक्षिणी सिमानाको डुबानबाट नेपाली किसानहरु हैरान छन् । राष्ट्रघाती एमसिसी सम्झौता नेपालको लागि खतरा बनेर आएको छ।कालापानी ,लिपुलेक ,लिम्पियाधुरा सम्म नै नेपाली भूभाग हुदाहुदै पनि बर्षौदेखि कालापानी क्षेत्रमा भारतीय सेना क्याम्प बनाएर बसिरहेको छ। अहिले संविधान संशोधन गरेर लिम्पियाधुरा सम्म नै नेपालमा समेटिएको नयाँ नक्सा जारी गरिएको छ।तर ब्यबहारिकरुपमा जमिन फिर्ता हुन बाकी नै छ।यस बिपत्तिको बेलामा अङ्कुराएका ,फक्रीएका सृजनाहरुलाई प्रोत्साहन गर्नु पर्छ भन्ने मनसायले यो तीज गीत सङ्ग्रहलाई मनु बि .क. ले प्रकाशन गरेकी छीन् ।यसलाइ हामीले जस्ताकाे त्यस्तै दीएका छाैं ।

शुभकामना

फेरि घुम्दै आयो तीज सबलाई शुभकामना
नयाँ तीजले ल्याओस सबमा नयाँ भावना ।

तीज आयो बर्ष दिनमा हामी दु:ख भोग्दै छौं
कोरोनाको रोग सङ्ग सब लड्दै छौं ।

सबै मिली लडौ भन्ने आओस नयाँ भावना
यो महामारी जितुन सबले शुभकामना ।

भागोस चाडै यो कहर धाओस सबमा अमन
बाच्चियो भन्ने सबैमा छाओस चयन।

गरीबलाई अभावसङ्ग लड्दै थियो हैरान
कोरोनाको कहर आयो दु:ख थपिन।

जताततै छाएको छ त्रास सबको मनैमा
हटोस छिट्टै संसारबाट शुभकामना।

जनताको दु:ख हटोस हटोस चाडै कोरोना
सबैमा सुख शान्ति छाओस शुभकामना ।
###

सबै मिली गाउँ गीत
– एम .बुढा
बर्ष दिनको तीज आयो गाउँ घर शहर
नाचौ गाउँ दिदी बहिनी सबै मिलेर ।

सधै दु:ख भए पछि गीत पनि दु:खका
कहिले हामी गाउने होला गीत सुखका ।

बर्ष भरी दु:ख गर्‍यो आउला सुख भनेर
नजाने खै दु:ख हेर दिन गनेर ।

यो साल त भागोस दु:ख भन्दै गीत गाएको
किन होला सुख सधै पर गएको ।

घर पर डर त्रास महिलाको मनैमा
कहिलै पनि सुख शान्ति छैन बरिलै।

हत्या हिंसा बलात्कार सहनु पर्ने अति भो
न्याय खोज्दा न्याय किन छैन साथी हो?

छोरी चेली बेचिने र मारिने छदैछ
छोरी भए गर्भ भित्रै हत्या हुँदै छ।

पहिला गरि बलात्कार अनि मारी फाल्दिने
कहिले होला हत्यारालाई जेल हाल्दिने।

अपराधीलाई ठूला बडा भन्नेले नै जोगाउने
राज्य नेता सबै मिली लाग्छन भगाउन।

आयो भन्छन् नियमहरु महिला मैत्री भएर
तर महिला ढुक्क छैनन् हिंसा सहेर।

माया छैन भन्दा पनि तेजाबको प्रहार
राम्रो रुप भएपनी रुपै हरण।

कहिले सम्म सहनु पर्ने महिला हिंसा हामीले
अन्त्य गर महिला हिंसा भनौं बरिलै।

सबै मिली गाऔ गीत महिला दमन हटाउन
गाउँ शहर घर घर लागौं जगाउन।
###

गाउँ गाउँमा
-शब्द/सङ्गीत :निलिमा पुन
स्वर:निलिमा पुन र बिमा पुन

हे गाउँ गाउँमा अधिकार आयो भन्छन् नेताले
कसले पायो अधिकार भन जनताले
गाउँ गाउँमा ………..२
कसले पायो…………२

हे घर घरमा खुसी छायो भन्छन् हेर नेताले
झुपडीको हालत के छ भन जनताले
घर घरमा……………२
झुपडीको …………….२

हे सुख र समृद्धिको कुरा गर्छन् नेताले
भोको पेटको ब्यथा के छ भन जनताले
सुख……………..२
भोको…………….२

हे देशमा शान्ति सुरक्षा भन्छन् हेर नेताले
ढुक्कै बस्नु छ कि छैन भन जनताले
देशमा………………२
ढुक्कै………………..२

हे समानता र सुशासनको कुरा गर्छन नेताले
भेदभाव छ कि छैन यहाँ भन जनताले
समानता………………२
भेदभाव ……………….२

हे बेरोजगारी हट्छ अब भन्छन् हेर नेताले
देशमा रोजगारी छ कि छैन भन जनताले
बेरोजगारी ……………..२
देशमा……………………२

हे भ्रष्टाचार , तस्करीलाई रोक्छौ भन्छन् नेताले
माफियाको खेल के छ बुझ जनताले
भ्रष्टाचार …………२
माफियाको………….२

हे नयाँ नेपाल बन्छ अब भन्छन् हेर नेताले
कस्तो होला नयाँ नेपाल हेरौं साराले
नयाँ नेपाल……………२
कस्तो होला…………..२।
###

जागौ नेपाली
शब्द/सङ्गीत : टुकबहादुर रामदाम
स्वर : नवीन बस्याल
हे नारीलाई शोषण दमनहरु – २
अझै नि छन् है गाउँ गाउँमा – ४
सम्मान ,अधिकार पाउनलाई- ४
चेतना फैलाउ है ठाउँठाउँमा – ४

हे सृष्टि हुन नारी महान जाति – २
आमा छोरी बुहारी श्रीमती – ४
हुदैन सृष्टि बिना नारी -४
शोषित नबनौ नारी जाति -४

हे जुटौं लौ नारी मुक्तिको लागि -२
स्वतन्त्र भएर बाच्नलाई -४
फेर्नुछ संसार हामी मिली -४
जाग्नुछ इतिहास रच्नलाई – ४

हे डाक्टर छन् नारी पाइलट् इन्जिनियर – २
नहटौ पछि कुनै देशमा -४
महिला नि आर्मी सेना पुलिस -४
अघि बढौ मिलेर आफ्नै देशमा -४

हे बिस्तारबादले सीमा मिच्दैछ-२
जाई लागौं भूमी बचाउन -४
नारी हो काधमा काध मिलाउ – ४
राष्ट्रलाई हामी सजाउन-४

अखण्ड हाम्रो नेपाली माटो -२
जोगाउन ब्यूझ है जाति -४
सोचेर लागौं है यो बाटो -४
मिलेर जुटौं है सयौं भाषी -४
मिलेर जुटौं है मधेसी
मिलेर जुटौं है पहाडी
मिलेर जुटौं है हिमाली
मिलेर जुटौं है नेपाली-३
####

लौ उठ नारी साथी हो
शब्द/सङ्गीत: हेमराज आश्रम
स्वर : मेस्मा पुन
बर्ष र दिनको तीज नि आयो-२
ह s s लै लै
नाचौ न सङ्गी साथी मिलेर -२
यो सानो देश झन सानो भयो-२
ह s s लै लै
साम्राज्यवादी सीमा मिचेर -२
लौ उठ नारी साथी हो
बचाउन देशको अस्तित्व -२

कहिले सम्म सहनु पर्ने भारतको शोषण दमनहरु-२
मिलेर तोड्नै पर्दछ
ह s s लै लै
जाल झेल र जन्जीरहरु -२
लौउ उठ नारी साथी हो
बचाउन देशको अस्तित्व -२

हामीलाई सिङ्गो नेपाल चाहिन्छ
पाइदैन देशलाई बिलो लगाउन-२
हामीलाई देशको विकास चाहिन्छ
खर्चिलो सङ्घीय राज्य चाहिदैन
ह s s लै लै
खर्चिलो सङ्घीय राज्य चाहिदैन-२
लौ उठ नारी साथी हो
बचाउन देशको अस्तित्व -२

महिला हक अधिकार कहाँ छ
ए सुन सरकार लौन देखाइ दे-२
दिनदिनै हत्या बलात्कार हुन्छ
सुरक्षित जहाँ छ त्यही पठाइदे -२
ह s s लै लै
सुरक्षित जहाँ छ त्यही पठाइदे -२
लौ उठ नारी साथी हो
बचाउन देशको अस्तित्व -२
###

काेराेनालाइ जीत्नेछाैं : रीतु केसी

माहामारी फैलियो ढाक्यो सारा जगत
लापर्वाहि नगरौ बनौ सजक
सुरु भयो चाइना बाट फैलियो संसारै
साना भन्दा ठूला देस ढाक्यो बरिलै
धनी गरिब सानो ठुलो छोडन कसैलाइ
रोग भन्दा ठुलो सत्रु के छ बरिलै
बाल बच्चा युवा अनि बुढाबुढी सबै लाई
कोरोना ले तर्सायो बिस्व बरिलै
प्रकृति लाई जित्न खोजेऊ बिकासको नाउमा
महामारी बिपत्तीले घेर्यो बरिलै
ठूला ठूला पुजिबदी देस पनी हार्दैछन
ठुलो सानो देख्दैन रोग ले बरिलै
अझै पनी बनेन औषधि र भ्याक्सीन
आफै सचेत बन्नै पर्छ हामी बरिलै
हामी सचेत बनेमा फैलने छैन नी
लापर्वाहि गरेमा लान्छ बरिलै
घर मै खोज्दै आउदैन कोरोना तपाइलाई
बिना काम नहिडनू नै राम्रो बरिलै
अनुशासीत बनेर कोरोना जित्नु छ
महामारी बिस्व बाट भगाउ बरिलै।।
 लेखक अनेमसघंकी केन्द्रीय काेषाध्यक्ष हुनुन्छ ।

 

रुकुम पश्चिम जातीय नर सम्हार
-मनु बि. क.
दुई हजार सतहत्तर साल जेठको महिना
पस्चिम रुकुम सोती गाउँको सुन बयान।

जीवन साथी ल्याउछु भन्ने आसा थियो मनैमा
तर मृत्यु हुनु पर्‍यो सोती गाउँमा।

जाजरकोट र रुकुमले प्रेम गास्न खोजेको
जातभातको कलङ्कले प्रेम मासेको ।

जाजरकोटका नवराज रुकुम सोती पुगेका
अछुत भनी आफन्तीले छोरी रोकेका ।

देश थियो बन्दाबन्दी कोरोनाको डरले
हिडे नवराज आफ्नी प्रेमी ल्याउने रहरले।

साथी थिए उनी सङ्ग एक्लै उनी गएनन्
उनी सङ्गै साथी पनि फिर्ता भएनन् ।

युवक र युवतीमा माया फुल्न खोजेको
माया फुल्ने आगनीमा रगत बगेको।

तल्लो जाति दिन्न छोरी भन्दै गाउले उठेको
गाउले सबै मिली हेर उनलाई पिटेको।

केही साथी भागी भागी जोगाएको ज्यान हेर
चुपचापै बसेछन है मारपीट हेरेर।

सक्दो कुटी मारिकन फालेछन है भेरीमा
मानवता र देशको कानुन बग्यो भेरीमा ।

नवराज सहित छ जना मारिकन फालेछन
किन हेरिस हाम्री छोरी भन्न भ्याएछन।

बिहे गर्छु भन्दा पनि मार्नु किन परेको
जातभातको सिमानाले मान्छे मारेको।

उच्च जातको अहङ्कारले मार्यो प्रेमी फूललाई
गुमे सन्तान आमा बाउको जीवन भरीलाई।

जातभातको अहङ्कारले गुमे सन्तान देशको
मुटुभरी थियो देशको झण्डा बोकेको।

देशको झण्डा संविधान एउटै हाम्रो भएनी
तल्लो जाती भनी पिट्दा ज्यान गयो नि।

देशका सन्तान मरे कठै जातभातको चलनले
पुर्याउथे देश माथी कर्म बचनले।

किन मारी फाल्यौ भन मान्छेको यो जातिलाई
नफालेको किन होला जातिपातिलाई।

नलाग है कोही पनि अपराधीलाई जोगाउन
लाग बरु न्याय प्रेमी न्याय दिलाउन ।

मारिनेका आफन्तलाई न्यायदेउ मिलेर
जातभात चाडै फाल मान्छे मिलेर।

नवराज सङ्गै हत्या भयो उनका साथीहरुको
जातभातले हत्या नहोस साथी अरुको।

हत्या हओस जातभात र बिभेदहरुको
हत्या नहोस मानवता र मान्छेहरुको।

प्रेमको फूल फूलोस सबै जात जातिमा
प्रेमको सुवास छाओस सारा धर्तीमा।

प्रेम गर्दा नवराज सरी हुन यहाँ नपरोस्
प्रेमको मीठो बहार सबको घर पुगोस्।
###

कालापानी छोड्
– आर .बि. बुढा
सुन सुन दिदी बहिनी सुन मेरा दाजुभाइ
लिपुलेकको गीत गाउछु सुन्नुस बरिलै।

भारत र चीनको घम्साघम्सी परेको
उन्नाइस सय बैसठ्ठीमा युद्ध गरेको।

भारती र चिनियाँको युद्ध हामी देखियो
त्यही बेलामा नेपालीको भूमि मिचियो।

भूमि मिची भारतले अड्डा जमाई बसेको
कालापानी क्षेत्र हाम्रो उसले मिचेको ।

कसले सक्छ आफ्नो भूमि मिचिएको हेर्नलाई
जनता जागे आफ्नो भूमि फिर्ता गर्नलाई।

सडक र संसदमा संघर्ष चर्कियो
कालापानी छोड् भन्दै आवाज घन्कियो।

दुई हजार उन्निसमा नक्सा जारी गरेको
भारतले नेपाल भूभाग आफ्नो पारेको।

भारतीय शासकको बलमिच्याई सहिदैन
आफ्नो भूमि गुमाएर दासी भइदैन।

दुई हजार बीसको मइको आठ तारिक
दिल्लीबाटै उद्घाटन गर्‍यो सडक।

सडकमा आए जनता यस्तो खबर सुनेर
आफ्नो भूमि फिर्ता गर्ने बाचा गरेर।

दुई हजार बीसको जुनको तेह्र तारिक
नयाँ नक्सा संसदबाट भयो पारित ।

नक्सा जारी भए पनि जमिन फिर्ता भा छैन।
भारतीय सेना अझै फिर्ता गा छैन।

नेपालीको एकताले बचाउने छ भूखण्ड
जय नेपाल जय नेपाल ,नेपाल अखण्ड ।
###

तीज आयो
-गिनिज बुढा
तीज नि आयो बर्ष र दिनै मा
बरिलै दिदिबहिनी नचाउन
उठ्नु पर्छ लौ है हामी नै यहाँ
बरिलै देशको सीमा बचाउन

छिमेकीले मिच्यो हेर सिमाना
बरिलै देखेनन् नेताले
बचाउनै पर्छ सिमाना हाम्रो
बरिलै हामी सब जनताले

सिमनाको पिल्लर सार्दै छ हेर
बरिलै भारतले रातरातै
उठनु पर्छ हामी देशलाई बचाउन
बरिलै मिलेर साथसाथै।
३ ###

ब्यबस्था बदलौ
-घिमिरे भाइ
सारा संसार बिजयी गर्न अघि बढ साथी हो
अस्थिरताको जन्जिरलाइ तोड बरिलै
मान्छे माथि मान्छेले नै शोषण गर्ने ब्यबस्था
संघर्षको उचाई ले फोड बरिलै
दुषित पोखरीमा पौडी खेल्न हतार
समानताको निश्छल यात्रा रोज बरिलै
हराभरा जङ्गल भित्र बिनास गरि उजाड
तस्कर र माफियालाई खोज बरिलै
पहाड चुम्ने होइन उसले चुस्न अघि बढ्दैछ
भ्रष्टाचारि दलाललाई चिनौ बरिलै
भञ्ज्याङ् को चौपारिमा संगै बस्न खोज्दैन
बिभेदको जरोलाई फालौ बरिलै
नदिनाला,बाटोघाटो बेचिखाने षड्यन्त्र
अपराधीलाई कठघरामा राखौं बरिलै
राजनीतिको संरक्षणमा भागबन्डा र अहंकार
बिचौलिया , जनघाती हराऔ बरिलै
पुजीवादको जन्जिर भित्र देश डुब्न खोज्दैछ
आत्मनिर्भर अर्थतन्त्र बनाऔ बरिलै
भर्भराउदा युवा शक्ति बिदेश पलायन गराउने
जनबिरोधी राज्यसत्ता फालौ बरिलै
स्वतन्त्र देश माथि बिदेशीको हस्तक्षेप
स्वाभिमानको लडाइँमा लागौं बरिलै।
###
बर्ष दिनको तीज
दानबहादुर थापा
अध्यक्ष,रक्तिम सास्कृतिक अभियान बागलुङ

बर्ष दिनको तीज आयो नौलो सन्देश बोकेर
दमन र दासताको पर्खाल फोरेर ।

ऋतुहरु पोखिएको बसन्तका फूलहरु
कोपिलामै निमोठिने आए दिनहरू ।

डरलाग्दा छन् कथाहरु अन्धकार चिरेका
थाक्ने छैनन पाइलाहरु अघि बढेका।

जानु थियो माथि माथि बादलुको पारी गाउँ
अनन्त छ हामी पुग्ने स्वर्ग जस्तो ठाउँ ।

अध्यारो छ यात्राभरि चुनौतीको पहाड
सङ्कल्पको आस्था यहाँ भयो उजाड ।

सुख सङ्ग रमाएको एउटा न्यानो काख छैन
खडेरी छ साम्राज्यमा कुनै आस छैन।

छुट्न लाए बाचा बन्धन टुटी गयो विश्वास
यौवनका फूलहरु भए निरास ।

तर पनि तर्नै पर्छ सङ्कटको जङ्घार
उत्साहको बिहान आउँछ हसाउ मुहार ।

संघर्षले खारिएका बिद्रोहका सिपाही हो
लड्दै अघि जानू पर्छ संसार जित्ने हो।
###

एमसिसिलाई डाँडा कटाउने

-आविष्कार कला

अनुदानले होइन देश सोचले चलाउ
देशघाती कोही छ सीमा कटाउ ।। १

रक्सीको सिसि जस्तो एमसिसि चाहिदैन
विदेशका सेनाको परेड शहीदैन ।। २

अर्वौको कर छलिमा आँखा चिम्म गरेर
शासकहरू चुप्प बस्छन् खल्ती भरेर ।। ३

इतिहासमा स्वाधीनताको देश हाम्रो नेपाल
विदेशीको इशाराले आजकल बेहाल ।। ४

अनुदानभन्दा त श्रमदान राम्रो हो
शासकको मात्रै होइन देश हाम्रो हो ।। ५

देशको माया छाडी फिरिङ्गी नरोज
न्यायको आवाजलाई कुच्न नखोज।। ६

ठुलाठूला भष्ट्राचार, करछलि छाडेर
भिख माग्न नहिड है विश्व डुलेर ।। ७

कभरमा अनुदान भित्र भित्र जहर
एमसिसिको बिरोधमा उठौ गाउँ शहर ।। ८

जनताले नवीकरण गर्ने बेला पनि आउला नि
सबै मिलि देशघातीलाई पार लगाउला नि ।।९

चर्का चर्का भाषणले राष्ट्रियता जगाउने
कहिले हो त एमसिसिलाई डाँडा कटाउने ।
###

संघीयता खारेज गर्ने हो
– इन्दिरा शर्मा
अखिल नेपाल महिला संघ ,पर्बत जिल्ला अध्यक्ष ।

आन्दोलनको माग थियो गणतन्त्र ल्याउने।
गरिब दु:खी जनताको हित गरने ।।

गणतन्त्र सङ्गै देशमा संघीयता लादियो।
सानो देश नेपाललाई टुक्रा पारियो।।

सात प्रदेश केन्द्र सहित आठ सरकार देशमा।
जनता चुस्न आएका छन् फरक भेषमा ।।

गाउँ गाउँमा सिंहदरबार भन्दै थिए चुनावमा ।
दरबार हैन सिंह मात्रै आए गाउँ गाउँमा ।।

भेडी गोठे संसद आठ ठाउँमा जहाँ छन् ।
बाह्र बिसे बथान झैँ मन्त्री त्यही छन् ।।

यी सबैलाई तलब भत्ता दिनु पर्ने देशले भो ।
त्यसैले त सब चिजको कर वृद्धि भो ।।

अनावश्यक करको भारी जनतालाई बोकाई।
संघीयता ल्याए सेता हात्ती पाल्नलाई।।

अर्थमन्त्री भन्दै थिए संघ धान्नलाई कर वृद्धि ।
झनै बढ्यो यिनीहरुको गलत प्रवृत्ति ।।

जनताको समस्यामा बिभाजित हुदैछन।
आफ्नो भत्ता बढाउन एक जुट भइ हाल्छन।।

ब्यबस्था त फेरियो फेरिएन अवस्था ।
प्रवृत्ति त जो आएनी सबको दुरुस्त ।।

महङ्गीले सीमा नाघ्यो भ्रष्टाचार अति भो ।
गरीब दु:खी जनतालाई जिउन गाह्रो भो।।

यति सानो हाम्रो देशमा प्रदेश संसद चाहिदैन।
मनपरि जनतालाई कर लाउन पाइदैन।।

उठौ अब यो देशका शोषित पीडित दाजुभाइ ।
संघीयता नेपालबाट खारेज गर्नलाई।

बिकेन्द्रीकरण गरीअधिकार दिने हो।
नेपालबाट संघीयता खारेज गर्ने हो।।

###

मूलप्रवाह
– जमुना गाहा
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज
जलन्धर नगर समिति ,महिला बिभाग सचिव

सुन्नुहोला दिदी बहिनी सुन्नुहोला दाजुभाइ
नयाँ पर्व तीजको स्वागत सबैलाई
सधैं जस्तो यो बर्षमा तीज मनाउन नपाए नि
सुख शान्ति छाओस सबमा जहाँ भए नि

आधा धर्ती आधा आकाश ओगटेका नारीलाई
पुरुष सरह अधिकार चाहियो बरिलै
मूलप्रवाहको झण्डा मुनि गोलबन्द हुनुहोस्
न्यायपूर्ण आन्दोलनमा अघि बढ्नुहोस् ।

सुन्नुहोला बुबाआमा सुन्नुहोला दाजुभाइ
यो बर्षको तीज मनाउन पाइन बरिलै
एक जुट भई यो बर्षमा तीज मनाउन सकेनौं
प्रगतिशील गीत गाएर बसौं बरिलै।

साम्प्रदायिक बिभेद नगरौन कसैलाई
एउटै नेपाल चाहिएको छ हामी सबैलाई
उठौ सबै मिलिजुली हाम्रो देश जोगाउन
राष्ट्रघातीहरुबाट राष्ट्र बचाउन।

संगठन हाम्रो मूलप्रवाह झन बलियो पार्नलाई
उठ जाग नारी सबै संसार फेर्नलाई
न्याय र अन्याय लेख्ने कापी कलम
मुक्तिकामी नारीहरुलाई लालसलाम ।

नयाँ नयाँ रोग
दीपक पौडेल (रुपन्देही)

नयाँ नयाँ रोग आए नयाँ नयाँ जमाना
सानो ठूलो केही हेर्दैन गर्छ समान।

ठूलै थियो प्रबिधि यो ठूलै थियो बयान
कोरोनाको अगाडि त केही लागेन ।

अमेरिका चिन भारत सबै परे थरर
बिदेश गएका नेपाली नि फर्के हरर।

बिश्वब्यापी लकडाउन छ उद्योग ब्यापार बन्दछ
लास गाड्न डोजरले खाल्डो खन्दछ।

कहिलेसम्म रहने हो कोरोनाको कहर
कहिलेसम्म खुल्ने होला बन्द शहर।

दबाई पत्ता लाग्यो भनी मिडिया हल्ला गर्दै छन्
दिनदिनै भाइरसले मान्छे मर्दै छन् ।

सरकारले सत्तो छोड्यो बेसार पानी भन्दैछ
पीडितले कहिले मर्छु दिन गन्दैछ।

हात धोई सफा बनौं पर्छ आफै जोगिन
लापरवाही गर्‍यौ भने पर्छ शोकिन।

रोग सङ्ग जोगिन ल्याउनु छ जागरण
सचेत बनौं ,गम्भीर बनौं नल्याऊ साधारण ।

###

जीवनको कथा
– सृजना बिश्वकर्मा
नवलपरासी (ब .सु .प.)
फुकाउछु म आज जीवनको कथा
मुटुमा गडेर बढायो झन ब्यथा ।

गिद्धका आखा यो फूलमा पर्‍यो
फक्रीन नपाउदै ओइलेर भुइँ झर्‍यो ।

च्यातेर कोपिला छिन्नभिन्न पार्यो
सर्बस्व लुटेर ,खै काहा गुड सार्यो।

प्रश्नहरु लिएर यु – टुबे आए
सक्छौ भने गिद्धका गुड देखाउ भन्दिए।

लुट्यो नि राक्षसले मूलबाटो छेकी
उठिबास बनायौ ईन्टरनेटमा त्यही राखी।

भिउज आफ्नो बढाउन लिलामी मेरो
न्यायको नाउमा जीवन झन अँध्यारो।

देखाए झैं दया ,घृणाले हेर्छन्
सबै जना मिलेर घाउ माथी नून छर्छन्।

चिथोरेको मेरो,घाउ बर्षौ बेच्यो
चिथोर्नेलाई चाहिँ खै कस्ले खोज्दियो ।

खोजेर त्यो गिद्द छिनाई घाटी
संसारभर मेरो घाउ नबाटी ।

सक्छौ भने गिद्दका पखेटा काट
होइन भने पैसामा घाउ मेरो नसाट।
###

बर्ष दिन बितेको

शब्द/सङ्गीत : बि .बि .अनुरागी
स्वर: सीता रसाइली बिश्वकर्मा

बर्ष दिन बितेको पत्तै मैले पाइन -२
चहलपहल –
हे चहलपहल आइसक्यो फेरि तीजको -३

अहिलेको सालैमा धेरै कुरा भोगियो -२
ठूलो पिर –
हे ठूलो पिर भेदभाव मान्छे बीचको -३

दलितलाई हेर्ने नजर गर्ने व्यबहार -२
कहिले पनि –
हे कहिले पनि सुध्रिएन यो समाज त -३

कोही भलाद्मी भन्दै हिंड्छन् पढियो लेखियो -२
तिनमा पनि-
हे तिनमा पनि कुरीतिकै जरा भेटियो -३

जातकै कारण कतिको ज्यानै समेत गैसक्यो-२
केही त गरौ-
हे केही त गरौं अब त अति भैसक्यो-३

कति गरौ भ्रत्सना कति विरोध गर्ने हो -२
कानुनलाई-
हे कानुनलाई ब्यबहारमा ल्याउनै पर्ने भो- ३

कति बस्नु हेपिएर थिचोमिचो सहेर-२
लडौ अब-
हे लडौ अब सबै दलिर एक जुट भएर-3

चाहे दलित पहाडी होस चाहे दलित मधेसी -२
पछि कहिलै-
हे पछि कहिलै हट्नु हुन्न अघि बढेसी-३

###
सलह
– मनु
हाम्रा बाबाका धेरै हैनन् छोरी नि
सलह आए झै आए बरिलै ।

पन्ध्र सयका एक बोरा चामल
एकै छिनमा भुसुक्कै खाए बरिलै ।

छोरीलाई हेला अपमान गर्न
उहिले यस्ता गीत गाए बरिलै।

यसपालि त साच्चै घामै छेक्ने गरि
सलहका ताती आए बरिलै ।

अचम्मको जीव हुल बाधेर हिड्ने
हेरी हेरी दङ्गदासै भए बरिलै।

सागरबाट उठी आकाशमा बेग मारी
किसानका बाली नाली भ्याए बरिलै।

यसपालि बर्खा सलहले खेती नि खाइदियो
किसानलाई धरधरी रुवाए बरिलै।

चाप्पचुप्प छोपेर भाट्ट भुट्ट भुटेर
कोहीकोहीले त सितन पनि पाए बरिलै।

सलहलाई बटुली सरकारलाई बेचेर
कोहीकोहीले त आम्दानी नि ल्याए बरिलै।

किसानको मिहेनत सलहलाई आहारा
क्षतिपूर्ति किसानलाई देउ राहत।

एम. सि. सि. को पासो
– नारायण शर्मा
बर्ष दिनमा तीज आयो तर खुसी छैन मन
नेताको चाल देशको हाल बिग्रीरा छ झन
एकातिर छिमेकीले साध सिमाना खाको छ
अर्कोतिर एम.सि.सि.को पासो आको छ।

बुझ्नु पर्‍यो दिदी बहिनी बुझ्नु पर्‍यो साथीले
देशको कानुन भन्दा पनि त्यो चाहिँ माथि रे
विकास र सहयोग त भन्ने मात्र नाउँ हो
अमेरिकी सेना नेपाल राख्ने दाउ हो।

बिना स्वार्थ अमेरिकाले किन सहयोग गर्छ नि
यति कुरा नेताले नि बुझ्नु पर्छ नि
माफी पाउने छैनौं तिम्ले त्यस्तो काम आटेमा
पैसा सङ्ग देशको स्वाधीनता साटेमा।

खोजिराछ अमेरिकाले आफ्नो धोको फेर्नलाई
नेपालमा सेना राखी चीन घेर्नलाई
एम.सि.सि.त बहाना हो आफ्ना सेना ल्याउनलाई
इराक र सिरिया झैं नेपाल भ्याउनलाई।

नेपाल भित्र अमेरिकी सेना राख्न पाइदैन
उठ्यो स्वर एम.सि.सी.हाम्लाई चाहिदैन
एकै स्वरमा भनौ अझ एम.सि.सी.खारेज गर
स्वावलम्बी विकास नीति देशमा लागू गर।

लिपुलेक हाम्रो
विशाल दर्लामी
अध्यक्ष ,राष्ट्रिय जनमोर्चा ,पाल्पा।

राष्ट्रियता जोगाउन उठौ दिदी बहिनी हो
अधिकार लिन हामी एक जुट हुने हो।

साम्राज्यवादी भारतले हाम्रो सीमा मिच्ने
हाम्रा देशका शासकहरु आखा चिम्लिने ।

कहिले मिच्छ सुस्तातिर कहिले जान्छ लिपुलेक
जङ्गे पिलर सारी सारी मेट्यो अभिलेख ।

नदीनाला बेची बेची भारतलाई रिझाउने
राष्ट्रवादी सरकार भन्दै भ्रम फिजाउने ।

इतिहासमा विरताले रङ्गिएको हाम्रो देश
स्वाभीमन र स्वाधीनतामा पुगिराछ ठेस।

धल्न दिन हुन्न कहिलै हाम्रो गौरब गाथालाई
सधै उच्च राखी राखौं सगरमाथालाई।

अन्यायको विरुद्धमा एक जुट भई लड्ने हो
स्वाधीन नेपाल निर्माण गर्न कम्मर कस्ने हो।

न्याय ,मुक्ति ,समानता ल्याउन जुनी भरीलाई
नयाँ नेपाल निर्माण गर्न उठौ बरिलै।
###

गहनारुपी बन्धन
-मालता बेलबासे
ढाकाबाङ,अर्घाखाँची
हाल: अखिल नेपाल महिला संघ ,काठमाडौ ,उपाध्यक्ष

सुन्नुहोला दिदी बहिनी सुन्नु होला दाजुभाइ
गहनारुपी बन्धनको चलन बरिलै-२

बुझ्नु पर्छ हामीले गहनारुपी बन्धन
यो चलनलाई नतोडी बस्नु भएन -२

नाकमा लाउने बुलाकीले नत्थ्याएको हामीलाई
पशु जस्तै बनाएको रैछ नारीलाई-२

अहिलेकै चलनमा छ्ड्के तिलहरी ल्याई
पशु जस्तै डोर्‍याएको रैछ नारीलाई-२

घाटीमा सुनको सिक्री दाम्लो सरह बनाई
पशु सरह बाधिएको रैछ नारीलाई-२

सुनको औंठीले शोभा बढ्छ भनेर
लोभ्याउने गराएको रैछ नारीलाई-२

खुट्टामा कल्लीले पशु जस्तै बाधेर
अल्झाइएको रैछ बरै हामी नारीलाई-२

नाडीका सुनका चुरा हथकडी झैं बनाई
पुरुषले दबाएका रैछन नारीलाई-२

शिरमा लाउने शिरफूलले ओझेलमा पारेर
दासी जस्तो बनाएका रैछन नारीलाई-२

अहिलेको चलनमा सुनको हार बनाई
गलपासो लगाएका रैछन नारीलाई-२

रोकौ अब हामीले गहना प्रथालाई
सरल जीवन बनाएर बाच्न बरिलै-२
####

कोरोनाको बेला
मालता बेलबासे
ढाकाबाङ,अर्घाखाँची
हाल:कलङ्की ढुङ्गे अड्डा ,काठमाडौं ।

सुन्नुहोला दिदी बहिनी सुन्नु होला दाजुभाइ
कोरोनामा यो देशको हालत बरिलै।

भारत र चाइनाले भित्री खेल खेलेर
भारतले बाटो खोल्यो मौका हेरेर।

कालापानी,लिम्पियाधुरा ,लिपुलेक निलेर
भारतले दबाउदै छ नेपाल छिरेर।

नेपालले नक्सा ल्यायो अङ्कित प्रमाण लेखेर
झुक्नु पर्छ भारतले प्रमाण देखेर।

राख्नु पर्छ सिमानालाई काडे तारले घेरेर
नबसौ है नेपाली टुलुटुलु हेरेर
राख्नु पर्छ सिमानालाई पक्की गरेर।
###
यसपालिको सन्देश
-टिकाराम खनाल
ढाकाबाङ,अर्घाखाँची
हाल:चन्द्रागिरी ,काठमाडौ ।

सुन सुन दिदी बहिनी सुन्नु होला दाजुभाइ
पोहोर जस्तै तीजको लहर आयो अहिले नि
कुनै भिडभाड नगरी,जमघट पनि नगरी
मनमा लाको दुई चार शब्द गाउछु मैले नि।

बर्ग बिहीन समाज निर्माण गर्ने हाम्रो बाटोमा
बाधा अवरोध आउदै गर्छन् बीचबीचमा
अन्याय र अत्याचार सहनुको साटोमा
भण्डाफोर गरौं आउनुस् यसै तीजमा।

भ्रष्टाचार गर्नेहरु धाक धक्कु लगाउछन्
श्रमजीवी जनताहरु भोकै मर्दैछन्
नेता जति सत्ता स्वादमा,जनता जति लडाउछन्
यस्तै यस्तै व्यबहारले शासन गर्दै छन् ।

“महिला मुक्ति गरौं “भन्ने सीमित भो नारामा
बलात्कारका घटनाले सीमा नाघ्दैछन्
न्याय अनि समानता संविधानका धारामा
ब्यबहारमा लागु छैन ,मनमा लाग्दैछन्।

आधा बर्ष हुन लाग्यो कोरोनाको कहर
अकालमै मर्नु पर्‍यो ,जनता बरिलै
नाच्न गाउन हाम्लाई पनि लाग्छ नि रहर
यसपालिको तीजमा नजाम अन्त बरिलै।
###