विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।

अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन् । लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज उत्सव मनाउन थालिएको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन् ।

उनका अनुसार आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत गनुपर्ने धार्मिक मान्यता रहेको छ । तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।

व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेअगावै दर खाने चलन छ । चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेलीभान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन् । दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउआदि) आहार हो । भोलिपल्ट व्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको उनी बताउँछन् ।

तृतीयाका दिन बिहानै उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यस दिन यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा वा मन्दिर वा पवित्र ठाउँमा शिवपार्वतीको पूजा गर्नुपर्छ । व्रतालुले आफूमा रहेको नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश र गणेशको पूजा गरी बालुकामय शिवपार्वती (उमामहेश्वर)को षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ ।

सो अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने गर्दछन् । यो अर्थमा तीज महिलामैत्री पर्वका रूपमा परिचित छ । पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तीज पर्व मनाउन थालेको पाइन्छ ।

यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गरेको छ । तर, यस वर्ष कोरोना (कोभिड–१९) संक्रमण तीव्र रूपमा बढेकाले सरकारले बुधबार रातिदेखि निषेधाज्ञा लागु गरेको छ । संक्रमणको डरले सामूहिक रूपमा भेला भएर दर खान र तीजमा विगतमा जस्तो जमघट गरी मनाउन सरकारले नै रोक लगाएको छ । आफ्ना परिवारका सदस्यसँगै घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिएको छैन ।