काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कार्यान्वयन गरेर कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको विशेष समितिले आजैदेखि काम थाल्ने भएको छ । मन्त्रिपरिषद बैठकले हिजो बेलुकी गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक विशेष समिति गठन गरेको थियो ।

सहसचिव नेतृत्वको विशेष समितिले आजदेखि नै काम थाल्ने भएको छ । गृह मन्त्रालयको समन्वयमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक सबै उपायको खोजी गरिनेछ। समितिमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सदस्य रहने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्ले निषेधाज्ञाको कार्यान्वयन र पालना गर्ने जिम्मेवारी गृह प्रशासनलाई दिएको छ । निषेधाज्ञाको कार्यान्वयन प्रभावकारी ढंगबाट गर्नेगरी समिति नै गठन गरिएको एक अधिकारीले जानकारी दिए । सहसचिव नेतृत्वको समितिको बैठक दिउँसो बस्नेछ । बिहान १० बजेसम्म सहसचिवको टुंगो लाग्ने मन्त्रालय स्रोतले जनाएको छ ।

आजैदेखि जारी निषेधाज्ञा कार्यान्वयनको अवस्थाका विषयमा निगरानी गर्ने, उल्लंघन गर्नेविरुद्धको कारबाही थप कडाइ गर्ने, अत्यावश्यक सामग्रीको खरिदका लागि निश्चित समय तोक्ने, पैदल यात्रुलाई रोक्ने, टोल टोलमा समिति बनाएर समन्वय गर्ने लगायतका काम गरिने स्रोतको भनाइ छ ।