विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ५८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७,२४१ पुगेको छ।

सोमवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि ९,६३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

शुक्रवार ५९४, शनिवार ४६८ र आइतवार ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मृतकहरू रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाण्डूकी ५८ वर्षीया महिला हुन्।

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

काठमाण्डू उपत्यकाका १६८ सङ्क्रमित थपिएका छन्। तीमध्ये काठमाण्डू जिल्लाका १३९, ललितपुरका १५ र भक्तपुरका १४ जना छन्।

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्खया २,१३४ पुगेको छ।

अहिले काठमाण्डू जिल्लामा १,७०५, ललितपुरमा २८२ जना र भक्तपुरमा १४७ जनामा सक्रिय सङ्क्रमण छ।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा ११,५२० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा १५६ जना भाइरसमुक्त प्रमाणित भए।

अहिलेसम्म १७,४९५ सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ। अहिले देशभरि क्वारन्टीनमा १५,१९८ जना छन्।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ।