पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

‘क्याबिनमा छोरासँगै हुुनुहुन्थ्यो, त्यहाँ सिसिटीभी क्यामेरा छैन । एक्कासी छोराले बुवालाई गाह्रो भयो भनेर फोन गर्नुभयो,’ उनले भने, ‘चिकित्सक स्वास्थ्यकर्मी टोली पुगेर उपचार शुरु गरे । तर बचाउन सकिएन ।’

चिकित्सकका अनुसार उनमा कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक थियो ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा. गौतमले बताए ।

उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा. गौतमले जानकारी दिए ।

यसअघि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।