सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा १३ घर पुरिएको छ। शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।

‘१३ घर केही नदेखिने गरी पुरिएको छ’ जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले  भने, ‘५ घरका परिवार सम्पर्कमा छैनन्।’

नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्‍ने स्थानमा गएर बसेका छन्। अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको उनले बताए।

सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्‍ने यकिन नभएको उनले जानकारी दिए। घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यसैगरी कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ।

वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ।

मृत्यु हुनेमा वडा सदस्य विष्टका २ छोरा र २ छोरी तथा दाजुका २ छोरी रहेका छन्।

कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले  दिएको जानकारी अनुसार रातको १२ बजेतीर पहिरो घरको छानो भत्काउँदै छिरेको थियो। सोही पहिरोले सुतिरहेको अवस्थामा पुर्दा उनीहरूलाई पुरेको हो।

बास्तोलाका अनुसार वडा सदस्य विष्ट आफ्नो पत्नीसहित तल्लो तल्लामा सुतेका थिए र पहिरोले त्यहाँसम्म क्षति पुर्‍याउन नसकेकाले बाँच्न सफल भएको बास्तोलाको भनाइछ।

हाल मृतक ६ जना बालबालिकाको शव बाहिर निकालिसकिएको छ।

यसैगरी जिल्लाकै नरहरीनाथ गाउँपालिकाको कुमाल गाउँको वडा नम्बर १ मा बिहीबार ने गएको पहिरोमा परि हजुबुवा र नाती गम्भीर घाइते बनेका छन्।

घाइते हुनेमा ७० वर्षका नर बहादुर विष्ट र नाती रत्न बहादुर विष्ट रहेको जानकारी प्रदेश प्रहरीले जनाएको छ। नाती रत्नको भने उमेर खुलेको छैन।

हाल दुबैको अवस्था चिन्ताजनक रहेको छ।