पाल्पाकाे तानसेनमा घरमै बसेकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । तानसेन–४, विशालबजारमा रहेकाे घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

सङक्रमित महिला लुम्विनी मेडिकल कलेजमा श्रीमान सहित आफन्तको उपचारका लागि पुगेकाे र शंका लागेपछि परीक्षण गरिएकाे बताइएकाे छ । सूचना अधिकारी पन्थी भन्छन्, महिलामा कोरोना सङक्रमण देखिए पनि उनका श्रीमानकाे रिपाेर्ट भने नेगेटीभ आएकाे छ । पाल्पामा पहिलो पटक समुदायका व्यक्तिमा कोरोना देखिएकाे छ । थप सावधानीकाे आवश्यकता छ ।

समुदायस्तरमा काेराेना देखिएपछि तानसेन वडा नं. ४ वडा समिति र नगरपालिकाका पदाधिकारीहरू आकस्मिक बैठक बसिरहेका छन् । विहिबार थपिएका एक जना संक्रमितसँगै तानसेनमा संक्रमितको संख्या १५ पुगेको छ ।

जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४७ जना महिला रहेका छन् ।