गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ५२५ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४,९५७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन्।

गएको एक सातामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ छ।

सबैभन्दा धेरै सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,५९९ जना र वागमती प्रदेशमा १,७०३ जना रहेका छन्।

बिहीवार पुष्टि भएका सङ्क्रमितहरूमा सबैभन्दा धेरै काठमाण्डू जिल्लाका १११ जना र मोरङ्गका ८८ जना रहेका छन्।

काठमाण्डू उपत्यकाका ललितपुरमा ११ र भक्तपुरमा ५ सङ्क्रमित थपिएका छन्।

देशभरि सक्रिय सङ्क्रमितहरूमध्ये ४६६ जना घरमै रहेको मन्त्रालयको तथ्याङ्क छ।

मृतक को हुन्?

बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन्।

क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो।

त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङ्गका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते सङ्क्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ।