पेरिस नजिकको ‘ओरले एयरपोर्ट’मा पुगेर सन् १९५०, मार्च ३० तारिकका दिन ‘एयर–फ्रान्स’को प्लेनबाट कायरोे–कराँची हुँदै दिल्ली आएर रेलबाट नौतनवा आई पुगेपछि नेपालतिर लागेका जर्मनी पर्वतारोही जी.ओ. डेरेनप्रुट, अप्रेल ८ तारिखका दिन साँझपख तानसेन आई पुगेका थिए । तानसेन आई पुगेपछि उनले जब तानसेनको प्राकृतिक मनोरमता र साँस्कृतिक निधिहरुलाई नजिकबाट निँयाले, तानसेनको साँस्कृतिक परिवेशलाई देखेर यति प्ररित भएकी उनले तानसेनलाई यसरी वर्णन गरेका छन्: “कालीगण्डकी उपत्यका पुग्नुभन्दा पछिल्लो डाँडा, जहाँबाट ओर्लिएपछि कालीगण्डकीनदीमा पुगिन्छ, त्यस डाँडामा ५००० जनाको बसोबास रहेकोे हृदयग्राही चित्र जस्तो, हुन लायक, अति सुस्पष्ट र सजीव (picturesque) सानो सुन्दर नगर तानसेन रहेछ । तिब्बत जाने प्राचीन व्यापारिक पैदल मार्ग तानसेन हुँदै गएको रहेछ । कालीगण्डकीको साँगुरो गल्छी, तरेली परेको खेतका गराहरुले मन लोभ्याउने गर्दछ” । हुन पनि साँस्कृतिक परम्परा पउल भएको जात्रै जात्राको नगर तानसेन हो । साँस्कृतिक परम्पराको लयमा तानसेनमा वर्षभरि नै नयाँवर्षको आगमनसँगै बैशाख १ गते अमरगञ्जमा अवस्थित वटुक भैरबको खट्यात्रा शुरु भए यता वर्षको अन्तिम दिन चैत्र मसान्तको दिन हुने तानसेन टक्सारटोल अवस्थित कालभैरबको खट्यात्रासँगै तानसेनको साँस्कृतिक श्रृखलाको चक्र पुरा हुन्छ ।

बैशाख महिनाको पहिलो दिनदेखि शुरु हुने वटुकभैरबको जात्रा पछि बैशाख पूर्णिमाको दिन गौतम बुद्धको खट्यात्रा, बैशाखमा हुने दमकडाको माण्डव्य ऋषिको रथयात्रा, गुनि पुन्हि (जनै पूर्णिमा)को दिनदेखि गाईजात्रा, रोपाईजात्रा, बाघजात्रा लगायत विभिन्न देवी देवताहरुको खट्यात्राहरु तानसेन हुने गर्दछन् । परेवाको दिन गाईजात्रा, अर्को दिन रोपाईजात्रा र भाद्रकृष्ण पक्षको द्वितीयाको दिन बाघजात्रा र सोही दिन भाद्र कृष्ण द्वितीयामा श्रीनगर गणेशजात्रा, भाद्र कृष्ण चतुर्थीका दिन टक्सार गणेशजात्रा, भाद्र कृष्ण पञ्चमीका दिन भीमसेन टोलकोे भीमसेनजात्रा, कृष्णाजन्माष्टमी र कृष्णाजन्माष्टमीको भोलीपल्ट श्री ७ रणउजीरेश्वरी भगवतिको खट्यात्रा एवम् रोहिणी नक्षत्र जुराएर सोही दिन वा अर्को दिन अमरनारायणको खट्यात्रा हुने गर्छ । तानसेनमा हुने जात्राहरुको आ–आफ्नै विशेषता र महिमा छ । कुनै मृत्यु गणना संस्कारमूलक जात्रा रहेको छ भने कुनै कृषिकर्म, कुनै शिकार संस्कृतिलाई प्रतिनिधित्व गर्ने जात्राहरु रहेका छन् । विभिन्न देवीदेवताहरुको खट्यात्रा धार्मिकतासँग जोडिएको छन् भने त्यसमध्ये फरक प्रकृति र आफ्नै मौलिकता बोकेको जात्रा तानसेन बजारको मध्यभागमा अवस्थित श्री ७ रणउजीरेश्वरीको जात्रा हो, जुन ‘पाल्पाको भगवती जात्रा’ को नामले प्रसिद्ध छ । जात्रासँग राष्ट्रियता, राष्ट्रिय गौरव, गौरवमय इतिहास र राष्ट्रिय वुजूद गाँसिनु यस जात्राको मौलिक पक्ष हो । यस जात्राको महिमा र मौलिकतालाई हृदयङ्गम गरी कदर स्वरुप नेपाल फिलाटेलिक ब्यूरोले २०६८ साल पौष ११ तद्अनुसार सन् २०११ डिसेम्बर ३१ तारिखका दिन धार्मिक टिकटमालामा प्रथम दिवसीय टाँचा लगाई पाल्पाको ‘श्री ७ रणउजीरेश्वरी भगवती’ चित्र अङ्कित दुई रुपैया मोलको हुलाक टिकट जारी गरेको छ । यसको साथै भरखरै प्रदेश नं.५ प्रदेश सरकार (मन्त्रिपरिषद्)को मिति २०७७ साल बैशाख १० गतेको निर्णय अनुसार “पाल्पाको भगवतीजात्रा”को दिन सार्वजनिक बिदा दिने मार्केवल काम गरेको छ ।

श्री ७ रणउजीरश्वरी भगवतीका खट्यात्रा (जात्रा)सँग धार्मिक महिमा जति गाँसिएको छ त्यत्तिनै जात्रासँग नेपालको गौरवमय इतिहास र नेपाली सेनाको वीरता, धीरता र रणकौशल पनि जोडिएको छ । आफ्नो साम्राज्य भित्र कहीँ कतैे सूर्य नअस्ताउने भू–भाग कोमेको अनि आफूलाई अवल दर्जाको थान्ने र अरुलाई किन्चित नमान्ने अँग्रेजी साम्राज्यको ठूलो इकोनोमिक इञ्जिनको रुपमा रहेको ईष्ट इण्डिया कम्पनी/कम्पनी सरकार र नेपाल सरकार बीच भएको आङ्ग्लो–नेपाल–वारको समर सौन्दर्य साथै कम्पनी सरकारलाई एक पटक होइन, पटक पटक समरभूमिमा परास्त गरेकोे इतिहास स्वर्णअक्षरले कोरिएको यस जात्राको अहेम पक्ष हो । सम्वत १८७१ साल कार्तिक ७ गते महाअष्टमीका दिन पाल्पाका पहिलो तैनाथवाला साना काजी अमरसिंह थापाको मृत्यु भएपछि भगीरथ जैसीलाई लेखिएको रुक्का–पत्र अनुसार साना काजी अमरसिंह थापाका माहिला छोरा नयनसिंह थापाका जेठा छोरा वर्ष १९को उजीरसिंह थापा आफ्ना बाजे अमरसिंह थापाको मृत्यु भएको २० दिनपछि वि.सं. १८७१ साल कार्तिक २६ गते वृहस्पति वार चतुर्दशीका दिन पाल्पाको तैनाथी लिएर घरबाट रमाना भएका थिए ।
कर्णेल उजीरसिंह थापाको पाल्पामा आगमनसँगै युद्धको कालो बादल मडारिन थाली सकेको थियो । उनले पाल्पा आए लगतै गढीगौडा, बाटोघाटो, सेनाको इन्तिजाम युद्धस्तरमा युद्धको तैयारीमा लाग्नुका साथै पृथ्वीनारायण शाहको पालादेखि लडाई खेल्न जानु अघि सायत देखाउने र मठ मन्दिरमा पूजाआजा गरी भाकल गर्ने जुन प्रचलनलाई अवलम्बन गरी कर्णेल उजीरसिंह थापाले युद्धमा जाने सायत देखाउनुका साथै तानसेन बजारको मध्यभागमा अवस्थित प्रख्यात महिषासुरमर्दिनी भगवतीमा पूजाआजा र युद्धमा विजयश्री प्राप्त भयो भने तीनतले मन्दिर निर्माण गरी सिन्दुरजात्रा सहित भगवती माईको चारैचौरास महिमा फैलाउने छु भनि भगवतीको पाउ छोई भाकल गरी समरभूमितर्फ लागेका थिए ।

कर्णेल उजीरसिंह थापाले पाल्पा नुवाकोटगढीबाट नेतृत्व गरी बुटवल मोहडा, जीतगढीमा पौष र बैशाख महिना गरी दुई पटक कम्पनी सरकारसँग युद्ध भएको थियो । ती युद्धहरुमा नेपालले विजयश्री हासिल गर्यो । कर्णेल उजीरसिंह थापाले आफू युद्धमा जानु अघि गरेको भाकल बमोजिम भगवतीको तीनतले मन्दिर वि.सं. १८७२ मा थालनी गरी वि.सं. १८७६ मा निर्माण पुरा गरी प्रस्तरको भाकल गरेको उक्त सोह्रवाहुँकी महिषाशुर मर्दिनी भगवतीको मूर्तिलार्ई गर्भमा पारी अठारवाहुको अष्टधातुले बनेको महिषाशुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरेका थिए । साथै मन्दिरमा आफ्नो उचाइ बराबरको सुनको मोलम्बो चढाइएकोे गजुर स्थापित गरेका थिए । मन्दिरको प्रदक्षिणा मार्गको वायब्य कोणमा सूर्य, ईशान कोणमा विष्णु, आग्नय कोणमा शिव, नैऋत्य कोणमा गणेशको मूर्ति साथै गर्भगृहको मध्यभागमा अष्टधातुबाट बनेको सो अठारबाहु भएकी महिषासुरमर्दिनी भगवतीको प्रतिमा स्थापन गरीे मन्दिरलाई दुर्गा पञ्चायनको रुप दिइएको थियो । कर्णेल उजीरसिंह थापाले तीनतले मन्दिर बनाई महिषासुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरिसकेपछि त्यस मन्दिरको व्यवस्थापन, नित्य–नैमित्तिक पूजा, वर्ष बन्धक पूजा, जात्रा संञ्चालन गर्नको निमित्त विभिन्न गुठीको व्यवस्था पनि गरिदिएका थिए । भगवतीको पूजाआजा गर्न पूजारीको रुपमा वराहमिहिरले बृहत्संहितामा उल्लेख गरे अनुसार देवीको मन्दिरमा पूजाआजा गर्न ‘मातृमण्डल’को ज्ञान भएको पुजाहारी हुनु पर्नेे विधिविधान अवलम्बन गरी ललितपुर महानगरे जयश्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणी गुभाजुलाई ल्याएका थिए । यस मन्दिरको पूजाआजा अहिलेसम्म उनैका दरसन्तानले गर्दै आएका छन् ।

श्री ७ रणउजीरेश्वरी भगवतीको सिन्दुर जात्रा सहित भगवतीको महिमा चार चौरास फैलाउन हेतुले हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी जात्रा संञ्चालन हुँदै आएको छ । श्री ७ रणउजीरेश्वरी भगवतीको खट्यात्रामा प्रयोग हुँदै आएको खट्मा ‘।। स्वस्ति श्री संवत् १८७७ साल सौर मानन् आषाढ मास दि नगतेषु १९ शुक्र वारसे दि नगत घटिषु २८ पलेषु ५५ श्री ७ भगवतीका चरणमा श्री कर्णेल उजीरसिंह थापाले चढाएको षट हो शुभ्म ।।’ हरफहरु उत्कीर्ण गरिएकोले ‘श्री ७ रणउजीरेश्वरी भगवतीको खट्यात्रा’ वि.सं. १८७७ सालदेखि थालनी भएकोे देखिन्छ । कृष्णाजन्माष्टमीको दिन रणउजीरेश्वरी भगवतीजात्राको अधिल्लो दिन जागेराम बस्ने गरिन्छ । जागेरामको दिन दाफा भजन मण्डलीहरुबाट राती अबेरसम्म भजन हुने गर्दछ । सोही राती अष्टमीका पूजापछि साइत जुराएर नगर परिक्रमा गरिने खट्मा राखिने भगवतीको मूर्तिलाई सजधजका साथ भगवती समितिका अध्यक्षले बडो सम्मानपूर्वक बोकी, पाल्पामा रहेको नेपाली सेनाको गणको सेना प्रमुखले कर्णेल उजीरसिंह थापाले युद्धमा प्रयोग गरेको जनश्रुति रहेकोे खड्ग हातमा समाई सेनाको गारदले सलामी अर्पण गरिसकेपछि बढाई गर्दै सम्मानका साथ सो भगवतीको मूर्तिलाई खट्मा लगी राख्ने गरिन्छ । खट्लाई तीनपटक मन्दिरको परिक्रमा गरिसकेपछि खट्लाई मन्दिरको सामुन्ने विजय स्तम्भनिर राख्ने गरिन्छ । भोलीपल्ट नवमीको दिन सझधजका साथ सजाइएको खट्मा कर्णेल उजीरसिंह थापाको खड्ग सहित मूल पूजारी हिक्मत बहादुर गुभाजु खट् भित्र बसी खट्यात्रा हुने गर्दछ । अघि भगवतीको रथयात्रामा स्वयम् कर्णेल उजीरसिंह थापा र चन्द्रमणी गुभाजु साथमा बसी खट्यात्रा हुने गर्दथ्यो भन्ने जनश्रुति रहेको छ ।

खट्यात्राको दिन वर्षबन्धन पूजा, कारण पूजा सम्पन्न भएपछि दिउँसो मध्यान्न खट् उठाउने सायत जुराई सेनाको गारदले सलामी अर्पण गरेपछि बढाईका साथ सैनिक व्याण्ड बाजाको धुन, बिगुलको जोसिलो नाद र झ्यालीको तालमा कदममा कदम मिलाउँदै गुरुप्प गुरुप्पको आवाजसँगै अगाडि बढेकोे सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी साथै निजामति कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारणहरुको लावालस्करका साथ अधि अधि पञ्चबाजा, अनि दायाँ हातले ढोललाई गजाले ठोक्दै, वायाँ हातले थाप मार्दै ढोलको नादसँग भ्mयालीको तालमा जोस र उमङ्गलाई साट्दै गरेका युवाहरुको जोस र जाँगरका साथ श्री ७ रणउजीरेश्वरी भगवती माईको खट्यात्रा जब उठ्छ, यस क्षणले उल्लासमय विजयोत्सवको झ–झल्को दिने गर्दछ । मानौ युद्धमा विजय हासिल गरी आएको वीरहरुको समुहले विजयोउत्सव मनाउँदै गरेकोे जस्तो लाग्छ । अझ पृथ्वीनारायणशाहद्वारा गोरखामा खडा गरिएको विभिन्न पल्टनहरुमध्ये पहिलो पल्टन ‘शार्दूलजङ्ग पल्टन’ जुन पल्टन केही वर्ष बडागुरुज्यूको मातहतमा रहन जानाले यस पल्टन ‘गुरुज्यु पल्टन’को नामले पनि परिचित छ त्यस पल्टनको सहभागिताले अतीतको राट्रिय गौरवलाई ताजा गराई दिने गर्छ । साथै रणवाद्य नरसिङ्गा (रणशृङ्ग/ रणसिङ्ग ) एवम् कर्णालले आकाशरेखा कोर्दै, नरसिङगा र कर्णालको गगनभेदी नादले सगरलाई चिर्दै गरेको गुञ्जन जब श्रीनगर डाँडाबाट प्रतिध्वनित हुन्छ तब उपस्थित नेपालीहरुको मन, राट्रिय गौरवले धक्क फूल्ने गर्दछ । हुन पनि ‘पाल्पा भगवतीको खट्यात्रा’को धार्मिक महिमासँग मात्र गाँसिएको छैन् युद्ध र युद्धमा विजयको प्रतिनिधित्व गर्ने ‘विजयोत्सव’ सँग यस जात्राको महिमा पनि गाँसिएको छ । श्री ७ रणउजीरेश्वरीको खट्यात्रा, ‘पाल्पा भगवतीजात्रा’ वीरता, धीरता, रणकौशल र नेपालको गौरवगाथासँग स्पन्दित भएको जात्रा हो । साथैै समरभूमिमा राष्ट्रको खातिर आप्mनो निजात्मक जीवनलाई किन्चित नमानी आफूलाई उत्सर्ग गर्ने सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत लगायत पाँचसयजना वीर सपुतहरुको रगत पसिना र काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजीरसिंह थापाको दलमुखी आँटले सिंचिएको गौरवमय इतिहास जोडिएको यस जात्रामा मनको अन्तर कुन्तरबाट रगडिदै उर्लेर आएको राट्रिय भावना गला हुँदै जब जागृत भई ‘जय जयकार’ को स्वर गुञ्जायमान हुन्छ तब खट्यात्रामा सामेल भएका प्रत्येक नेपालीको मुखमण्डलमा राट्रियताको रक्तिम लालिमा पोतिने गर्छ ।

तोरीको तेलमा मोहनी फिटेको कालोटीका निधारमा लगाएका अठ्तालिसजना कुमाल जातिका पीपाहरुले सालकाठको नोल हालिएको अजंगको भगवतीको खट् जब बोकेर खट्यात्रा अगाडि बढ्ने गर्दछ । सबैभन्दा पहिले ‘मूलपूजा’ हुने गर्दछ, त्यसपछि खट्ले मन्दिरलाई तीनफन्को मारेपछि ‘कर्णेलीपूजा’ हुने गर्छ । ‘कर्णेलीपूजा’ सकिएपछि खट्यात्रा ठूलो मूलढोकाबाट निस्किएको भगवतीको खट्यात्रा शीतलपाटीबाट सरासर पाल्पा दरबारमा पुगी अघि तत्कालीन तैनाथवाला (पछि बडाहाकिम हाल प्रमुख जिल्ला अधिकारी) को पूजा चढ्ने गर्दछ । त्यहाँबाट फर्केपछि मात्र दुनियाँदारीको पूजा लिने प्रचलन छ । पाल्पा दरवारबाट फर्केपछि शीतलपाटी–गोपीटोल (बसन्तपुरटोल)–चुत्राभज्याङ् (कैलाशनगर)–फेरी शीतलपाटीमा आई–असनटोल–नारायणटोल–भीमसेनटोल हुँदै तानसेन नगरपालिका पुगेर नगर प्रमुखले पूजा दिएपछि खट्यात्रा सैनिक ईलाकामा प्रवेश गर्दछ । सैनिक ईलाकामा खट्यात्रा प्रवेश गर्दा खट्लाई सेनाका जवानहरुले नै बडो आस्थाका साथ खट्लाई बोक्ने गर्दछन् । व्यारेकमा सेनाको गणपतिबाट पूजा सम्पन्न भएपछि खट्यात्रा बसपार्क–बडिज्ञानटोल–सिलेखानटोल–टक्सारटोल हुँदै फेरि भगवती मन्दिरको परिसरमा आएर खट्लाई मन्दिरमा तीनफन्को लगाएर भित्रिएपछि साँस्कृतिक, ऐतिहासिक एवम् राष्ट्रिय गौरब बोकेको खट्यात्राको समापन हन्छ ।

वि.सं. १८७७ सालदेखि प्रत्येक वर्ष हर्षोलासका विजय उत्सवको रुपमा मनाउँदै आएको श्री ७ रणउजीरेश्वरीको खट्यात्रा यसवर्ष वि.सं. २०७७ सालको खट्यात्राले दुई शताब्दीको लर्कन तय गरेको छ । पाल्पाको भगवती जात्रा तानसेनेली र पाल्पालीहरुको मात्रै होइन, न योे आञ्चालिक मात्रै हो न प्रादेशिक नै हो । श्री ७ रणउजीरेश्वरी भगवतीकजात्रा ता राट्रियता, राष्ट्रिय गौरव र राट्रिय वुजुदसँग गाँसिएको छ । यो ‘पाल्पा भगवतीजात्रा’ राट्रिय पर्व हो । यसको गौरवमय इतिहास, नेपालीहरुको वीरता, धीरता एवम् यस जात्रासँगै गाँसिएको ‘राष्ट्रिय वुजूद’लाई नयाँ पुस्ताको माझमा पुर्याउनु आजको खाँचो रहको छ । अब पाल्पामा मात्रै सार्वजनिक बिदा पुग्दैन राज्यभरि नै यस दिन सार्वजनिक बिदा दिनु पर्दछ । बिदा दिएर मात्र केही हुने ता होइन नि ! तर यस दिन किन बिदा दियो ? भन्ने कौतूहलता युवामनमा जिज्ञासा पैदा हुन सक्छ र नेपालीहरु ता अरुको मुख मात्र ताक्ने कौम होइनौं रहेछ नि ! नेपालीहरुको गौरवगाथा ता बेग्लै रहेछ भन्ने बोध हुने नै छ । यसले वेलाबखतमा जुन राष्ट्रियतामा तरलता आउने गर्छ, यसको निराकरण पक्कै गर्ने यस ‘श्री ७ रणउजीरेश्वरी भगवती जात्रा’ले सामथ्र्य राख्ने छ भन्ने कुरामा दुई मत हुने छैन ।