कोभिड–१९ को महामारिको बिचमा बिश्वभरका युवाहरुले ‘बिश्व अभियानका लागि युवा सहभागिता’  भन्ने मुख्य एजेण्डा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छन् । नेपालमा राष्ट्रिय युवा परिषदको अगुवाईमा ‘उद्यमी युवा समृद्ध देश दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुख्य नारा सहित भर्चुवल कार्यक्रमहरु भइरहेका छन् । सायद विश्वभर नै अनलाइन माध्यमहरुबाट थुपै्र कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । संयुक्त राष्ट्रसंघले युवा सरोकारका कैयौं बिषयहरू उठान गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । खासगरी शिक्षा , स्वास्थ्य , गरिबी , वातावरण ,रोजगारी , दुब्र्यसनी , एचआइभी एड्स , युवा महिला , भूमंडलीकरण ,द्धन्द्धमा युवा ,संचार प्रविधि र  अन्तरपुस्ता सम्बन्धको बारेमा गतिबिधिहरु गरेको देखिन्छ । अहिलेको नाराले राज्यको नेतृत्व तहमा वा राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक संरचनाहरुमा युवाहरु संलग्न भएर कसरी समृद्ध नयाँ समाजको निर्माणमा लाग्न सक्छन् भन्ने विषयमा सम्बन्ध राखेको देखिन्छ ।आज कोभिड –१९ले  विश्वका युवाहरूको काम गर्ने क्षेत्र प्रभावित बनाएको छ , रोजीरोटी खोसिदिएको छ । विश्वकै अर्थतन्त्र अस्तब्यस्त  भइरहेको बेला युवाहरुमाथि गम्भीर समस्या पर्ने कुरा स्वभाबिकै भयो ।

मानव समाजको विकास र परिवर्तनमा जहाँपनि युवा पुस्ताको अतुलनीय भूमिका रहने गरेको छ । समाजको सबैभन्दा गतिशील र उर्जाशील शक्ति जसको चेतना ,साहस , विचार र सहि दृष्टिकोणले अगाडि बढिरहेको बाटोलाई सजिलो र सुस्पष्ट पार्दै सुन्दर भविष्यतर्फ घचघचाइरहेको हुन्छ । चाहे  रोमन दास स्पार्टाकसले गरेको दास विद्रोह होस् चाहे युरोपको पुनर्जागरण र सामन्तवादविरोधी पुजीवादी क्रान्ती होस् चाहे १९१७ को महान् रुसी अक्टूबर क्रान्ति वा १९४९ को चिनिया जनवादी क्रान्ति यसैगरी भियतनाम वा उत्तर कोरिया लगायतका देशमा समाजवाद निर्माणको लागि गरिएका प्रयासहरु हुन् यी सबैमा युवाहरु नै अग्रपंक्तिमा रहेका थिए । नेपालको १०४ बर्षिय जहानियाँ राणा शासनको विरुद्धमा संघर्ष गर्ने तथा सहिद हुने युवाहरूनै थिए भने २०३५÷३६को आन्दोलन २०४६ ,२०६२÷६३ ,तथा माओबादी  आन्दोलनमा  युवाहरुनै सक्रिय थिए । राजनीतिक परिवर्तनका आन्दोलनहरूमा मात्र होइन प्रकृति विज्ञानको अनुसन्धान गर्ने र संसारलाई जान्न नयाँ प्रविधिको विकास गर्ने वैज्ञानिक आविष्कारहरु पनि ४० वर्ष मुनिका कैयौं युवाहरूले गरेको देखिन्छ ।

यसप्रकार युवा भन्नाले प्रगतितर्फ उन्मुख नबिन सोच र चिन्तनले निर्देशित , समाज परिवर्तनको सम्वाहक , रचनात्मक र सिर्जनशील ,परिवर्तनकामी , विद्रोही , साहासी शक्ति हो भन्न सकिन्छ । युवा उमेरमै नेतृत्व गरेर आफ्नो सिर्जनशीलतालाई समाजका लागि समर्पित गर्ने थुप्रै व्यक्तिहरु छन् । साम्यवादका पर्वतक माक्र्स एंगेल्स कम्यूनिष्ट घोषणा पत्र तयार गर्ने बेलामा क्रमश ३० र २८ वर्षका थिए । लेनिनले ४६ वर्षकै उमेरमा १९१७ को महान् रुसी अक्टोबर क्रान्ति सफल नेतृत्व गरेका थिए । सन् १९५९ मा बाटिस्टा सत्ताको तख्ता उखेलेर फाल्ने विद्रोहको नेतृत्व गरि राजधानी हवाना प्रवेश गर्दा फिडे्ल क्यास्ट्रो ३२ वर्षका थिए । आधुनिक चीन निर्माणको महान अभियानको योजनासहित चिनिया कम्यूनिष्ट पार्टी गठन गर्दा माओ २८ वर्षका थिए । कोरियाली नेता किम इल सुङ्गले ४० वर्षको युवा उमेरमा अमेरिकी साम्राज्यवादलाई परास्त गर्न नेतृत्व गरेका थिए । समाजवादी क्युवा स्थापनाको अभिभारा पूरा गर्दा चे ग्वेभारा ३१ वर्षका थिए । २००६ सालमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलाल २५ वर्षका थिए । १९९७ मा राणाशासनविरुद्ध मा अग्रमोर्चामा रहेका  शहिद गंगालाल २१ वर्षका थिए । यी दृष्टान्तहरुले के बताउँदछ भने युवा उमेरमै हामीले कुन बाटो रोज्ने , कहाँ सम्म हिड्ने , कुन जीबन रोज्ने भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्यो भने साच्चै समाजको रुपान्तरणमा पाइला चाल्न सक्छौं ।

आज पनि कैयौँ देशका युवाहरुले सत्ताको बागडोर संहालीरहेका छन् । २०१९ को नोबेल शान्ति पुरस्कार विजेता ४० वर्षीय डा.अबि अहमेद इथियोपियाका राष्ट्रपति हुन् । उनले अहिले चिनियाँ स्तरको चमत्कारी विकासको अगुवाई गरिरहेका छन् । २५ वर्षको उमेरमा विदेश मन्त्री हुँदा इरानसँग ग्लोवल न्युक्लियर सम्बन्धी सम्झौता र युक्रेनको द्वन्द्व समाधानको लागि महत्वपूर्ण भूमिका खेलेका सेवेस्टेन क्रुज अहिले ३३ वर्षको उमेरमा अष्ट्रियाको नेतृत्वमा रहेका छन् । इमानुएल म्याक्रोन ३९ वर्षको उमेरमा शक्तिशाली फ्रान्सको राष्ट्रपति बनेका थिए । फिनल्याण्डमा ३४ वर्षीय सान्ना मारीना प्रधानमन्त्री  छन् । ३७ वर्षीय न्योइन वकलीले मध्य अमेरिकी देश एल साल्भाडोर हाँकीरहेका छन् भने जेसिका अड्रेनले न्युजिल्यान्ड र किम जोङ्ग इलले उत्तर कोरियालाई भर्भराउँदो युवा उमेरमै नेतृत्व गरिरहेका छन् । यसप्रकार अध्ययन , अनुसन्धान , योजना र क्षमता विकासको साथमा युवाहरुले थुप्रै राष्ट्रको समुन्नतिमा टेवा पुर्याइरहेका देखिन्छन् ।

नेपालका युवाहरुले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनहरुमा बलिदान गरेर सशक्त उपस्थिति जनाएका छन् तर उनीहरू राज्यसत्ताको मूलप्रवाहमा संस्थागत रुपले नेतृत्वमा पुग्न सकेका छैनन् । नेतृत्वमा एउटै पिढीका नेताहरुले लामो समयदेखि कब्जा गरी बसेका छन् । उनीहरु लागे पुगे सम्म आजीवन अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । अहिले नेतृत्वमा रहेको पुस्ताले युवा अवस्थामा कैयौं जेलनेल , यातना , निर्वासन भोगेरै आएको हो । त्यसलाई उचित सम्मान गर्नैपर्छ । नयाँ सोच , नयाँ संस्कृति , नयाँ मूल्य मान्यता , नयाँ प्रविधि बोकेर आउने नयाँ युगसगँ नयाँ पुस्ताले नै संयोजन गर्न सक्छ । नेतृत्वको निरन्तर परिवर्तनले नै नयाँनयाँ सम्भावनाहरूको ढोका खोल्न सक्छ । यसरी हेर्दा युवा पुस्तालाई  गरिने अन्यायले मुलुकमाथी अन्याय गरिरहेको हुन्छ । नयाँ भिजन र नयाँ मिसन भएका तमाम युवाहरु आज बेकम्मा भइरहेका छन् । नेतृत्वमा उदाउँदै गरेका युवाहरु पनि जनतासँग घनिष्ट सम्बन्ध बनाउन चाहँदैनन् बरु नेतृत्वकै चाकरी तथा आफन्तवादको साँघुरो घेरामा अल्झिरहेका देखिन्छन् । हाम्रो समाजका युवाहरुमा पर्याप्त जोश र जागर भएतापनि धर्यताको कमी र सिघ्र परिणामको अपेक्षा हुने भएकोले उनीहरु छिटै हौसिने र छिट्टै निराश भइहाल्ने प्रबृति छ । उनीहरु छिट्टै उपयोग र दुरुपयोग समेत हुने गरेका छन् ।

पूँजीवादले ल्याएको हो पछिल्लो सांस्कृतिक विकृतिले एकातिर विज्ञानको सट्टा युवा पिढिको दिमागमा धर्म , अज्ञानता र रहस्यको बिषय कोचिदिएको छ भने अर्कोतिर मानवीय मूल्य मान्यतालाई तहसनहस पार्ने गरी लागू औसध दुब्र्यशनी ,डिजिटल लतमा एकोहोरो सामाजिक सञ्जालमा लठ्ठिने , जिम्मेवारीबोध र कर्तव्य भुल्दै जाने , असभ्य र भ्रष्ट बन्ने पबृति बढेको छ । यसले युवा पुस्तालाई विचार र राजनीति बाट बिमुख गर्दै लगेको छ । ठेक्कापट्टा , तस्करी , कमाउँधन्दाको लागि कतिपयले राजनीतिलाई माध्यम बनाएका छन् । राजनीतिक र प्रशासनिक नेतृत्वको अदूरदर्शी र भ्रष्ट क्रियाकलापले गर्दा अपराधीकरण मौलाइरहेको छ ।

आज नेपालमा थुप्रै सम्भावनाहरु हुँदै गर्दा पनि सरकार र नेतृत्व तहको गलत रवैया र अव्यवस्थापनका कारण हरेक वर्ष श्रम बजारमा करिब चार लाख युवाहरु रोजगारीको लागि तड्पिरहेका हुन्छन् भने करिव चार लाख युवाहरु रोजगारीको लागि बिदेशीने गरेका छन् । बेरोजगार युवाहरुलाई उद्यमी र व्यवसायी बनाउन सकेमा , विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गर्न सकेमा , युवाहरूमा जोश जागर र उर्जा भरी आत्मविश्वास बढाउन सकेमा , युवा उत्साह र सिर्जनशीलतालाई श्रम सिप र उत्पादनसँग जोड्न सकेमा , युवाहरूलाई सक्षम र जिम्मेवार बनाउन सकेमा , राष्ट्रनिर्माणमा युवाहरूको साझेदारी र सहभागिता बढाउन सकेमा ,  जल , जमिन , जंगल , जडीबुटी , जलवायु , जनावर र जनशक्तिको उचित व्यवस्थापन गरी  युवा परिचालन गरेमा यस संरचनाभित्र पनि कैयौँ सुधारहरु गर्न सकिन्छ तर होनहार उर्जाशिल युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएर , विदेशमै पलायन हुने अवस्था सिर्जना गराएर , डिभी पर्दा  र पिआर पाउँदा गर्व गर्ने अवस्था सिर्जना गर्ने र बिप्रेषणमा रमाउने , बिदेशी सेनामा भर्ती हुँदा मक्ख पर्दै भाग्य चम्कियो भनेर हौसिने परिपाटी बढ्दै गइरहेको छ । त्यसलाई निरुत्साहित गर्ने भन्दापनि संस्थागत गर्ने काम सरकारले नै गरिरहेको छ । यसरी हेर्दा नव उदारवादी अर्थव्यवस्थाको चक्रव्यूहमा युवा पुस्ता फसिरहेको छ । सत्ताको यथास्थितिवादी चरित्रको कारण पूँजीवादले सिर्जना गरेका कैयौं बन्धनहरुमा नयाँपुस्ता जकडिनुपरेको छ । त्यसैले नयाँ समाज निर्माणको लागि पुरानो समाजको वर्ग चरित्र र सत्तासँग कठिन र निर्मम प्रतियोगिताको लागि युवाहरु तयार रहनु पर्ने आवश्यकता रहेको छ । समाजमा जुन प्रकारको विभेद , असमानता र शोषण छ , त्यसको स्वरुप र चरित्र बुझेर मात्र त्यसलाई परिवर्तन गर्नु सम्भव हुन्छ ।एउटा ब्यक्ति परिबर्तन गर्दा मात्र खास परिबर्तन हुदैन,पद्धती परिबर्तन गर्नु पर्दछ । युवा आन्दोलनलाई तत्कालिन लाभ हानीको रूपमा मात्र हेर्ने र त्यसैमा मात्र सिमित गर्ने वर्तमान प्रवृत्तिले मुलुकको आमूल परिवर्तनमा छेकेबार लगाउने गर्दछ । समाजको विभेद र असमानता सामूहिक प्रकारको उत्पादन प्रणाली र व्यक्तिगत प्रकारको वितरण प्रणालीसँग अन्तरसम्बन्धित छ । यसप्रकार को असमानता विरुद्ध र भावी समुन्नत समाजको निर्माणको लागि अग्निपरीक्षामा बलिदानीपूर्ण रुपमा उभिनु जरुरी छ । अब युवाहरु टाढाटाढाका महत्वाकांक्षा बोकेर नितान्त एक्लै भौतारिनु पर्ने बेला छैन , युगान्तकारी अगुवाहरूको समूह बनाएर जनताप्रति समर्पित बन्दै अगाडि बढ्नु जरुरी छ ।

उत्पादन र व्यवस्थापनका सबै संयन्त्रहरुमा सामूहिक सहभागितालाई घनीभूत गर्ने र यसलाई प्राविधिक र वैचारिक शिक्षासँग जोड्ने काम गर्नाले युवाहरु आफ्नो यात्राबाट विचलित र दिग्भ्रमित हुनुपर्दैन । युवाहरुले कुनै भौतिक पुरस्कारको  आशा नराखी निष्कलङ्क र पवित्र ब्यवहार प्रदर्शन गर्दै अगाडि बढ्दा समाजको सौन्दर्य फेरिन सक्छ । समाजवाद निर्माणको आर्थिक आधार तयार गर्न बलिदान सहितको सशक्त आन्दोलनको  उठान गर्न नयाँ पुस्ता तयार हुनुपर्दछ । प्रदूषित बन्दै गएको यथास्थितिवाद र व्यक्तिबादलाई  तोड्दै आमूल परिवर्तनको अग्रगामी दिशामा युवा आन्दोलनलाई परिलक्षित गर्नुपर्दछ । युवाहरूलाई वैज्ञानिक विश्वदृष्टिकोण को शिक्षा प्रदान गर्दै , नागरिक साहसको विकास गराउँदै , उद्यमशिलता सँग जोड्दै , जनताप्रति बफादार राजनीतिक योद्धा र शासकको रुपमा तयार गर्नु अहिलेको आवश्यकता हो । विश्व अभियानका लागि युवा सहभागिता भन्ने नाराका साथ सम्पन्न भइरहेको अन्तराष्ट्रिय युवा दिवसको सार्थकता यसैमा रहनेछ ।