१. कोरोना भाइरस आज एउटा विश्वव्यापी समस्या भएको छ । त्यसले ठूलाठूला देशहरुमा पनि गम्भिर संकटको स्थिति पैदा गरिदिएको छ । त्यसको व्यापक असर नेपालमा पनि परेको छ । त्यसल एक प्रकारले भन्ने हो भने देशको अर्थतन्त्र र सामाजिक जीवनलाइ नै धरासयी बनाउँदै लगिरहेको छ । तर संसारमा वा नेपालमा यति ठूलो संककट आएता पनि, कडा भन्दा कडा प्रतिकुल परिस्थितिमा पनि हामीले बाँच्ने प्रयत्न गर्नु पर्दछ, त्यस अनुरुप आफूलाई ढाल्नुपर्ने प्रयत्न गर्नुपर्दछ । सबै आपत–विपदका बिचबाट बाटो वा उपाय निकाल्ने प्रयत्न गर्नुपर्दछ । यो प्रकृतिको नियम हा । त्यसको सामना गरेर नै समाज वा जीवन अगाडि बढ्न सक्दछ र बढ्नु पनि पर्दछ । कोरोना भाइरसले पैदा गरेको कठिन स्थितिलाई बुद्धिमतापूर्वक र कुशलतापूर्वक उपयोग गर्न सकेमा नेपालका लागि अभिषाप नभएर आत्मनिर्भर अर्थतन्त्र र विकासका लागि वरदान पनि बन्न सक्दछ ।

२. कोरोना भाइरसले सबैभन्दा ठुलो प्रहार अर्थतन्त्रमा नै गरेको छ । संसारभरि नै उद्योग–धन्दाहरु ध्वस्त भएर गएका छन् । त्यसको परिणामस्वरुप विश्वव्यापी आर्थिक मन्दीको अवस्था उत्पन्न भएका छ । मजदुरहरु करोडौँको संख्यामा बेरोजगार भएका छन् । अहिले वास्तवमा जुन स्थिति पैदा भएको छ, त्यसको प्रकृति तात्कालिन प्रकारको मात्र नभएर भविष्यमा पनि लामो समयसम्म त्यसको दुरगामी असर पर्नेछ ।

३. कोरोना भाइरसका कारणले विश्वव्यापी रुपमा आएका मन्दीले गर्दा विदेशमा काम गर्ने लाखौं नेपालीहरु बेरोजगार भएका छन् । लाखौं नेपालीहरु फर्केर आउनुपर्ने बाध्यता देखा परेको छ । नेपालका पिछडिएको आर्थिक अवस्थाका कारणल पहिले नै नेपालमा ठूलो संख्यामा मानिसहरु बेरोजगार थिए । विदेशबाट लाखौंको संख्यामा फर्केर आएका नेपालीहरुका कारणले बेरोजगारको समस्या अरु गम्भीर बन्ने कुरा प्रष्ट छ । अहिलेको कोरोना भाइरसको कारणले देखापरेको विश्वव्यापी आर्थिक संककट र लाखौँको संख्यामा नेपालीहरु देशमा नै फर्केर आउनु परेको अवस्थाले के कुरा स्पष्ट गरेको छ भने अन्तमा विदेशमाथि भर गरेर होइन, आफनो देशको विकास गरेर नै हाम्रा अस्तित्व कायम रहन सक्दछ । त्यो अवस्थामा हाम्रा नारा हुनुपर्दछः ‘देशमा नै बसौँ, देशलाई बनाऔँ’ । विदेशबाट ठूला सङख्यामा फर्केर आएका नेपालीहरुका कारणले विदेशमा खेर गएको श्रमशक्ति देशमा नै फर्केर आएको छ । त्यसलाई सदुपयोग गरेमा देशका आजको पिछडिएका अवस्थाले काचुली फेर्न सक्दछ । देशको विकासका लागि हाम्रो देशमा प्राकृतिक साधनहरुका कमी छैन । त्यसका लागि आवश्यक खर्च देशमा विभिन्न कोषहरुमा जम्मा भएको रकम वा आवश्यकता अनुसार विदेशबाट ऋण लिएर पनि जुटाउन सकिन्छ । आवश्यक ज्ञान वा साधनहरु विदेशबाट प्राप्त गर्न सकिन्छ । तर देशको विकासको लागि जनता र सरकार दुबैमा दृढ इच्छाशक्ति, सही योजना तथा तिनीहरुलाइै लागू गर्ने कार्यक्षमताको आवश्यकता पर्दछ ।

४. वास्तवमा आज देशका विकास हुन नसक्नु, देश परनिर्भर हुनु वा देशमा आयातमुखी अर्थतन्त्रको प्रमुखता हुनुका कारण हामीले देशका राजनीतिक व्यवस्था वा सरकारका नीति र कार्यक्रमहरुमा नै खोज्नु पर्दछ । अहिलेको राजनीतिक अवस्था कायम रहेमा अरु सय वर्षमा पनि देशको विकास हुनसक्ने छैन र समग्ररुपमा देशका स्थिति झन् पछि झन बिग्रँदै जानेछ । कोरोना भाइरसपछिको स्थितिले पनि देखाइसकेको छ, हाम्रो देशको राजनीति व्यवस्था वा सरकार र प्रसाशनका कार्यप्रणाली कति चिन्ताजनक अवस्थामा छ ? कोरोना भाइरसले पैदा गरेको संकटको कारणले जनता जीवन र मृत्युका मुखमा उभिएका छन् । तर त्यो अवस्थामा पनि सरकार, प्रसाशन र काला बजारिया व्यवसायीहरुले त्यो संकटबाट जनतालाई रक्षा गर्न तर्फ भन्दा पनि अप्ठयारो स्थितिबाट फाइदा उठाएर पैसा कमाउने तर्फ नै बढी ध्यान दिएको पाइन्छ । यो अत्यन्त गम्भीर र चिन्ताको विषय हो । त्यसकारण खाली आज कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि नियन्त्रणको लागि मात्र होइन, त्यसले ल्याउने दीर्घकालीन असरमाथि विजय प्राप्त गर्न, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न र देशको दिगो विकासको लागि आजको राजनीतिक अवस्थामा आमूल परिवर्तन आवश्यक भएको कुरा प्रस्ट छ । निश्चय नै त्यसप्रकारको आमूल परिवर्तनका लागि लामो समय लाग्दछ र त्यसका लागि हामीले कडा र लामो संघर्ष गर्नुपर्दछ । तैपनि कोरोना भाइरसले पैदा गरेको संकटमाथि विचार गरेर वा त्यसबाट पैदा हुने क्षतिलाई अधिकतम रुपमा नियन्त्रण गर्नका लागि वर्तमान राजनीतिक व्यवस्थामा तत्कालका लागि केही सुधार सबैतिरबाट, सबैतिर भन्नुका अर्थ हो जनता र सरकार दुवै तर्फबाट, कमसेकम प्रारम्भिक प्रकारका कदम चाल्नु आजको समयको माग हो ।

५. अहिले कोरोना भाइरसका कारणल देशका उद्योग, व्यापार, होटेल, पर्यटन, यातायात व्यवसाय आदि सबै क्षेत्रमा सांघातिक असर परेको छ । कृषि क्षेत्र पहिले देखि नै पिछडिएको वा सिमान्त प्रकारको छ । त्यो देशको अर्थतन्त्रको प्रधान पक्ष हो । बहुसंख्यक जनता त्यसमाथि नै निर्भर छन् । तर, एकातिर त्यसको सामन्ती र, अर्कातिर, पिछडिएका स्वरुपले गर्दा अर्थतन्त्रमा त्यसले कुनै खास टेवा दिन सक्ने सम्भावना देखिन्न । त्यो अवस्थामा कृषिको विकासका लागि त्यसको सामन्ती र पिछडिएका स्वरुपमा आमूल परिवर्तनकोे आवश्यकता छ । त्यसप्रकारको आमूल परिवर्तन नयाँ जनवादी वा समाजवादी क्रान्तिपछि नै सम्भव छ । नेपालको संविधानमा समाजवादउन्मुख राज्य निर्माणको कुरा गरिएको छ भने सरकारले पनि त्यसप्रति प्रतिवद्धता प्रकट गरेको छ । कमसेकम त्यो प्रतिवद्धतालाइ लागू गर्नमा पनि अहिले उद्योग र कृषिको विकास वा कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि नियन्त्रण गरेर देशको अर्थतन्त्रलाई अगाडि बढाउन केही न केही मद्दत पुग्ने थियो । तर सरकारका नीतिहरु बढी पुँजीवादी र यथास्थितिवादी प्रकारका नै छन् । कमसेकम, नेपालको संविधानले व्यवस्था गरे अनुरुप समाजवाद उन्मुख नीति अनुसार नीति र कार्यक्रम अपनाउन हामीले सरकारमाथि दवाव बढाएर लैजानु पर्दछ ।

६. अन्य देशहरुका अवस्थामाथि विचार गर्दा स्वास्थ्यको क्षेत्रमा कोरोना भाइरसले हाम्रो देशमा पु¥याएको क्षति अपेक्षाकृत कम छ । तर त्यसको संक्रमण लगातार बढ्दै गइरहको छ । त्यो एउटा प्राकृतिक समस्या हो, तर त्यो प्राकृतिक मात्र नभएर मानवीय समस्या हो । त्यसको व्यवस्था वा उपचारमा पर्याप्त ध्यान दिन सकेमा त्यसको असर कम हुन्छ, अन्यथा त्यो बढ्दै जान्छ । कोरोना भाइरससित सम्बन्धित समस्याका मानवीय समस्या जनतासित पनि जोडिएको छ । जनताले उच्च सतर्कता अपनाएमा वा नियममा बसेमा त्यसमाथि (कोरोना भाइरसमाथि) काफी हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर त्यो मानवीय समस्याको प्रधान र निर्णायक पक्ष सरकारले अपनाउने नीति, कार्यक्रमहरु तथा कार्यप्रणाली नै हो । तर यो वास्तविकता हो कि सरकार वा प्रसाशनको गलत नीति वा कार्यशैलीका कारणले त्यसमाथि जति नियन्त्रण गर्न सकिन्थ्यो, त्यो पनि हुन सकिरहेको छैन । त्यसको परिणामस्वरुप कारोना भाइरसले महामारीका रूप लिने कुरालाई पनि अस्वीकार गर्न सकिन्न । कोरोना भाइरसको अहिलेसम्मको प्रारम्भिक अवस्थामा पनि त्यसको व्यवस्था, क्वारेन्टिन, परीक्षण वा उपचार समेतबारे सन्तोषजनक रुपले काम हुन सकिरहेको छैन । यदि त्यसले महामारीको रुप लियो भने वा त्यो गाउँ–घरसम्म फैलिने हो भने त्यसले भयानक रुप लिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसकारण कोरोना भाइरसका समस्यालाई हल्कारुपमा लिनु सही हुने छैन । हल्कारुपमा लिँदा गम्भीर र दुरगामी दुष्परिणामहरु हुनेछन् । त्यसकारण त्यसप्रति गम्भीर हुनका लागि सरकारको विशेष ध्यानाकर्षित गराउनुपर्ने आवश्यक छ ।

७. कोरोना भाइरस खाली स्वास्थ्य सम्बन्धी समस्यामा मात्र होइन । पछि यसको अवस्था कम भयो भने वा त्यसमाथि नियन्त्रण गर्न सकियो भने पनि त्यसले आफ्नो पछाडि दुरगामी समस्या छाडेर जानेछ । शिक्षाको क्षेत्रमा त्यसले पु¥याएको असर सबैलाई थाहा भएको कुरा हो । विश्वविद्यालय, क्याम्पस, स्कुल आदि सबै बन्द भएका छन् । परीक्षाहरु स्थगित भएका छन् र लाखौंको सङख्यामा विद्यार्थीको पढाइ बन्द भएको छ । शिक्षाको क्षेत्रमा हुने यसप्रकारको क्षतिले तात्कालीन रुपमा मात्र होइन । भविष्यमा पनि ठुलो असर पु¥याउने छ । सरकारले वैकल्पिक रुपमा अनलाइन शिक्षालाई प्रोत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ । तर त्यो पनि प्रभावशाली हुन सकको छैन । प्रथम, सरकारको स्पष्ट नीति र निर्माणका अभाव, द्धितिय, शिक्षण संस्थाहरुको बढी व्यवसायी दृष्टिकोण र दूरवर्ती ग्रामीण क्षेत्र र विपन्न वर्गका विद्यार्थीहरुमा अनलाइन शिक्षाका लागि आवश्यक साधनहरुका कमीका कारणले पनि त्यो प्रणाली बढी प्रभावशाली हुने देखिन्न । यो स्थितिमा कोरोना भाइरसको कारणले लाखौं विद्यार्थीहरुको पढाइ बिग्रने मात्र होइन । उनीहरुको पढ्ने बानी बिग्रने तथा एउटा सिङगो पिँढीको भविष्यमा नकारात्मक असर पर्ने सम्भावनालाइ पनि अस्वीकार गर्न सकिन्न । त्यो स्थितिमाथि कसरी नियन्त्रण गर्ने ? त्यसबारे सरकार र शिक्षाविदहरुको समेत ध्यान जानुपर्ने आवश्यकता छ ।

८. कोरोना भाइरसका कारणले खाली कोरोनाद्वारा संक्रमित व्यक्तिहरुको स्वास्थ्यमा मात्र होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरुका विरामीहरुका उपचारमा पनि बाधा पुगिरहेको छ । देशका धेरै अस्पतालहरुमा अन्य रोगहरुको उपचारमा कमी आएको छ । प्रथमतः धेरै दुरवर्ती र ग्रामीण क्षेत्रहरुमा अस्पताल नै छैनन् । केही मात्रामा भएका पनि तिनिहरुमा चिकित्सक वा साधनहरुको अत्यन्त कमी छ । त्यसले गर्दा देशव्यापी रुपमा नै स्वास्थ्यको एउटा गम्भीर समस्या देखापरेको छ । त्यसकारण स्वास्थ्यका त्यो समस्यालाइ समाधान गर्न सरकारले विशेष ध्यान दिनपर्ने आवश्यकता छ ।

९. कोरोना भाइरसले पैदा गरेको संकटको बेलामा शिक्षण र स्वास्थ्य सम्बन्धी निजी संस्थाहरुले शिक्षा र स्वास्थप्रति बढी ध्यान दिन भन्दा आफ्नो नाफाबारे नै बढी ध्यान दिएका पाइयो । त्यसबाट शिक्षा र स्वास्थ्य दुवैमा भएको निजीकरणलाई समाप्त गरेर तिनीहरुलाई सरकारी क्षेत्रमा लैजानुपर्ने आवश्यकता भएको कुरा पहिले भन्दा बढी महसुस भएको छ । तर त्यसका साथै सार्वजनिक क्षेत्रमा शिक्षा र स्वास्थ्यको स्तरलाई माथि उठाउन पनि विषेश ध्यान दिनुपर्ने आवश्यकता छ ।

१०. कोरोना भाइरसका कारणले देशमा जुन चौतर्फी क्षति पुगेको छ, त्यो क्षतिलाई दीर्घकालीन योजनावद्ध प्रयत्नद्वारा नै पूरा गर्न सकिन्छ । त्यसका लागि मुख्य जिम्मेवारी सरकारको नै हुन्छ । तर अहिले तात्कालीन रुपमा पनि कोरोना भाइरसको व्यवस्थापनको लागि सरकारले सन्तोषजनक प्रकारले काम गर्न सकिरहेका छैन । त्यो अवस्थामा कोरोना भाइरसले पैदा गरेको विकराल र दीर्घकालीन प्रकारका समस्याको समाधानका लागि सरकारले प्रभावशाली प्रकारको नीति र कार्यक्रमहरु अपनाउने छ वा प्रभावशाली प्रकारले काम गर्ने छ भनेर आशा गर्नको लागि कमै आधार छ । त्यो अवस्थामा जनताका उच्चप्रकारको चेतना तथा सरकारमाथि व्यापक जनदवावबाट नै हामील देशलाइ सही र उन्नत दिशामा अगाडि बढ्न सक्नेछौं ।

११. सरकारका नीति कति गम्भीर प्रकारको गैरजिम्मेवार छ, यो कुरा चीनबाट स्वास्थ्य सामग्रीहरु किन्दा देखाइएका अनियमितता र भ्रष्टाचारका उदाहरणबाट पनि प्रष्ट हुन्छ । कोरोना भाइरसले पैदा गरेको सङकटका कारणले जनता जीवनमरणको मुखमा उभिएका बेलामा नाफाखोर र काला बजारीयाहरुसित मिलेर गरिएका कमिसनखोरी, अनियमितता वा भ्रष्टचार गम्भीर प्रकारको अपराधजन्य कार्य नै हो । सरकारले त्यस प्रकारका अपराधजन्य कार्यको कडाइपूर्वक छानविन गर्ने र तिनीहरुमाथि नियन्त्रण गरेर होइन कि त्यसप्रकारका कार्यहरुलाइ संरक्षण गर्ने गरेको कार्यले स्थितिको गम्भिरतालाई नै बताउँछ ।

१२.अहिले विश्वव्यापीरुपमा कोरोना भाइरस फैलिएको अवस्थामा पँुजीपतिहरुले जनताको सेवा वा अहिले सङकटबाट उन्मुक्ति भन्दा आफनो नाफा तथा कालोबजारीमा नै बढी ध्यान दिएको पाइयो । त्यसबाट पनि पुँजीवाद, समाज वा जनताको लागि उपयुक्त व्यवस्था नभएका र समाजका व्यापक हितका लागि समाजवादी व्यवस्था आवश्यक भएको कुरा झन छर्लङग भएको छ । त्यस सन्दर्भमा नेपालबाट पनि हामीले नयाँ प्रकारले सोच्नुपर्ने आवश्यकता रहेको छ । अहिले देशमा कायम भएको लोकतन्त्र वा गणतन्त्र, राजतन्त्र वा कुनैपनि प्रकारको तानाशाही व्यवस्था भन्दा प्रगतिशील र श्रेयष्कर व्यवस्था भएको कुरा प्रस्ट छ । तर त्यो अस्थायी कुरा हो । व्यवहारले बारम्बार बहुदलीय वा संसदीय व्यवस्था अन्तर्गत जनताका आधारभूत समस्याको समाधान नहुने वा देशको दिगो विकास हुन नसक्ने कुरा प्रष्ट भएको छ । त्यो अवस्थामा देशमा विद्यमान अहिलेको अर्थसामन्ती र अर्धऔपनिसेविक व्यवस्थामा आमूल परिवर्तन गरी नयाँ जनवादी व्यवस्था कायम गर्ने कुरा छर्लङग भएको छ । हामीले ती दीर्घकालिन वा आधारभूत प्रकारका आवश्यक जनचेतना प्रस्तुति र आधार तयार पार्न प्रयत्न गर्नुपर्दछ । तैपनि तात्कालीन रुपमा वर्तमान राजनीतिक व्यवस्थामा भएका कमीहरुमा सुधारका लागि बढी भन्दा बढी प्रयत्न गर्दै कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि नियन्त्रण गर्न र त्यसल पैदा गरेका दीर्घकालिन समस्याहरुको समाधानका लागि सबै सम्भव तरिकाले प्रयत्न गर्दै जानुपर्दछ ।
धन्यवाद ।

(अखिल नेपाल बुद्धिजीवि संघ, रुपन्देहीद्वारा ‘कोरोना महामारीका वर्तमान अवस्था र त्यसले शिक्षा लगायत अन्य क्षेत्रमा पार्ने दीर्घकालीन असर’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्धारा तयार पारिएको अवधारणापत्र)