काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक नजिक चिनियाँ जनमुक्ति सेनाले झण्डै एक हजार सैनिक परिचालन गरेपछि भारतलाई ठूलो झट्का लागेको छ । भारत र चीनबीच लद्दाखको पूर्वी क्षेत्रमा पर्ने वास्तविक नियन्त्रण रेखामा जारी विवाद सल्टिन नपाउँदै चीनले लिपुलेक नजिक सैन्य गतिविधि बढाएको छ ।

भारतीय मिडियाले लिपुलेकमा चीनको सैन्य गतिविधिलाई भारतीय रेलसँग जोडेर प्रचार थालेका छन् । इण्डिया टुडेलगायत भारतका प्रमुख सञ्चारमाध्यमले लिपुलेक नजिकै चीनले ठूलोमात्रामा सैन्य गतिविधि गर्न थालेको समाचार प्रकाशन गरेका छन् ।

भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरेको छ । अतिक्रमित क्षेत्रबाट भारतले सडक निर्माण गरेपछि नेपाल-भारत सम्बन्धमा संवादहीनता देखिएको छ ।

यहीँबीचमा चीनले नेपालको लिपुलेक नजिकै आफ्नो क्षेत्रमा सैनिक परिचालन गरेको छ । सैनिक परिचालनको खबरपछि भारतीय मिडियाले प्रमुख प्राथमिकता दिएर समाचार बनाएका छन् ।

लिपुलेक प्रकरणसँगै नेपालमा रेल ल्याउने चिनियाँ सञ्चारमाध्यमको समाचारले भारतको टाउको दुखेको छ । चीनले ल्हासाबाट काठमाडौंसम्म झण्डै ३६ सय करोड डलरको लागतमा रेल्वेलाइन बिस्तार सुरु गरेको आजतकले जनाएको छ ।

चीनले विकास युद्ध सुरु गरेको भन्दै आजतकले चीनको रेल काठमाडौं र बुद्धको जन्मस्थल लुम्बिनीसम्म पुग्ने जनाएको छ । भारतले रेल परियोजनालाई आफूविरुद्धको युद्धको रुपमा बुझ्ने गरेको छ ।

भारतीय मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी चीनले बचाइदिएको भन्दै नेपाल चीनको इसारामा चल्न थालेको टिप्पणी गरेका छन् । सामरिक महत्वको भूमि नेपालमा चीनको उपस्थिति र भारतको सीमा क्षेत्रको ढोकासम्म चिनियाँ रेल आउनु भारतका लागि ठूलो व्यापार युद्ध हुने भारतीय दावी छ ।