काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

आइतबार बिहान बालुवाटारमा अध्यक्षद्वय छलफलमा जुटेका हुन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।

प्रचण्डले नेता खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पौने दशबाट सुरु भएको हो ।

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै छलफल भएको थियो ।

उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरेपछि प्रचण्ड र झलनाथ ओलीसँग छलफल गर्न र बैठकमा सहभागी हुन अनुरोध गर्न पुगेका थिए ।

तर ओलीले बैठक स्थगित गरिसकेका कारण उपस्थित हुन नसक्ने बताएका थिए ।

ओली सहभागी नभएपनि प्रचण्ड माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यका नेताहरु बैठक बसेका थिए ।

उक्त बैठकले प्रचण्डलाई ओलीसँग थप छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उनको राजीनामा मागेको छ।

जारी स्थायी कमिटी बैठक पनि उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ।