सिद्धार्थ राजमार्गकाे तानसेन-बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले शुक्रबार राती १०ः३० बजे गौडे पुलमा पहिरो खसेकाे बताए । उनले साे स्थानमा रहेका सवारीसाधजन बचाइ ब्याक गर्ने क्रममा नाला मा फसेको लु १ क ११७५ नम्बरकाे ट्रक पूनः पहिरो आइ पुरिएको अवस्थामा रहेको बताए ।

माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सुचार गर्न केही समय लाग्ने बताए । बिहिबार र शुक्रबार पनि पहिरो सफा गरेकाे र याे पहिराे खस्ने क्रम नराेकिएकाेले जोखिम भने कायमै रहेको उनले बताए ।

उनले भने, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ ।’ राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट पाच दिनअघि पनि पहिरो खसेर एक दिन पूरै अवरुद्ध भएको थियो ।

बुटवलबाट पाल्पातर्फ अाउँदै गरेका यात्रु इश्वर काफ्लेले जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै रहेकाे र पहिराे सफा गर्न २ दिन लाग्न सक्ने देखिएकाेले अाफूहरू बुटवलतर्फ नै फर्किएकाे बताए । ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने यहाँको यात्रा कठिन हुनसक्छ ।’