नेपाली कांग्रेसमा केही समय मत्थर भएको गुट विवाद फेरि बल्झिएको छ।

गत पुस ११ गते सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा आफ्नो कार्यकाल एक वर्ष बढाउँदै १४ औं महाधिवेशन फागुन ७ देखि तोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले फरक मत राखेका थिए।

उक्त विवाद मिलाएर सहमतिमै महाधिवेशन कार्यतालिका जारी भइसकेको छ। अहिले फेरि गुट विवाद बल्झिनुमा अनुशासन समितिले गरेको कारबाहीलाई लिएर हो। सभापति देउवाले आफ्ना विरोधीलाई छानिछानी अनुशासन समितिमार्फत् कारबाही गरेको पौडेल पक्षको आरोप छ।

अनुशासन समितिले बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई कारवाही तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट छ। पौडेल पक्षले बुधबार यसबारे आफू निकटका नेतासँग अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा छलफल गरेका थिए।

उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै सापकोटाले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धीका प्रावधानबारे फेसबुकमा स्टाटस लेखेको आरोपमा अनुशासन समितिमा उजुरी रहेको स्रोतको भनाइ छ।