–
खोइ कता हरायो सुरक्षा ?
सामिप्यता अनि भावनाहरू
सेकेन्डमै टुक्रिएका छन् त
सदियौं देखिका कामनाहरू
विश्वासको दियो कहाँ रह्यौ र
पोखिएकै छन त तेलहरू
चुडिएकै छन त बात्तिहरू
क्षण क्षणमै निभिरहेका छन् त भरोसाहरू
फुल बनी सुगन्ध छर्न नपाउँदै
निमुठिएका छन् यहाँ कोपिलाहरू
लुटिएका छन् यहाँ बासनाहरू
छेकिएका छन् यहाँ प्रकाशहरू
स्वतन्त्र पंक्षी बनी उड्न खोज्दा
भाँचिए यहाँ पँखेटाहरू
डामिए यहाँ पैतालाहरू
लगाइए यहाँ पर्खालहरू
बेसाहारा भई जीवन जिउँदै गर्दा
गरिएकै छन् तिखा प्रहारहरू
जिउँदै जलाइएका छन् चिताहरू
जताततै हेरिरहेछन् रमिताहरू
खोई कता हरायो सुरक्षा ?