नेपालमा विगत २४ घण्टामा थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९,०२६ पुगेको छ।

तीमध्ये १,७७२ ना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।

विगत २४ घण्टामा कुल १९४ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले बताए।

उनका अनुसार गुल्मीमा भारतबाट उपचार गराई फर्किएर होम क्वारन्टीनमा बसेका एक व्यक्तिको मृत्यु भएपछि परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको छ।

ती व्यक्ति जेठ २५ गते फर्किएको र उनको असार ५ गते निधन भएको डा. गौतमले बताए। उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ।

 

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।

असार ४ गते सर्वाधिक ६४१ जनामा कोरोनाभाइरस फेला परेको बताएको थियो।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,००८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,७५,१७३ पुगेको छ।

अहिलेसम्म ७५ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ९४,९२८ जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार ७ गते आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ९,०२६कुल सङ्क्रमण
  • ७५प्रभावित जिल्ला
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ६,००८
  • चिकित्सकीय निगरानीमा अलग्गै७,२३१
  • देशभरि क्वारन्टीनमा९४,९२८
  • अहिलेसम्म निको१,७७२

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरूमध्ये ६४ महिला र २५७ पुरुष भएको मन्त्रालयले जनाएको छ।

अर्घाखाँची, डडेलधुरा, डोटीक, कैलाली, कपिलवस्तुका, नवलपरासी पश्चिम, प्युठान, सिराहा र बागलुङ जिल्लामा सर्वाधिक सङ्क्रमित फेला परेका हुन्।

अहिलेसम्म पुष्टि भएका कुल सङ्क्रमितमध्ये झन्डै ९० प्रतिशत (८,२०६) जना पुरुष र बाँकी ८२० जना महिला छन्।

मन्त्रालयले आयोजना गरेको प्रेस ब्रीफिङमा बोल्दै विशेषज्ञ डा. वासुदेव पाण्डेले ९५ प्रतिशत सङ्क्रमित भारतबाट आएको जानकारी दिए। तीमध्ये ९२ प्रतिशत पुरुष छन्।

सङ्क्रमितमध्ये अधिकांश १५ देखि ५४ वर्ष उमेर समूहका भएका र ९८ प्रतिशतमा कोभिड-१९को लक्षण नै नदेखिएको उनले बताए।

उनका अनुसार अहिले छ दिनदेखि ८ दिनमा सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम चलेको छ।