काठमाडौं : निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेट्न भएको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।

बिहीबार राष्ट्रियसभामा संविधान संशोधन विधेयकको पक्ष र विपक्षमा मतदान भएको हो।मतदानपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको घोषणा गरेका हुन्। प्रस्तावको पक्षमा ५७ मत परेको छ।

अब राष्ट्रियसभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई पठाइनेछ। दुवै सदनबाट पारित भएपछि सभामुखबाट प्रमाणित गर्नेछन्। त्यसपछि यसलाई अन्तिम प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ। सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले  जेठ ३१ गते सर्वसम्मत पारित गरेको थियो । संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। राष्ट्रियसभाबाट पारित भएसँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। शनिबार प्रतिनिधिसभामा उपस्थित सबै सांसदले नयाँ नक्साको पक्षमा मत दिएका थिए।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८३ मत आवश्यक पथ्र्यो। तर, नयाँ नक्साका पक्षमा बैठकमा उपस्थित २ सय ५८ जनै सांसदले मत दिएका थिए।

सुदूरपश्चिमको दार्चुला जिल्लाका कालापानी, लिपुलेक र कालापानी क्षेत्रमा भारतले सैन्य अखडा जमाएर राजनीतिक र प्रशासनिक हस्तक्षेप गरिरहेको छ। नेपालको भूमिमा सडक बनाउने र नेपाली भूमि समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो।

नयाँ नक्सा अनुसारको संविधानको अनुसूचीको नक्सा अद्यावधि गर्न जेठ ९ मा सरकारले संशोधन विधेयक दर्ता गरेको थियो। मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रियता र सार्वभौमिकताको पक्षमा एक ठाउँमा रहेको सन्देश दलहरूले दिएका छन्। उनीहरूले भारतसँग कूटनीतिक वार्ता र राजनीतिक वार्ताका लागि सरकारको ध्यानाकर्षण गरेका छन्।