विष्णुप्रसाद आचार्य “अतृप्त”

सायङकालीन दृश्य/ परिदृश्यहरूमा
उन्मत्त बैँसले तरङ्गित भावनाहरू
छताछुल्ल पोखिन खोज्छन् ।

मेरो माथिङ्गलको एरियल
प्रकृतिको पोल्टाबाट
साकार र वास्तविक आकृतिहरू
हृदयको स्क्रीनभरि कुुँदछ ।

शब्द चित्रहरू
भित्रभित्रै निसासिन्छन्
गुम्सिन्छन् / गाँठा पर्छन्
विवश कलम
कुलाको डोब खनेर
कविता प्रवाहित गर्दै
साहित्यको गरो सिंचने दुस्साहस गर्छ
तर
बेलाबेलामा ठप्प रोकिन्छ
बजेट निखृएको अधुरो योजनाझैं ।

म आफूलाई
सकेसम्म रित्याउन चाहन्छु
कलम लोलाएर
सन्नाटामा बल्छी फ्याँक्छ
फेरि
भावनारूपी माछाहरू
खाताखात अल्झन्छन्
मभित्र देखि घचेट्छु
ऊ बाहिरसम्म तान्छ
एकाएक प्रस्फुरित धाराप्रवाहमा
तैरिदै फुरूङ्ग हुन्छु ।

फेरि
कोलाहलको गोलो खनिन्छ
कल्पनाहरूमा कर्फ्यु लाग्छन्
अनि फेरि
पहिले जस्तै
गुम्सिन्छन्, गाँठा पर्छन्
खजमजिन्छन्
आत्माको कम्पाउण्डभित्रै थुनिएर
गर्भमै तुहुन्छ्न मेरा कविताहरू ।