विमल शर्मा
पार्टी सदस्यहरूको कामबारे स्तालिनले स्पष्टसँग उल्लेख गर्नुभएको छ  “कम्युनिष्ट पार्टी शिक्षाको पाठशाला हो र हुनुपर्दछ ।” “प्रत्येक पार्टी सदस्यहरू पार्टीको दैनिक काममा सक्रिय हुँदैनन् भने यही नै पार्टीको ठूलो कमजोरी हो । यसैबाट उसको विकासको आधार निरन्तर अनिश्चिततातर्फ बढ्दै जान्छ ”। “कम्युनिष्ट पार्टीलाई समर्थन गर्नु सिद्धान्त र कार्यक्रमलाई स्वीकार गर्नुको अर्थ कम्युनिष्ट बन्न इच्छा गर्नु मात्र हो र त्यो सानो काम हो ।” सिद्धान्त र कार्यक्रमलाई स्वीकार गर्नु सानो काम हो । सिद्धान्त स्वीकार गरेर मात्र पुग्दैन । त्यसलाई व्यवहारमा लागू गर्ने बारेमा जोड दिनुभएको छ । यदि पार्टी सदस्यहरू दैनिक काममा सक्रिय हुँदैनन् भने यो पार्टीको ठूलो कमजोरी हो भनेर उल्लेख गर्दै पार्टी सदस्यहरू सक्रिय र निष्कृयताले नै पार्टीको विकास र विनाशबारे आधार तयार पार्दछ भन्नु भएको छ ।

पार्टी सदस्यहरूले जान्नुपर्ने कुरा के हो भने सही सिद्धान्त र राजनीतिले सबै कुराको फैसला गर्दछ । तर सिद्धान्तलाई स्वीकार गर्नुमात्र कुनै ठूलो कुरा होइन । पार्टीले तयार गरेको सिद्धान्त र कार्यक्रमलाई ठीक छ भनेर प्रायजसो स्वीकार गर्ने गरिन्छ । तर त्यसलाई व्यवहारमा लागू गर्न पार्टी सदस्यहरू नै अगाडि नबढेको कारण लागू गर्न सकिने साधारण कामहरू पनि असफल हुने गर्दछन् । त्यसैले स्तालिनले बताउनु भएको प्रत्येक पार्टी सदस्यहरू दैनिक काममा सक्रिय हुँदैनन् भने यसैबाट उनको विकासको आधार अनिश्चिततातर्फ बढ्दै जान्छ भन्ने भनाइले पार्टी सदस्यहरूको सक्रियताले कति महत्व राख्दछ ? त्यसबारेमा उनीहरूले गम्भीर विचार गर्नुपर्दछ ।

आम जनताहरूले सही राजनीति र दृढ अडान भएको पार्टीको अवस्था किन सधैँ कमजोर रहन्छ भनेर बुझ्न चाहन्छन् । त्यो कुरा सही हो कि सही सिद्धान्त र राजनीति हुँदा हुँदै पनि पार्टी किन बलियो हुँदैन ? आम जनताले गर्ने अपेक्षा राम्रो भएपनि उनीहरू त्यसमा तुरून्त सामेल हुँदैनन् । त्यसको अर्थ हो आन्दोलन र परिवर्तनबारे उनीहरूलाई सङ्गठित गर्ने र सङ्घर्षको साथ साथै सिद्धान्त र राजनीतिमा उनीहरूलाई प्रशिक्षित गर्नुपर्दछ । उनीहरूलाई सङ्गठित गर्न सर्वप्रथम पार्टी सदस्यहरूको कर्तव्य हुनजान्छ । त्यस प्रकारको कामको उल्लेख गर्दै स्तालिनले पार्टी सदस्यहरूको पहिलो काम के हो भन्नेबारे लेनिनवादका आधारहरूमा बताउनु भएको छ, “कम्युनिष्ट पार्टी शिक्षाको पाठशाला हो, प्रत्येक पार्टी सदस्यहरू दैनिक काममा सक्रिय हुनुपर्दछ प्रत्येक सदस्यहरूले केही न केही पार्टीको कामको जिम्मा लिनु पर्दछ, निर्धारित शुल्क नियमित तिर्नुपर्दछ, पार्टी अखबार पढ्नु पर्दछ, आफ्नो कमिटिको बैठकमा अनिवार्य उपस्थित हुनुपर्दछ” आदिबारे स्पष्ट गर्नुभएको छ । त्यतिमात्र होइन आन्दोलनलाई आफ्नो हातमा लिन बल प्रयोग गरेर होइन आफ्नो प्रतिष्ठा, स्फूर्ति, अनुभव र क्षमताको आधारमा काम गर्नुपर्छ” भनेर जोड दिनुभएको छ ।

जब पार्टी सदस्यहरूले आफू वरिपरिका आम जनतालाई सङ्गठित गर्नेबारे ध्यान दिदैनन् सबै एकैचोटी सङ्गठित हुन सक्दैनन् भन्ने कुरा बुझ्दैनन, आफू वरिपरिकाहरूलाई सङ्गठित गर्नेबारे सिद्धान्तमा आस्था राख्ने र त्यसबाट प्रेरणा लिने व्यक्तिहरूलाई परिचय गर्न सक्दैनन् आन्दोलनबारे परिचित भएको साथै गलत बाटोबारे जानकारी गराउने र त्यस्तो जानकारी भएको व्यक्तिलाई पार्टी सेल कमिटिमा राख्नेबारे ध्यान पुर्‍याउँदैनन् भने उनीहरू सक्रिय हुन सक्दैनन् । जतिबेलासम्म वर्गसङ्घर्षको काममा उनीहरू सक्रिय हुँदैनन् त्यतिबेलासम्म कठिन परिश्रम गरेर त्यसकाममा लाग्नु पर्दछ । अर्कोतिर प्रत्येकसेल कमिटिहरूलाई वर्गसङ्घर्षको काममा सक्रिय बनाउनेबारे पनि जोड दिनु भएको छ । जतिबेलासम्म “प्रत्येक सेल कमिटि (इकाई, फ्याक्सन या कार्यकर्ता) सक्रिय हुँदैनन र त्यसकाममा लाग्दैनन् त्यतिबेलासम्म क्रान्तिकारी काम हुन सक्दैन” भनेर जोड दिनुभएको छ ।

पार्टी सदस्यहरूले आफू पार्टी सदस्य बन्नुपूर्व र सदस्य बनेपछि जुन काम गरेर सक्रिय अनुशासित भएर सदस्य बनेको छ, सदस्य बनेपछि उक्त सक्रियता र अनुशासनलाई अरू मजबूत बनाउनुपर्ने आवश्यकता हुन्छ । तर प्रायशः के गर्ने गरिन्छ भने सक्रियता र अनुशासन अरूलाई लागू गर्ने विषय बनाएर आफूहरू त्यसबाट पन्छिने गलत बानी र व्यवहारले अवश्य पनि पार्टीलाई बलियो बनाउँदैन । सिद्धान्तका ठूला ठूला कुरा गर्ने, आफूले पहिले गरेका कामको उदाहरण दिने, अब कति गरिरहनेजस्ता निष्क्रिय भावनाहरूको उल्लेख गरेर आफूले गरिसकेको र अरूले गर्नुपर्ने बताउने विचार र व्यवहारले पार्टी कमिटि र क्रान्तिकारी आन्दोलनलाई क्षति पुर्‍याउँछ । स्वयं उ व्यक्ति क्रान्तिकारी त देखिन्छ तर काममा केही पनि विकास हुँदैन । त्यस्ता विचार र प्रवृत्तिका विरुद्ध सङ्घर्ष नगरेसम्म पार्टीको निष्क्रिय अवस्थालाई सक्रिय पार्न सकिंदैन । यहाँ सङ्घर्ष गर्नुपर्दछ भन्नुको अर्थ अर्को व्यक्तिका विरुद्धभन्दा पनि निष्क्रियहरूलाई आलोचना गर्दै स्वयं व्यक्तिले जिम्मेवारी पूरा गर्ने हैसियतले काम गर्नुपर्दछ । जतिबेलासम्म ती कार्य हुँदैनन त्यतिबेलासम्म कठिन परिश्रम गरेर त्यसमा लाग्नुपर्दछ ।

पार्टी सदस्यहरूको कामको बारेमा स्तालिनले “विचारधारात्मक सङ्घर्ष र त्यसलाई व्यवहारमा प्रयोग गर्नको लागि सङ्घर्ष गर्नु सबै पार्टी सदस्यहरूको काम हो” भनेर बताउनु भएको छ । विचारधारात्मक सङ्घर्ष भन्नाले अवश्य पनि आफ्नो पार्टीको नीतिबारे निर्णयहरू तय गर्ने बेलामा व्यापक छलफल गर्ने र निष्कर्ष निकाल्नेबारे लक्षित गर्नु भएको छ । नीति निर्णय गर्दा बिना छलफल उसका सकारात्मक र नकारात्मक पक्षहरूकाबारे विवरण प्रस्तुत नगरी हल्का तरिकाले स्वीकार गर्ने पद्दतिहरूले अवश्य पनि पार्टीलाई ठीक ठाउँमा पुर्‍याउँदैन । नीति निर्णय गर्दा छलफल नगर्ने र नबुझ्ने गर्नाले त्यसलाई व्यवहारमा लागू गर्न अप्ठ्यारो पर्दै जान्छ । पहिला आफैले नबुझेपछि अरूलाई बुझाउने कुरा धेरै टाढाको कुरा हुन जान्छ । स्तालिनले त यहाँसम्म औलाउनु भएको छ कि “पार्टीमा कहिलेकाहीं मात्र काम हुने गर्दछ । यहाँसम्म कि पार्टी सदस्यहरूलाई पार्टीको विधान पनि राम्ररी थाहा छैन भने उसले आफ्नो कर्तव्य बुझ्न सक्दैन ।”
पार्टीसदस्य बन्नको लागि सर्वप्रथमत पार्टी विधान पढ्न अवश्य पनि अनिवार्य शर्त हो । तर कहिलेकाहीं के गरिन्छ भने पार्टी सदस्यले आफ्नो लक्ष्य के हो, आफूले मासिक रूपमा तिर्नुपर्ने आर्थिक सहयोग कति हो वा कुन कुरा कुन व्यक्तिसँग गर्न हुन्छ वा हुँदैन अनुशासन भनेको के हो ? यहाँसम्म कि आम व्यक्ति र पार्टी सदस्यहरूका बीचको अन्तरलाई छुट्टाउन नै सकिंदैन । आफ्नो कर्तव्य बुझ्न नसक्नेहरूलाई पनि हामीले पार्टी सदस्य मानिरहेका हुन्छौँ । अर्कोतिर पार्टी सदस्य बनाउन अपनाइने विषयमा पनि माथिबाट ती व्यक्तिहरूलाई जानाकारी गराउने प्रशिक्षित गर्ने र विधान पठाउनेसम्म नगरिकन उसलाई पार्टी सदस्य बनाउन सिफारिस गर्ने गरिन्छ । त्यसले पनि पार्टीको क्रान्तिकारी स्पिरिटलाई कमजोर बनाइदिन्छ ।

पार्टी सदस्यहरूको कामको बारेमा स्वयं उनीहरूले बुझ्न नसकेपछि आफ्नो पार्टीको विरुद्धमा अपनाइने सबै प्रकारका षडयन्त्रहरूलाई पनि उसले बुझ्न सक्दैन । गाउँघर, इष्टमित्र, नातेदारहरूका अगाडि सबै सामान्य जस्ता लागिरहेका हुन्छन् । तर पार्टीलाई असर पर्ने र स्वयं व्यक्तिलाई निष्क्रिय बनाउने विषयवस्तुहरूले उसलाई घेरीरहेका हुन्छन् । त्यसबारेमा पनि त्यो पार्टीसदस्य सचेत हुन सक्दैन भने पार्टीका आन्तरिक कुरा आफ्ना विरोधि वा शत्रुसँग पुगिरहेको हुन्छ । त्यसैले पार्टी सदस्यहरूले आफ्नो विचारलाई स्पष्ट राख्न आफ्ना विचारहरूलाई सम्बन्धित आफ्ना कमिटिहरूमा र उपल्लो कमिटिमा नियमित रूपमा रिपोर्ट गरिरहनु पर्दछ । साना साना कामहरूको रिपोर्ट पनि उपल्लो कमिटिमा पठाउने विषयमा ध्यान दिनुपर्दछ । तलका रिपोर्टहरूमाथि र उपल्लो कमिटिमा पठाउने र माथिल्लो कमिटिका निर्णयहरू तल्लो कमिटिमा पठाउने कुरालाई पनि नियमित रूपमा सञ्चालन गर्नुपर्दछ । रिपोर्ट पठाउने बारेमा स्तालिनले के बताउनु भएको छ भने “सानो कामको पनि पार्टीमा रिपोर्ट हुनुपर्दछ, रिपोर्ट पठाउने काम यति व्यवस्थित हुनुपर्दछ कि परम्पराबाट लागू हुँदै आएको प्रणाली हो भन्ने सम्झेर प्रत्येक कमिटिले आफ्नो उपल्लो कमिटिमा रिपोर्ट पठाउने गर्नुपर्दछ ।” तर हाम्रा आनीवानीहरू यस्तासम्म छन् कि माथिल्लो कमिटिले जारी गरेको निर्देशिका वा परिपत्रलाई समेत सेलकमिटिसम्म पठाउने गरिदैन । अर्कोतिर तल्ला कमिटि वा पार्टी सदस्यहरूले तल्ला कमिटिमा भएका सकारात्मक वा कुनै नकारात्मक विषयहरूबारे उपल्लो कमिटिमा पठाएमा गल्ती हुने वा तलका विषय थाहा पाएर आफूलाई कमजोर ठान्दछन् भनेर कैयौँ विषयहरू थाहा नदिने गर्नाले पार्टीको उपल्लो र तल्लो कमिटिका बीचमा खाडल देखापर्दछ । खास गरेर तल्ला कमिटि वा पार्टी सदस्यहरूले आफूले गरेका कामहरूबारे जानकारी नदिने र ती कामहरू बिग्रीसकेपछि पार्टीले हेर्दिएन भनेर पार्टीप्रति नकारात्मक धारणा बन्दै जाने हुनाले आफ्ना रिपोर्टहरू उपल्लो कमिटिमा पठाउनेबारे पार्टी सदस्यहरू सचेत हुनुपर्दछ । यहाँसम्म कि कैयौँ यस्ता घटनाहरू पनि पाइन्छन् विरोधी पार्टीको विचारलाई आफ्नो पार्टीमा प्रसारण भइरहेको छ । विभिन्न विकासका कामहरूमा अनियमितता भइरहेको छ । उसलाई सामान्य आलोचना त गरिन्छ तर आफ्नो नजिकको र लामो समय काम गरेको मायाले बिग्रन्छ कि भन्ने डरले रिपोर्ट गर्ने गरिन्न । उ बिग्रीसकेपछि वा काम बिग्रेपछि मात्र रिपोर्ट पठाउने गर्नाले त्यसलाई समाधान गर्न नसकिने हुनसक्दछ । त्यसको लागि रिपोर्टको नियमिततालाई परम्पराबाट लागू हुँदै आएको प्रणाली सम्झेर काम गर्नुपर्ने विषयमा जोड दिनुपर्दछ । रिपोर्ट पठाउने प्रणाली लागूगर्दा के विषयमा ध्यान दिनुपर्दछ भन्नेबारे पनि स्तालिनद्वारा जोड दिंदै भन्नुभएको छ, “सङ्गठनमा कामगर्दा भएको अनुभवको आधारमा सङ्गठनलाई क्रान्तिकारी परिवर्तनतर्फ उन्मुख र सुधारको लागि प्रयोग गर्न सकिने होस् ।” त्यतिमात्र होइन “रिपोर्ट दिंदा विरोधी सङ्गठनहरूको अवस्था, निम्न पूँजीपतिवर्गका सङ्गठनहरूको बारेमा पनि रिपोर्ट पठाउन छुटाउनु हुँदैन ” भनेर जोड दिनु भएको छ ।

क्रान्तिकारी पार्टी निर्माणको समस्यालाई सबै पार्टी सदस्यहरूले समयमा नै ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसको लागि सबैमाथिदेखि तलसम्मका पार्टी सदस्यहरूले आफ्नो विचारलाई स्पष्ट पार्दै काममा सक्रियता र जिम्मेवारीलाई पूरा गर्ने दिशामा ध्यान दिएपछि नै क्रान्तिकारी पार्टीको निर्माण हुँदै जानेछ ।