नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा प्रधानमन्त्री फेर्न भारतले नेपाली भूमि मिचेर आफ्नो नयाँ नक्सा जारी गर्नुका साथै नेपाली भूमिमा सडक उद्घाटन गरेर धुवाँको पर्दा बनाएको हुनसक्ने बताउनुभएको छ ।
बुधबार सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा सञ्चारकर्मी प्रकाश गिरीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा समस्याबारे सबै पूर्वप्रधानमन्त्रीहरू जिम्मेवार भएको बताउनुभयो ।
“पूर्वप्रधानमन्त्रीहरूले आ–आफ्नो कार्यकालमा भारतसँगको सिमाना व्यवस्थित गर्न पहल गरेको भए आज यो समस्या आउने थिएन”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कालापत्थरमा गएर मन्त्रिमण्डलको बैठक बसेजस्तै भारतले अतिक्रमण गरेको क्षेत्र लिम्पियाधुरामा गएर मन्त्रिमण्डलको बैठक बस्नुपर्ने बताउनुभयो ।
देशको रक्षाको लागि सेना र स्वयम्सेवकहरूको सङ्ख्या बढाउनुपर्नेमा जोड दिँदै उहाँले अनिवार्य सैनिक तालिमको बन्दोबस्त गर्नुपर्ने कुरा पुनः दोहो¥याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सेनाको सङ्ख्या घटाउने विचारप्रति विमति राख्दै भन्नुभयो, “देश सानो हुँदैमा कमजोर हुने गर्दैन । यदि देश ठुलो भएपछि नै शक्तिशाली हुने भए भारतको तुलनामा बेलायत धेरै सानोे थियो । तर, दुई सय वर्ष किन दास बनायो ?”
उहाँले भारतसँग मेलमिलापको नाममा उसले मिचेको नेपाली भूमि आधाआधा गर्न नसकिने प्रस्ट पार्दै यसले आक्रामक शक्तिकै हित हुने बताउनुभयो ।
“कुनै पनि हालतमा आधा गर्ने बाटोतिर जानु हुन्न, हाम्रो भूमि हाम्रै हुनुपर्छ”, बिजुक्छेँले भन्नुभयो ।
सार्वभौमिकता कसैले दिएको नभई आफ्नो तागतले लिएको र सिमाना रगतले कोरिएको हुने भन्दै उहाँले वार्ताबाट मात्र समाधान आउन नसक्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सरकारमा गएका राजनीतिक दलहरूले लिम्पियाधुरालगायत मिचिएको नेपाली भूमिमा जाने तागत देखाउनुपर्ने बताउनुभयो ।
देशको रक्षा गर्नुपर्ने युवाहरूलाई विदेश पठाउने शासक दलहरूको देशविरोधी योजना भएको चर्चा गर्दै उहाँले गोर्खा भर्तीकेन्द्र बन्द गर्न नेमकिपाले सुरुदेखि नै लडिरहेको बताउनुभयो ।
बिजुक्छेँले नेपालीहरू बसोबास भएका सबै देशमा नेपालको मिचिएको भूमिको विषयमा प्रदर्शन गराउनुपर्नेमा जोड दिनुभयो ।
“नेपालका सबै राजदूतहरूले नेपाली भूमिबारे अन्तर्राष्ट्रिय वृत्तमा प्रचार गर्नुपर्छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले भारतीय विस्तारवादको विरोध गर्नुपर्छ । नेपालका राजदूत चुप लागेर बस्नुहुन्न”, उहाँले भन्नुभयो ।
देशको रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको भन्दै उहाँले आफ्नो कर्तव्य पूरा नगरे हालका प्रधानमन्त्री पनि असफल सिद्ध हुने बताउनुभयो ।
उहाँले नेपालको भूमि रक्षा गर्ने दायित्व नेपालको भएको भन्दै कुनै पनि विदेशी आएर नेपाली भूमि रक्षा नगरिदिने प्रस्ट पार्नुभयो ।
बिजुक्छेँले शासक दलका कार्यकर्तालाई आफ्ना नेताहरूबाट सजग हुन अनुरोध गर्दै भन्नुभयो, “देश हितविपरीतका सन्धि सम्झौता गर्ने नेताहरूको घरमा जनताले हमला गरेको इतिहास जनताले भुल्नुहुन्न ।”