२०२० मार्चको मन्थ्ली रिभ्यु अनलाइन पत्रिकाको ‘क्यापिटालिज्म इज किलिङ अस, वि ह्याभ टु डिस्ट्रोय इट’ शीर्षकको लेखमा डेनियल टेलरले कोभिड–१९ ले मानवजातिलाई ठूलो चुनौती दिएको बताएका छन् । यो भाइरसले पैदा गरेको संकट पुँजीवाद नै भएको उनको बलियो तर्क छ।

फिलिपिन्सबाट प्रकाशित हुने र्‍याप्लर डट कमले सन् २०२० को फेब्रुअरी ५ मा प्रकाशित समाचारमा लेख्यो, ‘दुनियाँमा पहिलोपटक प्रतिवर्ष १०० बिलियन टन बढी प्राकृतिक संसाधन खर्च भएको छ । पृथ्वीका १० लाख प्रजाति र जनावर लोप हुने खतरा बढेको छ, सन् २०१९ सबैभन्दा तातो बनेर रेकर्ड कायम गर्‍यो ।’ यसैले सन् २०२० पछिका वर्षमा पृथ्वीको तापक्रम बढेर कतिसम्म पुग्ला भन्ने चिन्ता थपिएको छ ।

‘आइ ह्याभ गट ओपनियन’ र्‍याप्लरको पोडकास्टमा २५ वर्षीय एलन नेमेसले भनेका छन्, ‘यही पुँजीवाद हो, जसले पृथ्वीको हत्या गर्दै छ ।’ उनको थप भनाइ छ, ‘पुँजीवादले हामीलाई नष्ट गर्नुपहिले हामीले उसलाई नष्ट गर्नुपर्छ । के यो सम्भव छ ? यसबारे खोजी गरौँ ।’

सन् २०२० कै मार्च ९ को ‘द नेसनल इन्ट्रेस्ट’ नामक अनलाइन पत्रिकामा स्यामुल अलेजेन्डर लेख्छन्, ‘यदि सन् २०५० सम्ममा पुँजीवादी आर्थिक प्रणाली कायम रहिरहे हाम्रो ग्रह अर्थात् पृथ्वीको पतन हुनेछ ।’ पृथ्वीको बढ्दो तापक्रम, बढ्दो पर्यावरणीय संकट, मान्छेको अत्यधिक जनघनत्व र ऊर्जा खपतका कारण केही वर्षअघि निधन भएका महान् वैज्ञानिक स्टेफन हकिङले सन् २६०० सम्ममा पृथ्वी नष्ट हुने आकलन गरेका छन् । हकिङले पृथ्वीको बढ्दो भार देखेर दोस्रो ग्रहको विकल्प खोज्नुपर्ने सुझाएका छन् । साथै उनले सय वर्षभित्र अर्को ग्रह खोज्नुपर्ने या त नष्ट हुनका लागि तयार रहनुपर्ने सर्त तेस्र्याएका छन् ।

पुँजीवादले जब उपनिवेशवाद र साम्राज्यवादको रूप लियो, त्यहीँदेखि विश्वभरका प्राकृतिक स्रोत-साधनमाथि दोहन गर्दै अकुत नाफा कुम्ल्याउनु र करोडौँ मान्छेको जीवनमा खेलबाड गर्नु नै उसको मुख्य विशेषता बन्यो ।

पृथ्वी नष्ट भए हकिङले अर्का युवा वैज्ञानिक एलोन मस्कले सुझाएको अर्को ग्रहको विकल्पमा समर्थन जनाएका थिए । मस्कले पृथ्वी नष्ट भए मंगलग्रह एक उत्तम विकल्प हुन सक्ने बताएका छन् । हकिङले एक सार्वजनिक सम्बोधनका क्रममा आर्टिफिसियल इन्टलिजेन्स (कृत्रिम बौद्धिकता) नामको प्रविधिको उद्भव हुनु नै हाम्रो सभ्यताको दुर्भाग्य हो भनेका थिए । त्यसैगरी बिबिसीले सन् २०१९ मा एक डकुमेन्ट्री बनाएको थियो । त्यसमा जलवायु परिवर्तनका कारण छुद्रग्रह हमला, महामारी र अत्यधिक जनसंख्या वृद्धिले हाम्रो पृथ्वीको अस्तित्व अनिश्चित बनेको हकिङले बताएका छन् ।

एक अध्ययनअनुसार सबै प्राणीको उपस्थितिको हिसाबले पृथ्वीमा मान्छेको संख्या ०.०५ प्रतिशत देखाएको छ । तर, यही ०.०५ प्रतिशत मान्छेले पृथ्वीको ७० प्रतिशत क्षेत्र समाप्त पारिसकेको छ । पृथ्वीमा रहेको प्रकृतिको अत्याधुनिक दोहनका कारण अब पनि यही रफ्तारमा मान्छे अघि बढिरहे अबको चार सय वर्षभित्र पृथ्वीको तापक्रम २ सय डिग्रीभन्दा बढी हुनेछ । त्यो वेला मान्छेको हविगत के होला ? वैज्ञानिक र विज्ञहरूले निरन्तर चिन्ता व्यक्त गरिरहेका छन् ।

अर्को एक अध्ययनअनुसार, सन् १९५० मा विश्वमा कार्बन उत्सर्जन ५.२८ बिलियन टन थियो भने सन् २०१७ मा आइपुग्दा ३६.१५ बिलियन टन कार्बन उत्सर्जन पुगिसकेको छ । सन् २०१८ को ‘वल्र्ड लाइफ फन्ड’को ‘लिभिङ प्लानेट रिपोर्ट’अनुसार सन् १९७० पछि स्तनधारी, पक्षी, माछा र सरिसृपको कुल क्षेत्रमा ६० प्रतिशत गिरावट आएको छ । हरेक वर्ष तिनको वासस्थान नाश भइरहेको छ ।

यी तथ्यहरूले भन्छन्, अब पृथ्वी र मानवजातिको भविष्य ठूलो खतरामा छ । दुवै ठूलो संकटमा छन्, महासंकटमा छन् । यी खतरा र महासंकट कसरी पैदा भए त ? यो आजको सबैभन्दा ज्वलन्त प्रश्न हो । यी सबै संकट र चुनौतीको एक मात्र कारण आजको पुँजीवाद हो, साम्राज्यवाद हो । यो विश्वमा पुँजीवादले शासन–सत्ता सञ्चालन गर्न थालेको ५ सय वर्षदेखि ६ सय वर्ष भयो । वास्तविक पुँजीवादको विकासलाई मान्ने हो भने १७औँ शताब्दीमा भएको युरोपियन पुँजीवादी औद्योगिक क्रान्ति नै हो । तसर्थ यसको इतिहास पाँच सय वर्षको मात्र हो ।

पाँच सय वर्षमा पुँजीवादले विकासका नाममा गरेको महाविनाशलाई आजका युवापिँढीले कसरी लिने ? हकिङदेखि थुप्रै वैज्ञानिक र विद्वान्ले दिएको सुझाब र सल्लाहलाई कसरी लिने ? पुँजीवादले कुनैवेला आफ्नो समयमा खासगरी औद्योगिक पुँजीवादको युगमा सकारात्मक भूमिका खेले पनि पछिल्लो युगमा एकाधिकार जमाएर लुटको बाटो समायो । त्यति वेलादेखि पुँजीवादले आफ्नो नग्न र कुरुप चित्र पनि प्रदर्शन गर्न थाल्यो । पुँजीवादले जब उपनिवेशवाद र साम्राज्यवादको रूप लियो, त्यहीँदेखि उसले विश्वभरका प्राकृतिक स्रोत-साधनमाथि दोहन गर्दै अकुत नाफा कुम्ल्याउनु र करोडौँ मान्छेको जीवनमा खेलबाड गर्नु नै उसको मुख्य विशेषता बन्यो ।

१८औँदेखि २०औँ शताब्दीसम्म युरोपेली र अमेरिकी साम्राज्यवादले विश्वभरिका प्राकृतिक र आर्थिक स्रोत साधनमाथि बेहिसाबसँग निर्मम लुट र दोहन गर्दै आएका छन् । बेलायत, स्पेन, फ्रान्स, इटली, पोर्चुगललगायत युरोपेली साम्राज्यहरूले २०औँ शताब्दीको मध्यसम्म एसिया, अफ्रिका, ल्याटिन तथा मध्यअमेरिकामा गरेको सैन्य अतिक्रमण वास्तवमा पृथ्वीको प्राकृतिक स्रोत-साधनमाथिको अतिक्रमण थियो । त्यस्तै सन् १९४५ पछि युरोपेली साम्राज्यवादको विकल्पको रूपमा अमेरिकाले त्यही धन्दा सञ्चालन गरेको जगजाहेर छँदै छ । यिनै युरोपेली र अमेरिकी पुँजीवादी (साम्राज्यवादी) जगजगीकै कारण विश्व मानवजाति र प्रकृतिले ठूलो भार खेप्नुपरेको छ ।

आजको पुँजीवादको चरित्र भनेकै लुट र नाफा आर्जन गर्नु हो । लुट र नाफाका लागि उसले प्रकृतिमाथि हमला गर्नुका साथै मानवजातिमाथि भयानक हमला गरेको छ । प्रकृतिमाथि दोहन भनेको पुँजीवादले भरमार उत्पादन गर्न प्रकृतिलाई बलि चढाउनु हो । अनुत्पादक क्षेत्रमा असीमित उत्पादन खोज्नु आजको पुँजीवादको मुख्य चरित्र बनेको छ।

इन्नोभेसन र खोजका नाममा प्रकृतिका खानीहरू निमिट्यान्न पार्नु, प्रविधिको विकास र होडमा आणविक भट्टीहरू खडा गर्नु यो पुँजीवादीको प्रगतिको मुख्य द्योतक बनेको छ । आजको पुँजीवादी साम्राज्यवादले विश्वलाई ध्वस्त पार्ने एटम बम बनाएपछि समाजवादी भनिएका देशले त्यही बाटो पक्रन बाध्य भए । तर, सारमा ज–जसले यी आणविक भट्टी र एटम बम बनाए पनि त्यो मानवजातिका लागि अभिशाप हो ।

सन् १९४५ मा हिरोसिमा र नागासागीमा एटम बम खसालिएको मानवजातिकै इतिहासमा महाकलंकबाट मैमत्त भएको अमेरिकाले शक्ति र साम्राज्यको धाक देखाएर भियतनामदेखि कोरियाली युद्ध, इराकदेखि अफगानिस्तानसम्मको युद्ध हुँदै चिली र इन्डोनेसियामा नरसंहार मच्चाइसकेको छ । यसमा झन्डै एक करोड मान्छेको ज्यान लिइएको छ । उत्तर कोरियाली युद्धमा ३५ लाख, भियतनाम युद्धमा ३० लाखभन्दा बढी, इराक र अफगानिस्तानमा लाखौँ तथा इन्डोनेसिया र चिलीको नरसंहारमा १५–२० लाख मान्छेको नरसंहार भएको थियो ।

पुँजीवादी साम्राज्यवादी लुछाचुँडीकै कारण पहिलो र दोस्रो विश्वयुद्ध भयो । यी दुई युद्धमा करिब ९ करोड मान्छेको अनाहकमा ज्यान गयो । पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) मा डेढ करोड मान्छेको ज्यान गयो । यो युद्धका कारण फैलिन पाएको स्पेनिस इन्फ्लुयन्जा भाइरसले गर्दा ५० देखि सय मिलियन अर्थात् झन्डै १ करोड मान्छे मर्नुपर्‍यो ।

यो साम्राज्यवादी युद्धकै दुष्परिणाम थियो । दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) जर्मन-इटली–जापानी साम्राज्यवादका कारण भएको थियो । यो युद्धमा अर्कोतिरबाट सोभियत रुससहित बेलायत, अमेरिकालगायत देश सहभागी थिए । यसमा ७ देखि ८ करोड मान्छे मारिए । अढाइ करोड त रसियन मात्र मारिएका थिए । यही युद्धको परिणामस्वरूप अरू २ करोड नागरिक रोग र अनिकालका कारण मर्न पुगे ।

यी तथ्यले भन्छ, आजको पुँजीवादी साम्राज्यवाद मानवजातिका लागि अभिशाप हो । कुनै वेला प्रगतिशील चरीको भूमिका निभाएको पुँजीवादले जब साम्राज्यवादको रूप लियो, खासगरी २०औँ शताब्दीको संघारमा आइपुग्दा पुँजीवादले आफ्नो पुरानो मुखुन्डो च्यातचुत पा¥यो र साम्राज्यवादी मुखुन्डो लगाएपछि त्यो मानव र पृथ्वीका लागि विध्वंसक बन्न पुग्यो ।

पुँजीवाद (साम्राज्यवाद) मानवजाति र प्रकृतिका लागि यति विध्वंसक भएपछि समाजवादले कसरी मानव र पृथ्वीका लागि काम गर्छ त ? अबको समाजवादले २०औँ शताब्दीमा भएका आफ्ना सीमा र कमजोरी सच्याएर समुदायवादमा आधारित विकसित समाजवादको अभ्यास गर्नुपर्छ । २१औँ शताब्दीको समाजवाद प्रकृतिको दोहन गरेर होइन, प्रकृतिमैत्री समाजवाद हुनुपर्छ । आजको विकसित विज्ञान–प्रविधिलाई आमसमुदायमा केन्द्रित गरेर, समुदायद्वारा नियन्त्रित र सञ्चालित गर्न सक्ने समाजवाद नै २१औँ शताब्दीको समाजवाद हुनेछ । यसैले मात्र विश्व मानवजाति र प्रकृतिलाई सन्तुलित गरेर अघि बढाउनेछ ।