काठमाडौं

सर्लाहीस्थित नेपाल भारत सीमा नाकाबाट नेपाल छिर्न खोजेका भारतीयहरुको समूहलाई प्रहरीले हवाई फायर गरेर भगाएको छ । आइतबार बिहान ठूलो संख्यामा भारतीय नागरिकको समूहले सुरक्षाकर्मीलाई नै आक्रमण प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरी भगाएको हो ।

सशस्त्र प्रहरी स्रोतका अनुसार एक्कासी ठूलो संख्यामा आएको समूहले हतियारै खोस्न खोजेपछि तत्काल फायर खोली तितरबितर पारिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर ५ स्थित पकडी नाकामा खटिएका सशस्त्र प्रहरीको टोलीलाई ५०–६० जनाको संख्यामा आएको भारतीय समूहले घेरा हालेको हो । त्यसपछि सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायर गरेर उनीहरूलाई भगाएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा भारतीय नागरिकहरु बारम्बार सुरक्षाकर्मीमाथि नै आक्रमण गरी नेपाल प्रवेश गर्न प्रयत्न गरेका छन् । तर सिमानामा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई रोकेको छ । यसअघि झापामा तीन पटकसम्म भारतीयको समूहले नेपाल प्रवेश गर्न प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।