सरकारी मुखपत्र गोरखापत्र दैनिकमा आज प्रकाशित प्रा.डा. विद्यावीरसिंह कंशाकारको  लेख एकदमै आपत्तिजनक र खेदपूर्ण छ । लेखमा विषयवस्तुलाई गलतकोणबाट व्याख्या गरिएको छ । लेखमा प्रा.डा. कंशाकारले नेपाल भारत र चीनबीचको त्रिदेशीय सीमा बिन्दु लिम्पियाधुरा नभनी ५०९८ मी. को छ्याङ्ला भञ्ज्याङ्बाट ५.६ किमी पूर्व लिपुधुरा (टिङ्करलिपु) भन्ज्यांग भनेर उल्लेख गरेका छन् । नेपाल चीन सीमा सम्झौताको नक्साले लिपुलेक भञ्ज्याङ् नेपाल चीन सिमानामा रहेको प्रष्ट देखाउँछ भनेका छन् । जबकि नेपाल, भारत र चीनबीचको त्रिदेशीय विन्दू लिम्पियाधुरा हो ।

नेपाल र चीनबीचको सीमा सम्झौता, २०१८ को दफा १.१ मा नेपाल र चीनको सिमाना पश्चिमी प्रारम्भिक विन्दू काली नदी र तिंकर नदीको पानी ढलोबाट शुरु हुने कुरा उल्लेख छ । नेपाल चीन सीमा हिमालयको पानी ढलोलाई नै आधार मानेर सीमांकन गरिएको हो । सम्झौताअनुसार नेपाल र चीनको पश्चिमी सीमा काली नदी र तिंकर नदीको पानी ढलोबाट हुने कुरा प्रस्टरुपमा उल्लेख छ । जसको अर्थ लिम्पियाधुराबाट उद्गमित कालीनदीको पानीढलोबाट चीनसँगको नेपालको पश्चिमी सीमा शुरु गरिएको कुरा निर्विवाद छ । तर प्रा.डा. कंशाकारले काली नदीको पानी ढलोको व्याख्या गलतकोणबाट गरेका छन् ।

सरकारी संचारमाध्यममा मुलुकको हितलाई कमजोर पार्ने यस्ता विरोधाभासपूर्ण लेखरचनाहरुले बारम्बार किन स्थान पाइरहेछन् ?

नेपाल चीन सीमा सम्झौताको नक्साले लिपुलेक भञ्ज्याङ् नेपाल चीन सिमानामा रहेको भन्ने प्रा.डा. कंशाकारको भनाइ नेपालको लिम्पियाधुरासम्म रहेको नेपालको सार्वभौमिक भूमिको विपरीत छ । प्रा.डा. कंशाकारको लिपुलेक नेपाल र चीनको सीमा भन्ने यस भनाइप्रति नेपाल सरकार, विभिन्न राजनीतिक दल र आज नागरिक सबैले आपत्ति जनाउनु जरुरी छ ।

नेपाल सरकारले लिम्पियाधुरा देखिने गरी नक्शा नै जारी गरिसकेको अवस्थामा लिपुलेक भञ्ज्याङ् नेपाल चीन सिमाना भनेर लेखिएको प्रा.डा. कंशाकारको लेख सरकारी मुखपत्र गोरखापत्रमा कसरी छापियो ? किन छापियो ?