जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट विवाहका लागि रुकुमको चौरजहारी पुगेको बेहुला नवराज विक सहितको टोलिमाथि २०७७ जेठ १० गते भएको आक्रमण र हत्याको घटनाप्रति राष्ट्रिय जागरण अभियानको गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय जागरण अभियानका स‌ंयोजक सन्त बहादुर नेपाली द्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ  प्रेमलाई अन्तर्जातीय विवाहमा परिणत गर्न खोज्दा उक्त घटना घटेको हो । घटनामा बेहुला भनिएका नवराज सहित तीन जनाको हत्या भएको छ भने उनीसँगै आएका १९ जना मध्ये ३ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना कुनै पनि सभ्य मानव समाजका लागि लज्जा बोध पार्ने खालको कलङ्कित घटना हो । हामी उक्त घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछौँ । घटनाको निष्पक्ष छानबिन गरि हत्यामा सङ्लग्न अपराधीहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न राष्ट्रिय जागरण अभियान जोडदार माग गर्दछ । वक्तव्यको पूर्णपाठ :

राष्ट्रिय जागरण अभियान
प्रेस वक्तव्य
जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट विवाहका लागि रुकुमको चौरजहारी पुगेको बेहुला नवराज विक सहितको टोलिमाथि २०७७ जेठ १० गते भएको आक्रमण र हत्याको घटनाप्रति राष्ट्रिय जागरण अभियानको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।
भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका-८ रुकुमकी सुष्मा मल्ल बीच रहेको प्रेमलाई अन्तर्जातीय विवाहमा परिणत गर्न खोज्दा उक्त घटना घटेको समेत बताइएको छ । घटनामा बेहुला भनिएका नवराज सहित तीन जनाको हत्या भएको छ भने उनीसँगै आएका १९ जना मध्ये ३ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना कुनै पनि सभ्य मानव समाजका लागि लज्जा बोध पार्ने खालको कलङ्कित घटना हो । हामी उक्त घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछौँ । घटनाको निष्पक्ष छानबिन गरि हत्यामा सङ्लग्न अपराधीहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न राष्ट्रिय जागरण अभियान जोडदार माग गर्दछ ।
एक्काइसौं शताब्दीको वैज्ञानिक युगमा पनि नेपाली समाजमा भने सामन्ती चिन्तन र संस्कार यथावत् रहेको छ । कानुनी रूपमा जातीय छुवाछूत र विभेदलाई हटाइएको भनिए पनि व्यवहारिक रूपमा हाम्रो समाजमा छुवाछूत र जातीय विभेद अझै हट्न सकेको छैन । जसका कारण मानव समाजलाई नै लज्जित पार्ने खालका घटनाहरू बेला बेलामा नेपाली समाजमा घट्दै आइरहेका छन् । जनतालाई सामन्ती चिन्तन, संस्कार र रुढिगत बिचारहरूबाट मुक्त नगरेसम्म हामीले सभ्य समाजको निर्माण गर्न सक्ने छैनौँ ।
रुकुमको चौरजहारीमा तीनजनाको बीभत्स तरिकाबाट हत्या र तीनजना बेपत्ता पारिएको जुन घटना घट्यो त्यसमा प्रहरी प्रशासनको पनि गम्भीर प्रकारको लापर्बाही देखिन्छ । लकडाउनको यो अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा हुल बाँधेर आएका मानिसलाई प्रशासनले किन रोक्न सकेन ? स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । नेपालमा गम्भीर प्रकृतिका अपराधीक घटनाका दोषीहरुले पनि राजनैतिक संरक्षणका कारण उन्मुक्ति पाउँदै आएका प्रशस्त उदाहरणहरू छन् । रुकुम चौरजहारिको उक्त हत्याकाण्डका दोषीहरुले कुनै पनि अवस्थामा उन्मुक्ति पाउनु हुँदैन । त्यो घटनाको उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग बनाएर निष्पक्ष रूपमा छानबिन गरिनु पर्दछ र घटनाका दोषी जोकोहीलाई पनि कानुन बमोजिमको कडाभन्दा कडा कारबाही गर्नु पर्नेमा राष्ट्रिय जागरण अभियानले विशेष जोड दिन्छ ।

जेठ १३, २०७७

सन्त बहादुर नेपाली
संयोजक