काठमाडौं । नेपालको पक्षमा बोलेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएका छन् ।

नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाले गरेको ट्विटलाई लक्षित गर्दै भातीय मिडिया र भारतीयहरु ‘भारतका खाओ, चीनका गाना गाओ’ भन्दै खनिएका छन् । लामो समय भारतीय फिल्म उद्योगमा काम गरेकी नेपाली अभिनेत्री मनिषा नेपालको पक्षमा बोलेको भन्दै भारतीय मिडिया खनिएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि–ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यो ट्विटप्रति एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।