सुनिता बराल

शिक्षा समाजको ऐना हो । सभ्यताको मेरुदण्ड हो । संस्कार र संस्कृतिमार्फत पुस्ता हस्तान्तरण गर्ने तरिकाले समाज विकासलाई जुन अवस्थामा पु¥याएको हुन्छ त्यसको जग अध्ययन गर्ने माध्यम पनि शिक्षा हो । तहगत हिसावले कुन अवस्थामा पुगेको छ भनेर विश्लेषण गर्न सकिन्छ । समाजको विकासको सूचक निकाल्न पनि सकिन्छ तर तथ्यमा मापन गर्न नसक्ने समाजको सोच, संस्कार र सभ्यताको अवस्था मापन गर्ने साधन पनि शिक्षा हो । समाज केही घरहरुको समूह मात्रै हैन । केही मानिसहरुको भीड मात्र पनि हैन । संस्कार, सोच, संस्कृति र सभ्यताको एउटा अमूर्त डोरीले बाँधिएको त्यो मानव समुदायलाई जसरी समाजको संज्ञा दिइएको छ त्यही समाजकै एउटा ठूलो आकारलाई राष्ट्रको रुपमा हेर्न सकिन्छ ।

राष्ट्र कुनै एउटा भौगोलिक चौघेरा मात्रै होइन । एउटा भौगोलिक चौघेराभित्र बस्ने मानव समुदायलाई बाँध्ने भावनात्मक सम्वन्ध, विधि, सभ्यता सहितको एकीकृत संरचनाले राष्ट्रको मान्यता पाउँछ । भुगोलसंगै भाषा र पुस्ता हस्तान्तरणका भावनात्मक सम्बन्धहरु राष्ट्रियतासंग जोडिएर आउँछन् । राष्ट्रियता एउटा भावना हो । राष्ट्रप्रतिको प्रतिबद्धता झल्कने यो भावनाको एउटा बलियो पाटो शिक्षा हो । शिक्षाले राष्ट्रियतासंग विशेष सम्बन्ध राख्छ ।
नेपाली सन्दर्भमा हेर्ने हो भने हाम्रा कतिपय अध्ययन सामग्री, पाठ्यवस्तुहरुमा नेपाली वीरताको कथा पाइन्छ । अग्रज पुस्ता जसले नेपालको भौगोलिक एकीकरणका लागि लडे, जसले मानवअधिकार र प्रजातन्त्रका लागि लडे, जसले लोकतन्त्र र गणतन्त्रका लागि लडे, त्यस्ता व्यक्तिहरु, उनीहरुका योगदानहरुलाई शैक्षिक विषयवस्तुमार्फत नयाँ पुस्तासम्म लैजाने परिपाटी थियो । जुन शासन व्यवस्था वा त्यसको राजनीतिक नेतृत्व जो सुकै भए पनि राष्ट्रियताको सवाललाई राष्ट्रिय एकता र स्वाभीमानको विषयलाई पाठ्यवस्तुमार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकताको पक्षमा खुलेआम वकालत गर्नैपर्छ । नेपालीहरुले भौगोलिक एकीकरणका सम्बन्धमा, नेपाललको सार्वभौमिकता, अखण्डता र एकताको पक्षमा विगतदेखि प्रस्तुत गर्दै आएको बृहत ऐक्यबद्धतालाई शैक्षिक विषयमार्फत नै जति बुmिभयो त्यति भावी पुस्तामा पनि हस्तान्तरण गर्नुपर्छ ।
नेपाली इतिहास, भुगोल र राष्ट्रियताको विषयमा अध्ययन, अद्यापन, नियमित अन्तरसम्वाद, बहस एवम् राष्ट्रियता प्रवद्र्धनका अभियानहरु औपचारिक अनौपचारिक तहबाट चल्नुपर्छ । विगतमा नेपालको राष्ट्रियता र स्वाभीमानका सन्दर्भमा निर्माण गरिएका पाठ्यपुस्तकहरु परिमार्जन गर्न आवश्यक थिए होलान् तर विषयवस्तु नै हटाउनु गलत भएको समिक्षा हुन जरुरी छ । माध्यमिक तहको शिक्षा जुन शिक्षाले मानसपटलमा दीर्घकालीन असर गर्छ, यस्तो उमेर वा अवस्थामा वालवालिकाहरुलाई पनि भौगोलिक ज्ञान हुने राष्ट्रियताको भावना जगाउने खालको शिक्षा दिन जरुरी हुन्छ ।
शिक्षा र राष्ट्रियताको सवाल राष्ट्र वा नागरिकको आत्मनिर्भरता र स्वाभीमानसंग अन्तरनिर्भर रहेको हुन्छ । जुन देशका वालवालिकाले आफ्नो शिक्षाले देशभित्रै आत्मनिर्भर बनाउन सिकाउने र सघाउने गर्छ त्यो शिक्षा प्रणाली र मुलुकप्रतिको सकारात्मक भावना बढाउँछ । अध्ययनले राष्ट्र नसिकाउने र आफ्नै देशभित्र स्वाभीमान साथ आत्मनिर्भर जीवन विताउन सक्ने अवस्थाको निर्माण नहुने हो भने राष्ट्रियता कमजोर गराउँछ । शिक्षा प्रणाली र शैक्षिक प्रणालीले उत्पादन गरेको जनशक्तिको मनोभाव समेतलाई राष्ट्रियतासंग जोडेर हेर्न सकिन्छ ।
राष्ट्रिय आवश्यकताका आधारमा शैक्षिक प्रणाली अद्यावधिक हुन जरुरी छ । नेपाल बहुभाषिक, बहुधार्मिक सांस्कृतिक विविधतायुक्त मुलुक हो । यो मुलुकमा धार्मिक, सांस्कृतिक, भौगोलिक, भाषिक विविधताका आधारमा राष्ट्रलाई गरिने सम्मान, सद्भावहरु फरक फरक पनि छन् । भूगोल, जात, धर्म र परिवेश अनुसार पृथक आवश्यकताहरु हुन सक्छन् । एउटा राष्ट्रलाई नागरिकको अपेक्षा अनुसार समृद्ध बनाउन, गतिशील र प्रतिष्पर्धात्मक रुपमा अरुभन्दा अब्बल बनाउनका लागि जुन कुरा सुधार्न आवश्यक छ, त्यसको समयानुकुल सुधारका लागि शिक्षा प्रणालीको रुपान्तरण देखि नै सरोकारवालाहरुको प्राथमिकताको विषय बन्न जरुरी छ ।
नेपाली राजनीतिक आन्दोलनहरुका गति संगै राष्ट्रियताको सवाल पेचिलो बन्दै आएको छ । सरकार परिवर्तन, राजनीतिक दलले पाउने जनमत, सरकारले गर्ने अल्पकालीन र दीर्घकालीन निर्णयहरु तथा दूरगामी नीतिगत व्यवस्था लगायतमा वैदेशिक सरोकार गाँसिने गरेको छ । राष्ट्रियतासंग जोडिने र अनौपचारिक शिक्षा मार्फत आम सर्बसाधारणसम्म पुग्ने सन्देशले निकै ठूलो असर गरिरहेको छ । सानो तर महत्वपूर्ण अर्थ राख्ने तथा दूरगामी प्रभाव पार्ने यस्ता विषयहरुलाई पनि राष्ट्रियताको सवालसंग जोडिनुपर्छ । राष्ट्रियतालाई शिक्षासंग जोड्ने कुरा पाठ्यक्रम र पाठ्यपुस्तकको विषय मात्रै नभएर हाम्रो संस्कार र सभ्यताले हामीलाई कत्तिको परिपक्व ढंगले राष्ट्रियताको सन्दर्भमा उभ्याउँछ भन्ने पनि हो । हामी चोक चिया पसल चौतारा अनि सार्वजनिक मञ्चहरुमा समेत खुलेआम राष्ट्रियतासंग सम्बन्धित बहस गरिरहेका छौं, दृष्टिकोण सारिरहेका छौं जुन हामीमा अनौपचारिक शिक्षामार्फत परेको प्रभाव हो र हामी पनि त्यही शैलीमा नयाँ पुस्ता वा सरोकारवालाहरुलाई बाँडिरहेका हुन्छौं ।
औपचारिक वा अनौपचारिक शिक्षामार्फत जसरी राष्ट्रियताका सन्दर्भमा बहस भएको छ, यसलाई राष्ट्रिय आवश्यकता, नागरिकको चाहना र राष्ट्रिय स्वार्थका आधारमा समयमा नै सम्वोधन हुन जरुरी छ । आफ्नै देशभित्र भएका विद्यालयहरुले विद्यालयमै हिन्दीमा राष्ट्रिय गान राख्ने, अध्यापन गराइरहेका पाठ्पुस्तकहरुमै बुद्ध भारतमा जन्मेका हुन् भन्ने वाक्यहरु राखेर पढाउने सम्मका क्रियाकलापहरु हुँदा जसरी विवाद बढेको थियो, त्यस्तो विवाद बढ्ने निश्चित छ । राष्ट्रियता जोगाउने कि फसाउने भन्ने कुरा शिक्षा प्रणालीको व्यवस्थापन र परिचालनसंग सम्बन्धित विषय भएकाले सबैले ध्यान दिन जरुरी छ ।
बराल अनेरास्ववियुको उपाध्यक्ष हुनुहुन्छ ।