नेपालमा कोरोना सङ्क्रमणकाे कारण अर्का एक जनाकाे ज्यान गएकाे छ ।

बाँकेकाे नैनापुर गाउँपालिकाकाे क्वरेण्टीनमा बसेकाे युवककाे ज्यान गएसँगै काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङख्या दुई पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवकको आइतबार बिहान ज्यान गएको हो ।

केही दिनअघि भारतबाट आएका उनलाई रातिदेखि बिसन्चो भएर बिहान ज्यान गएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले उज्यालोलाई जानकारी दिनुभयो । नेपालमा आइतबार रौतहटका १० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् ।

यसअघि गएको बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको कोरोनाकाे कारण ज्यान गएको मन्त्रालयले शनिबार पुष्टि गरेको थियो ।