–निष्णु थिङ

कसले भनेको यो दुनियाँमा
कमारा–कमारीको प्रथा
सकियो भनेर
कसले भनेको यो दुनियाँमा
दास–दासीको प्रथा
सकियो भनेर
यहाँ मान्छेको व्यापार जति
अरु व्यापार कहाँ चलेको छ !!!
यहाँ मान्छेको व्यापार नगरी
यो शहरमा कहाँ झिकलीमिली बलेको छ !!!

हेर्नलाई यो शहर
वाहिरी कति सुन्दर छ
देख्नलाई यो शहर
वाहिरी कति सुन्दर छ
तर यो शहर
भित्र कति कुरुप छ
हुलका हुल गाँउका
मान्छे संंकलन गरेर
यो शहर गाउँ रित्याउने
खेल खेल्दैछ

जब यो शहरले
झ्याप्प झ्याप्प
छाप ठोक्छ राहदानीमा
बेच्न–बेचिन योग्य हुन्छ मान्छे
कुनै कानुनको धाराले छेक्दैन
कुनै कानुनको उपधाराले रोक्दैन

मान्छे बेच्ने व्यापार
निकै बढ्दो छ
जसले मान्छे बेच्न सकिदैन
जसले मान्छे बेच्न खोज्दैन
जसले मान्छे बेच्न जान्दैन
ती मनुवाहरु यो शहरमा
बुङ्गा ठहरिन्छ
लाटो सोझो ठहरिन्छ

यो शहरका घरहरुमा
मान्छे संकलन केन्द्रहरु खुलेका छन्
यो शहरका गल्लीहरुमा
मान्छे निर्यात केन्द्रहरु खुलेका छन्
अनि झुण्डिएका छन्
ठूला–ठूला होर्डिङ बोर्डका तुुलहरु
घर–घरमा फुलेका छन्
आकर्षक लाग्ने ती फुलहरु

कहिलेकहि मलाई लाग्छ
हाम्रा गाउँका आमावुवाहरु
वालवच्चा उत्पादन गर्ने
कारखानाहरु हुन्
कहिलेकहि मलाई लाग्छ
मेरा देशका दम्पतीहरु
केटाकेटी पैदा गर्ने
वहुराष्ट्रिय कम्पनीहरु हुन्
जसका मालहरु
युरोप जापान अमेरिका
कतार दुबइ अफ्रिका
सारा विश्वले खपत गरिरहेका छन्
सारा विश्वले उपभोग गरिरहेका छन् ।

२०७४÷११÷१०
डिल्लीबजार