लघुकथा: जितुवा तिलहरी                                              कृष्णदेव रिमाल

घरधनी भाडा माग्न दैनिक आउँथे । हामी भोलि है साहुजी ! भन्थ्यौं । उनी भोलि चैं बहाना हैन है ! भनेर हिड्थे ।
ती गएपछी हामी एक अर्काको आखामा परिस्थितिको गाम्भिर्यता खोज्थ्यौँ । म गलामा यिनैले लगाइदिएको बिहेको तिलहरी छाम्थें । उनी हुन्न भन्ने इशारामा सुस्तरी मुन्टो हल्लाउँथे र फराकिलो हत्केलो झ्याप्प मेरो छातिमा राख्थे ता कि त्यो तिलहरी छोपियोस् । नउम्कियोस् । 
उनी स्वयम्बरमा मैले लाइदिएको औँठी छाम्थे । म उसैगरी नकार भावमा सुस्तरी मुन्टो हल्लाउँथेँ र च्याप्प खसमको त्यो पहेंलो खोल भएको औँलो समात्थें । उसैगरी त्यो औँठी नफुत्कियोस् भन्ने कामना गर्थें । हाम्रा यी कामनाहरू बिस्तारै झुट सावित हुँदै गए। केही महिनाका पाहुना बनेर हाम्रो डेरा कोठाबाट एक एक गरेर ती आभुषणहरू उहीँ पुगे जहाँबाट खरिद गरिएको थियो । देह छोडेर आत्मा उही परमात्मामा मिल्न गएजस्तै लाग्यो । धातुको संसारमा पनि नदी सागरतिरै बग्दो रहेछ ।
अचेल हामी दुवै काम गर्छौं । दुवै सन्तान राम्रोसँग पढिरहेका छन् । हाम्रो छाप्रोमा घरधनी भाडा माग्न आउँदैन् । साग र सिस्नु भएपनी आनन्दी मनले खान्छौँ ।
आज हाम्रो विवाहको विसौं उत्सव । मैले वर्षौंदेखी बचाएको सानो रकमबाट उनको औँलो उसैगरी सजाउने बिचार गरेर बनाएकी छु । राती सुतेको बेला धागोको नापो लिएर सम्झेसम्म बिहेमा बनाएकै डिजाइनमा औँठी बनाएर ल्याएको छु । भरे वहाँ अफिसबाट आएपछी सरप्राइज दिने बिचार गरेकी छु ।
नभन्दै आज अलि चाँडै आउनुभो । आउनासाथ आँखा चिम्ल त भनेर गलामा केही लाइदिनुभो । अहो म पो पछि परेछु ।