अध्यक्ष ज्यू,
जापान नेपाली एकता समाज क्षेत्रीय समिति टोकियोले १३१ औँ मई दिवसको कार्यक्रमको जुन आयोजना गर्यो, सर्वप्रथम मैले आयोजक संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
यो कार्यक्रममा जोडिएका संसारभरि छरिएका नेपाली दाजुभाइ दिदीबहिनीहरू र संसारभरका मुक्तिकामी मजदुरहरूप्रति सर्वप्रथम हार्दिक अभिनन्दन गर्न चाहन्छु । मभन्दा पहिले बोल्ने साथीहरूले धेरै कुरा बताइसक्नु भएको छ । यी सबै कुरा दोहोर्याएर नजाऔँ ।
मैले मेरा भनाइ छोटकरीमा के राख्न चाहन्छु भने फेरि पनि संसारभरमा समाजवादी राज्यव्यवस्था ल्याएर मात्रै संसारभरका शोषित, पीडित तथा मुक्तिकामी जनसमुदायलाई मुक्त गर्न सकिन्छ । आज कोरोना भाइरसको महाविपत्ति संसारभरि देखिएको छ । ठूला–ठूला साम्राज्यवादी र पुँजीवादी मुलुकहरूले त्यसको समाधान गर्न सकिरहेका छैनन् । आज त्यही कोरोना भाइरसको महामारीले संसारभरका धेरै मजदुरलाई आफ्नो मजदुरीबाट विमुख बनाएको छ वा उनीहरूलाई बेरोजगार बनाइएको छ । करोडौँ मजदुरहरू अहिले नै बेरोजगार भइसकेका छन् । यो स्थितिमा अहिले के देखियो भने पुँजीवादी मुलुकहरूभन्दा पूर्व समाजवादी मुलुकहरूले कोरोना भाइरसलाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएका छन् । पूर्व समाजवादी मुलुकहरू जो आज पुँजीवादमा रूपान्तरण भइसकेका छन्, तै पनि उनीहरूको स्कूलिङ्गले त्यसलाई केही हदसम्म रोक्न सफल भएको देखिन्छ । त्यसरी आज अमेरिका, यूरोपमा जति कोरोना भाइरस फैलिएको छ त्यति पूर्वी समाजवादी देशहरूमा फैलिएको छैन । पूर्व समाजवादी देशहरूले कोरोनाई भाइरसलाई केही न केही रूपमा रोक्न सफल भएका छन् । समाजवादको पूर्व स्कूलिङ्गले केही हदसम्म भएपनि महामारीबाट बचेका छन् । अहिले पनि पुँजीवादमा रूपमान्तरित भइसकेका देशहरूमा पनि समाजवादको अभ्यास र जीवनशैली केही हदसम्म अपनाएका कारणले उनीहरू आफैले यो महामारीलाई रोक्न धेरै सफल भएको देखिएको छ ।
संसारमा अहिले मजदुरहरू सबैभन्दा धेरै दुःख, कष्टमा परेका छन् । नेपाली मजदुरहरू संसारभरि बेरोजगार भएका छन् । उनीहरू आफ्नो देशमा फर्कन चाहन्छन् । हाम्रो देशको सरकारसँग संसारभरि छरिएर रहेका नेपाली मजदुरहरूलाई आफ्नो देशमा फर्काउने र नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने कुनै योजना छैन । सरकारले मजदुरहरूलाई जुनजुन ठाउँमा छौँ त्यही त्यही ठाउँमा बस भनेर भनिराखेको छ । नेपालको सीमा क्षेत्रमा आएर रोकिएर बसेका नेपालीहरूलाई समेत विभिन्न बहानामा त्यतैको क्बारेनटाइनमा राख्ने र दुःख दिने काम गरिरहेको छ । सरकारले आफ्ना नागरिकहरूलाई आफ्नो देशभित्र फर्काउन सक्ने हैसियतसम्म राख्न सक्दैन । त्यसैले आज नेपाल अरू मुलुकहरूको भरमा बच्नु परिरहेको छ । नेपालले आफ्ना नागरिकहरूलाई मजदुरहरूका रूपमा संसारभरि निर्यात गरेको देखियो । यसरी आज हामी संसारभरमा दुःख पाएका मजदुरहरूमा परिणत भएका छौँ ।
अहिले विश्वभर देखापरेको समस्यालाई समाधान गर्न, संसारभरका मजदुरहरूलाई मुक्त गर्न संसारका मजदुरहरूलाई एकढिक्का पार्नका लागि संसारभरका मजदुरहरू एक हुनुपर्दछ । माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधाराको झण्डालाई उच्च राख्दै, सबै प्रकारका अवसरवादका विरुद्ध सङ्घर्ष गरेर मात्र हामीले विजयको झण्डालाईमाथि उठाउन सक्ने छौँ । संसारभरि छरिएका मजदुरले राजनीतिक अधिकार प्राप्त गरेर सत्ता मजदुर वर्गको हातमा ल्याउनका निम्ति संसारभरिका मजदुरहरूलाई एकजुट बनाएर जानका निम्ति यस प्रकारका कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याओस्, सहयोग गरोस् र उमङ्ग छरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । त्यसका साथै दुःख पाएका र आज संसारभरि छरिएर बेरोजगार भएका मजदुरहरू प्रति हार्दिक सहानुभूति राख्दै मेरो सानो मन्तव्य यही अन्त गर्दछु । हस्त धन्यवाद ।