आफू जे हो त्यही ठान्छन् पशु, पञ्छी र जलचरहरू ! अर्थात्, माछाले आफूलाई माछा, ढुकुरले ढुकुर र हरिणले आफूलाई हरिण मात्र ठान्दछ । तर मानिस मात्र यस्तो प्राणी हो जो आफूलाई मान्छे मात्र ठान्न खोज्दैन ; उद्यमी, धनी, समाजसेवी, सैनिक, कलाकार, पत्रकार, कर्मचारी आदि परिचयमा रमाउने र हिन्दु, बौद्ध, जैन, शिख, इस्लाम तथा किराँत आदि धार्मिक समुदायको हुनुलाई विशेष ठान्ने मनोविज्ञान पनि मानिसमा रहन्छ ।

प्राणी तहमा रहेर सोच्दा देखिने संसार मान्छे भएर हेर्दा देखिँदैन र मान्छेका रूपमा संसारलाई हेर्दा जस्तो देखिन्छ नेपाली, भारतीय, चिनियाँ जापानी या अमेरिकी आदि ठानेर हेर्दा देखिने संसार अर्कै हुन्छ । त्यसभन्दा पनि तल ओर्लिएर आफूलाई पहाडी, हिमाली, मधेशी या जनजाति, क्षेत्री, ब्राह्मण र शिल्पी मानेर यो संसारलाई हेर्न खोजियो भने नितान्त बेग्लै, साँघुरो वा सङ्कुचित र तनावमय संसार भेटिन्छ । त्यसैले मानिसले केही देख्नु, देख्न खोज्नु या धारणा बनाउनुअघि कहाँ उभिएर हेर्ने भन्ने ‘स्थान’ निर्धारण गर्नुपर्ने हुन्छ ।

स्वयम्भुको माथि थलीमा उभिएर हेर्नेले र स्वयम्भूकै फेदिमा उभिनेले जे देखिरहेका हुन्छन् सही नै देख्छन्, तर देखिने दृष्य र त्यसले उत्पन्न गराउने अनुभूतिचाहिँ भिन्न–भिन्न हुन्छन् । दुबैले आ–आफूले देखेको तथ्यमा टेकेर धारणा बनाउन र आफू सही भएको प्रमाणित गर्न खोज्छन्, द्वन्द्वको जन्म त्यहीँ हुन्छ । आफूले देखेको र त्यस आधारमा बनाएको धारणा प्रकट गर्नुअघि मान्छे आफू उभिएको या उभिने स्थानबारे स्पष्ट हुन नसक्नाले संसारमा अनेकौँ किसिमका द्वन्द्व पैदा हुन्छन्, भएका छन् । नेपाल पनि यस किसिमको प्रवृत्तिबाट अलग हुन सकेको छैन, दर्जनौँ मतभिन्नताका बीच नेपाली समाज र त्यहाँको राजनीति गुज्रिएको छ ।

पछिल्लो समयमा ‘बहुराष्ट्रिय राज्य’का रूपमा नेपाललाई बुझ्नुपर्ने अवधारणा कतिपय राजनीतिक आवरणका समूहहरूले अघि सारेपछि आमनेपालीमा राष्ट्र, राष्ट्रियता र बहुराष्ट्रियताका विषयमा चासो एवम् जिज्ञाशा पैदा भएको छ ।

नेपालको एकीकरण कुनै एक जाति, भाषिक समूह, सांस्कृति र धार्मिक समुदायबाट भएको होइन । क्षेत्रीहरूको अगुवाइमा, मगर, गुरुङ, ब्राह्मणलगायतका जात जातिको संयुक्त प्रयासमा नेपालको एकीकरण सम्पन्न भएको हो । त्यस क्रममा मुसलमानहरूले समेत अविच्छिन्न सहयोग पुऱ्याएका थिए भने नेवार समुदायले एकीकरण अभियानलाई महास्वागत गरेर योगदान दिएका हुन् ।

युरोपेलीहरूको परिभाषा अनुसार कुनै भाषिक, धार्मिक, सांस्कृतिक र एकै मनोविज्ञानको समूह नै राष्ट्र हो । अष्टे«लियन प्राज्ञ पल जेम्सले एउटा अमूर्त समुदायलाई राष्ट्र मान्न सकिने बताएका छन् भने अमेरिकी राजनीतिशास्त्री बेनेडिक्ट एण्डरसनले ‘परिकल्पना गरिएको समुदाय’ नै राष्ट्र हो भनेका छन् । यिनको भनाइसँग नेपालको सन्दर्भमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको परिकल्पनालाई जोड्न सकिन्छ । गोर्खाका राजा उनले विविध जाति, भाषा र सांस्कृतिक समुदाय हरेको हिमालयदेखि दक्षिणतर्फको भूभागलाई जोडेर एउटा विशाल राज्य निर्माणको परिकल्पना गरे । भारतमा इसाइधर्मी व्रिटिषले ब्यापारीको भेषमा घुसेर राज्य नै कब्जा गरी भूभाग विस्तार गर्न थालेपछि पृथ्वीनारायणले ‘असली हिन्दुस्थान’ बनाउने उदघोषका साथ नेपालको एकीकरण अभियान शुरु गरेका हुन् ।

नेपालको एकीकरण कुनै एक जाति, भाषिक समूह, सांस्कृति र धार्मिक समुदायबाट भएको होइन । क्षेत्रीहरूको अगुवाइमा, मगर, गुरुङ, ब्राह्मणलगायतका जात जातिको संयुक्त प्रयासमा नेपालको एकीकरण सम्पन्न भएको हो । त्यस क्रममा मुसलमानहरूले समेत अविच्छिन्न सहयोग पुऱ्याएका थिए भने नेवार समुदायले एकीकरण अभियानलाई महास्वागत गरेर योगदान दिएका हुन् । यदि काठमाडौं उपत्यकाका नेवार एकीकरणको पक्षमा थिएनन् भने उनीहरू एकजुट भएर प्रतिरोध गर्न सक्थे, गरेनन् । बरु पृथ्वीनारायणको कदमलाई स्वागत गरे, सहयोग पुऱ्याए । तामाङ तथा पूर्वी नेपालका राई र लिम्बुले एकीकरणलाई असहयोग गर्न खोजेको भए पनि तस्बिर अर्कै हुन सक्थ्यो । यसरी यस भूक्षेत्रका सबै आर्थिक, सांस्कृति एवम् जातिको सतप्रयासमा आजको नेपाल उभिएको हो ।

विविधतालाई एउटा सीमाभित्र समेट्ने र त्यसैलाई एउटा राष्ट्रिय राज्यका रूपमा स्थापित गर्ने दूरदृष्टि नेपालको एकीकरणसँगै राखिएको हो । नेपालको सीमाभित्र बोलिने सबै भाषा नेपालीको हो र, यहाँ जुनसुकै धार्मिक, सांस्कृतिक एवम् जातीय समुदाय अस्तित्वमा भए पनि ती सबै नेपाली हुन् । त्यसताक नेपालको समतल भूमिमा बसोबास गर्ने थारु समुदाय र अचेल मधेशी भन्न रुचाउने विभिन्न जातीय एवम् भाषिक तथा सांस्कृतिक समुदायले पनि पृथ्वीनारायणको ‘असली हिन्दुस्थान’ अर्थात् नेपाल स्थापना गर्ने अभियानमा कुनै न कुनै रूपले योगदान पुऱ्याएको हुँदा त्यतिबेलादेखि नै उनीहरूलाई नेपाली राष्ट्रियताभित्र समेटिएको हो । युद्धको समयमा को बढी मारिए, कसले बढी योगदान पुऱ्यायो या कसको देन कति रह्यो भन्ने प्रश्नको निरर्थक जवाफको खोजी गरेर बनिबनाउ एकतामा तनाव र विभाजनको स्थिति पैदा गर्नु कुनै पनि दृष्टिले उचित होइन ।

हामीले हिमालयको दक्षिणतर्फ करिव डेढ लाख वर्ग किलोमिटर क्षेत्रफलको एउटा देश आफ्नै पौरखले खडा गरेका छौँ । हामीभित्रको विविधता र विविधताभित्रको एकतालाई तोडफोड गर्ने विचार–अवधारणा कसैले अघि सार्छ भने त्यस्तो विचार नेपाल र नेपालीको हितमा किमार्थ हुन सक्दैन, बरु नेपाल विघटनको प्रारम्भिक प्रयासका रूपमा त्यसलाई बुझ्नुपर्दछ, किनभने यस्तो अवधारणाको उद्गम जहाँ भयो, जुन उद्देश्य र चालबाजीअनुसार यसलाई अघि बढाउन खोजिएको छ, त्यसको अध्ययन गर्दा नेपालको विघटन गराउनेबाहेक अर्को कुनै उद्देश्यले ‘बहुराष्ट्रिय राज्य’को नारा अघि सारिएको ठान्न सकिँदैन ।

युरोपेलीहरू आफ्नो इतिहास पढेर आधुनिक राज्यहरूको स्थापना धार्मिक, जातीय सांस्कृतिक या भाषिक समुदायका आधारमा भएको ठान्दछन्, जबकि नेपाल राज्यको स्थापना त्यसको ठीक विपरीत धरातलमा उभिएर भएको छ । इसाइ (ब्रिटिष) साम्राज्यविरुद्ध लडेर देश स्थापना गर्नुपर्ने भएकोले इसाइलक्षित कार्यक्रम एकीकरण अभियानका क्रममा पनि तर्जुमा भएको थियो र, काठमाडौं उपत्यका नियन्त्रणमा आउनेवित्तिकै यहाँबाट केपुचिन पादरीहरूलाई देश निकाला गर्नुले पनि इसाइप्रति तत्कालिक नेपाल र नेपालीले निषेधात्मक व्यवहार गरेको देखिन्छ । होइन भने नेपालका सबै धार्मिक, जातीय, सांस्कृतिक र भाषिक समुदाय एक भएर साझा राज्य स्थापनाका निम्ति लडेका हुन् ।

हामीलाई थाहा छ, युरोपमा कुनैबेला पोपहरू प्रत्यक्ष रूपले राजकाजमा संलग्न हुन्थे र, त्यहाँ राज्यहरूको निर्माण पनि जाति र धर्मका आधारमा भएको हो । सन् १५५५ को अस्वर्ग शान्ति सम्झौताले युरोपेलीहरूलाई धर्मका आधारमा राज्य सञ्चालन गर्न पाउने कुरालाई व्यवस्थित गरिदिएको थियो । उक्त सम्झौताले तय गरेको ‘जसको शासन उसकै धर्म’ भन्ने सिद्धान्तलाई सन् १६४८ को वेस्टफालिया सम्झौताले पनि आत्मसात गरेको थियो । बोहिमियाका राजाले सन् १६१८ मा आफ्नो राज्यमा क्याथोलिक धर्म फैलाउन विशेष अभियान शुरु गरेपछि त्यसको प्रतिरोध प्रोटेस्टेण्टहरूले गरे र, त्यसक्रममा शुरु भएको द्वन्द्व पूरा युरोपभर फैलिएपछि सन् १६४८ मा वेस्टफालिया सम्झौता भएको थियो । उक्त सम्झौताले केही राज्यहरूको सार्वभौमिकता र सीमा निश्चित गऱ्यो । राज्यको सार्वभौमिक सर्वोच्चता र सीमाको सिद्धान्तलाई स्थापित गर्ने कार्य उक्त सम्झौताले गरे पनि राज्य स्थापनाको प्रमुख आधार धार्मिक एवम् जातीय समुदायलाई बनाइएको थियो ।

वेस्टफालिया सम्झौताबाट डच (निदरल्याण्ड) र स्पेनबीचको असी वर्ष लामो सङ्घर्षको अन्त्य भएको, निदरल्याण्डले स्पेनबाट पूर्ण स्वतन्त्रता पाएको, स्वेडेनलाई बाल्टिक राज्यहरूमा आफ्नो नियन्त्रण स्थापित गर्ने अवसर मिलेको र फ्रान्सलाई एउटा शक्तिका रूपमा उदाउन मौका प्राप्त भएको भए पनि सम्झौताले राज्य स्थापनाको मूल आधार ‘राष्ट्र’ अर्थात् एउटा निश्चित धर्म, जाति, भाषिक या सांस्कृतिक समुदायलाई बनाएको थियो ।

युरोपेलीहरू आफ्नो इतिहास पढेर आधुनिक राज्यहरूको स्थापना धार्मिक, जातीय सांस्कृतिक या भाषिक समुदायका आधारमा भएको ठान्दछन् । जबकि नेपाल राज्यको स्थापना त्यसको ठीक विपरीत धरातलमा उभिएर भएको छ । इसाइ (ब्रिटिष) साम्राज्यविरुद्ध लडेर देश स्थापना गर्नुपर्ने भएकोले इसाइलक्षित कार्यक्रम एकीकरण अभियानका क्रममा पनि तर्जुमा भएको थियो र, काठमाडौं उपत्यका नियन्त्रणमा आउनेवित्तिकै यहाँबाट केपुचिन पादरीहरूलाई देश निकाला गर्नुले पनि इसाइप्रति तत्कालिक नेपाल र नेपालीले निषेधात्मक व्यवहार गरेको देखिन्छ । होइन भने नेपालका सबै धार्मिक, जातीय, सांस्कृतिक र भाषिक समुदाय एक भएर साझा राज्य स्थापनाका निम्ति लडेका हुन् ।

‘असली हिन्दुस्थान’ स्थापना गर्न इस्लामधर्मी समेतले योगदान दिएर बनेको राज्य नेपाल हो, त्यसैले युरोपेली मान्यताअनुरूपको बहुराष्ट्रिय राज्यको अवधारणा नेपालमा कार्यान्वयन हुन सक्दैन, हुन मिल्दैन । ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन, चार वर्ण छत्तिस जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको भनाइले पनि युरोपमा भन्दा ठीक भिन्न ढङ्गले नेपाल राज्य निर्माण भएको पुष्टि गर्दछ । जुनसुकै जाति, धर्म, संस्कृति र भाषा समुदायका भए पनि एक राष्ट्र ‘नेपाली’ तथा एक राज्य ‘नेपाली’को अभ्यास हामीले गर्दै आएका छौँ र, यसैलाई ‘राज्य राष्ट्र’को अवधारणा भन्ने गरेको छ ।

शताब्दी–शताब्दीसम्म धर्म, जात र भाषाका नाममा लडेका युरोपेलीहरू तिनका दृष्टिमा गरिब तथा असभ्य ठहर भएका नेपालीबीचको एकता र सद्भावबाट सायद लज्जाबोध या इर्ष्या गर्थे । नेपालबाट सिक्न उनीहरूको ‘सुपेरिटी’ले दिएन, त्यसपछि केही बिकाउ पात्रहरूलाई अघि सारेर नेपाललाई पनि राष्ट्रआधारित अनेक राज्यमा विभाजित गर्न उनीहरू लागिपरेका छन् । विविध जाति, भाषा, संस्कृति र धर्म समुदाय मिलेर पनि राज्यको स्थापना हुन सक्छ भन्ने सुन्दर ज्ञानसहितको इतिहास आफ्ना सन्ततिलाई पढाउन छोडेर पश्चिमाहरू आफूहरूले इतिहासमा गरेजस्तै द्वन्द्वको खेती नेपालमा गराउन केही दशकयता भरमग्दुर प्रयास गर्दैछन् ।

विविध जाति, भाषा, संस्कृति र धर्म समुदाय मिलेर पनि राज्यको स्थापना हुन सक्छ भन्ने सुन्दर ज्ञानसहितको इतिहास आफ्ना सन्ततिलाई पढाउन छोडेर पश्चिमाहरू आफूहरूले इतिहासमा गरेजस्तै द्वन्द्वको खेती नेपालमा गराउन केही दशकयता भरमग्दुर प्रयास गर्दैछन् ।

पश्चिमाहरूको यस्तै (बहुराष्ट्रिय राज्य) अवधारणालाई कार्यान्वयनमा ल्याउन खोज्दा विश्वका दर्जनौँ मुलुकहरू आन्तरिक द्वन्द्वमा फसेका छन् । अल्जेरिया, सुडान, दक्षिण अफ्रिका, नाइजर, जाम्बिया, जिम्बाबे, अङ्गोला, कङ्गो, घाना, माली, सेनेगल, सोमालिया र इथियोपियालगायत दुई दर्जन बढि मुलुकमा ‘बहुराष्ट्र’ राज्यको अवधारणालाई पछ्याउँदै विभिन्न जातीय राज्य स्थापनाका निम्ति हिंसात्मक सङ्घर्ष भएका छन् । केही वर्षअघि मात्रै जातिय एवम् धार्मिक द्वन्द्वका कारण विभाजित भएको सुडान र दक्षिणी सुडानमा समेत ‘बहुराष्ट्र’ सूत्रअनुरूप नयाँ राज्य स्थापनाका निम्ति सङ्घर्ष भइरहेका छन् । साउथ सुडानमा नुएर (Nuer) नामक जातिले ‘नुएरल्याण्ड’ राज्य निर्माणका लागि हिंसात्मक युद्ध गरिरहेको छ भने सुडानमा चाहिँ फुर, जघावे, मसलित नामका जातीय समूहहरू डार्फर राज्य माग गर्दै सङ्घर्षरत छन् । धेरै लामो प्रजातान्त्रिक एवम् नश्लीय समानताको सङ्घर्षपश्चात स्थिरता प्राप्त गरेको दक्षिण अफ्रिकामा पनि ‘बहुराष्ट्र’ राज्यको मान्यताअनुरूप ‘अफ्रिकनर्स’ नामक जातीय समुदायले बोएर नामको राज्य बनाउन सङ्घर्ष गरिरेका छन् भने जुलु जातीय समूहले क्वाजलु र अफ्रिकनर्स भाषिक समुदायले केप रिपब्लिकको नाममा अलग राज्य खडा गर्न प्रयास गरिरहेका छन् । त्यस्तै दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेण्टिना, कोलम्विया, भेनेजुएला, चिली र बोलिभियालगायतमा पनि बेग्लै राज्य माग गर्दै विभिन्न जातीय समूह युद्धरत छन् ।

त्यसैगरी एशियाका म्यानमार, इराक, इरान, पाकिस्तान, फिलिपिन्स, टर्की, उज्वेकिस्तान र भारतलगायत करिव दुई दर्जन मुलुकमा जातीय आधारमा बेग्लै राज्य खडा गर्ने उद्देश्यका साथ कुनै न कुनै स्तरको सङ्घर्ष भइरहेका छन् । टर्कीमा त्यहाँको कम्युनिष्ट पार्टीसमेत जातीय राज्य (कुर्दिस्तान) निर्माण गर्न सङ्घर्ष गर्दैछ । त्यहाँ असिरिएन नामक जातीय समुदाय ‘असिरिएन डेमक्रेटिक रिपब्लिकन’ तथा कुर्दिसहरू ‘कुर्दिस्तान’ नामको राज्य खडा गर्न सङ्घर्षरत छन् । म्यानमारमा त्यहाँका कचिन, राखिने चिन, जोमी, कुकी वा शान, रोहिङ्ग्या, मोन, कोकाङ्ग, करेन्नी र करेन जस्ता दर्जन जातीय समूहहरू पनि ‘बहुराष्ट्र राज्य’को अवधारणाअनुरूप आ–आफ्ना राज्य निर्माण गर्न कुनै न कुनै स्तरको युद्ध गर्दैछन् ।

जातीय आधारमा राज्य खडा गर्न खोज्दा युगोस्लाभिया र सोभियत सङ्घ नामक देशहरू विश्व मानचित्रबाट गायब भएको विश्व–इतिहासले भुल्न सक्ने छैन । छिमेकी मित्रराष्ट्र भारतले ब्रिटिष अवधारणाअनुरूप धार्मिक आधारमा राज्य विभाजन हुनुको असैह्य पीडा झेलिसकेको छ भने मुसलमानका नाममा पाकिस्तान र बङ्लादेश खडा भएपछि पनि भारतले अनेकौँ जातीय आधारमा शुरु गरिएका पृथकतावादी आन्दोलनको सामना बेलाबखत गरिरहनु परेको छ ।

नेपाल आमाको रक्षाका निम्ति नेपाली जति एकजुट हुनुपर्ने समय फेरि आएको छ । नेपाली राष्ट्रियतालाई राष्ट्र र राष्ट्रियता नठान्ने, जाति र क्षेत्रियतावादलाई राष्ट्र ठान्ने असुरहरूबाट देशको रक्षा गर्न अहिले नै आ–आफ्ना ठाउँबाट लागिपरेनौँ भने नेपालको इतिहासको सबभन्दा नालायक पुस्ताको रूपमा हाम्रो परिचय स्थापित हुनेछ ।

आफ्नो स्थापनाकालदेखि नै नेपाली राष्ट्रियता, एक राष्ट्र नेपाली तथा एक राज्य नेपालको अभ्यास गरिरहेका हामीलाई जातीय र क्षेत्रिय आधारमा विभाजनको प्रयास हुँदै आएको छ । एकसय उनन्तीस भाषिक समुदाय, एकसय छब्बिस जाति र कम्तिमा आठवटा धार्मिक समुदायलाई कुन आधारमा विभाजन गर्ने र कतिवटा राज्य खडा गर्ने भन्ने प्रश्नको जवाफ खोज्नुभन्दा यस्तो अवधारणा अघि सार्नेहरूको एक-एक पहिचान गरी तिनलाई दण्डित गर्नु वाञ्छनीय देखिन्छ । मुलुकमा क्रान्तिका नाममा चलाइएको हिंसात्मक सङ्घर्षसँगै जातीयता र क्षेत्रियतावादी ‘राजनीति’ मुखरित भएको हो । लामो समय र बिहङ्गम धनराशिको लगानी गरेर नेपालीलाई धर्मनिरपेक्ष राष्ट्र तुल्याइनुका साथै अनेकौँ जातीय राज्य खडा गर्न करोड कोशिस भएको हामी भुल्न सक्दैनौँ ।

हामीले गरेको अभ्यासबाट नेपालमा सङ्घीय संरचना उपयुक्त हुँदै होइन भन्ने पुष्टि भइसकेको छ । यति सानो र सम्वेदनशील मुलुकको सार्वभौमिकता सात खण्डमा विभाजित गर्नुको औचित्य कहिल्यै पुष्टि हुन नसक्ने अवस्था हुँदाहुँदै पनि कम्तिमा जातीय आधारमा प्रदेशहरूको निर्माण नभएकोमा हामीले चित्त बुझाएका हौँ । अब जातीय मुद्दा र देश विभाजनको विषय नेपाली राजनीतिमा देखापर्न सक्दैन भन्ने विश्वास बढ्न थालेको थियो । तर, एउटा सरकार विस्थापित गरेर अर्को सरकार स्थापना गर्ने प्रयाससँगै पृथकवादीहरू पुनः सलबलाएका छन् ।

मूख्य प्रश्न सिङ्गै मुलुकलाई एक राष्ट्र राज्य मान्ने कि समूहपिच्छे बेग्लाबेग्लै राज्य निर्माण गर्ने भन्ने हो । यसअघि हामी जो–जहाँ उभिएका भए पनि एकपटक फेरि नेपाली आमाको एक मुठ्ठी माटो हातमा लिएर देशका निम्ति कसम खाने बेला आएको छ । सबभन्दा ठूलो र फराकिलो ब्रहमचिन्तन हो, तथापि आफ्नो जन्मभूमिलाई केन्द्रमा राखेर हेर्दा हामी एउटा निश्कर्षमा पुग्नैपर्छ- ‘देशभन्दा ठूलो वाद-विचार केही हुनै सक्दैन ।’ त्यसैले नेपाल आमाको रक्षाका निम्ति नेपाली जति एकजुट हुनुपर्ने समय फेरि आएको छ । नेपाली राष्ट्रियतालाई राष्ट्र र राष्ट्रियता नठान्ने, जाति र क्षेत्रियतावादलाई राष्ट्र ठान्ने असुरहरूबाट देशको रक्षा गर्न अहिले नै आ–आफ्ना ठाउँबाट लागिपरेनौँ भने नेपालको इतिहासको सबभन्दा नालायक पुस्ताको रूपमा हाम्रो परिचय स्थापित हुनेछ, जय मातृभूमि !