मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले गत सोमवार जारी गरेको दुई अध्यादेश ल्याउने निर्णय फिर्ता गरेको उर्जामन्त्री वर्षमान पुनले  बताएका छन्।

कोरोनाभाइरसको महामारी चलिरहेका बेला सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा संशोधन गर्नका लागि अध्यादेश ल्याएको भन्दै चर्को आलोचना भएको थियो।

संसद्को अधिवेशन नचलेका बेला ल्याइएको अध्यादेशको मन्त्रिपरिषद्ले पारित गरेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन्।

नेपाल कम्युनिस्ट पार्टीकै शीर्ष नेताहरूले दलभित्र छलफल नगरी त्यस्तो अध्यादेश ल्याइएको भन्दै अर्का अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरूले असन्तुष्टी जनाएका थिए।

सचिवालय बैठकमा छलफल भएपनि नेताहरू कुनै निस्कर्षमा पुग्न नसकेपछि पार्टीको स्थायी समितिको बैठक डाक्न माग गर्दै हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो।

परिवर्तन गरिएको व्यवस्था

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले राजनीतिक दलसम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय गरेपछि त्यसले सिङ्गो राजनीतिलाई तरङ्गित तुल्याइदिएको थियो।

खासगरी सत्ताधारी नेकपाभित्र विवाद चर्किँदै गएको ठानिएका बेला सरकारले पार्टी विभाजन गर्न सकिने व्यवस्थालाई खुकुलो बनाउने निर्णय गरेको थियो।

वर्तमान कानुनमा कुनै पनि पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यले चाहेमा नयाँ दल बनाउन सकिने उल्लेख छ।

पछिल्लो अध्यादेशमा यी दुई मध्ये एउटा मात्रै मापदण्ड पूरा हुँदा पनि पार्टी विभाजन गर्न सकिने व्यवस्था राखिएको थियो।