महान अक्टोबर क्रान्तिका नेता लेनिनको जन्म अप्रिल २२ का दिनमा पारेर वि.सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । हरेक बर्ष अप्रिल २२ लाई लेनिनको जन्मदिन र नेकपाको स्थापना दिवस मनाउने गरिन्छ । स्वभाविकरुपले यस दिन नेपालमा पुष्पलाललाई पनि सम्झिने गरिन्छ । पार्टी स्थापनाकै दिन प्रकाशित नेकपाको पहिलो पर्चाले जहानियाँ राणा शासनका बिरुद्धमा र स्वतन्त्रताको पक्षमा उभिन जनतालाई आव्हान गरेको थियो । नेपालका प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारी जसले मकैको खेती लेखे, उनलाई वि.सं. १९७७ मा राणाहरुले पक्रिएर जेल हालेका थिए र तीन वर्षपछि  जेलमा मृत्यु भएको थियो । अर्का शहीद गङ्गालाल, जो पुष्पलालका दाजु थिए र उनलाई राणा विरोधी गतिविधिमा लागेको आरोपमा विसं. १९९७ मा मृत्युदण्ड दिइएको थियो । नेकपाका सङ्स्थापक महासचिव पुष्पलाल थिए । तीनैजनाको जन्मस्थान रामेछाप हो । रामेछापलाई ‘तीन लाल’को जिल्ला पनि भनिन्छ, कृष्णलाल, गङ्गालाल र पुष्पलाल । माक्र्स, एङ्गेल्स लिखित कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा उल्था गर्ने प्रथम व्यक्ति पुष्पलाल थिए । पैसाको अभावको बीचमा सहयोग सङ्कलन गरेर निकै दुःखका साथ उनले त्यसलाई छपाएका थिए । नेकपाको स्थापना हुनुभन्दा पहिले अप्रिल ५ मा प्रकाशित भएको थियो । जसरी प्लेखानोभले पहिलोपटक रुसी भाषामा कम्युनिस्ट घोषणापत्र उल्था गरेर रुसमा कम्युनिस्ट सिद्धान्तको प्रचारप्रसार गरेका थिए । त्यसै प्रकारको योगदान नेपालमा पुष्पलालको रहेको कुरा इतिहाससिद्ध छ ।

पुष्पलालकै नेतृत्वमा पहिलोपटक वि.सं. २००६ सेप्टेम्बर १५ मा नेकपाको प्रथम घोषणापत्र जारी गरिएको थियो । नेपाली समाजको चरित्रलाई माक्र्सवादी लेनिनवादी दृष्टिकोणबाट विश्लेषण गरिएको यो पहिलो आधिकारिक दस्तावेज हो । जसले नेपाली राज्यसत्ता र सामाजिक चरित्रलाई अर्ध सामन्ती र अर्ध औपनिवेसिक रहेको बताएको थियो । यही दस्तावेजमा मजदुर, किसान, महिला, युवक÷विद्यार्थी लगायतका जनवर्गका माग लिपिबद्ध गरिएको छ । ती अहिले पनि सान्दर्भिक छन्, जस्तो कि किसानको तेभागा आन्दोलन अहिले पनि पूरा भएको छैन । नेपालको कम्युनिस्ट आन्दोलनको लक्ष्य नयाँ जनवाद हुँदै समाजवाद र साम्यवाद हुनुपर्छ भनेर लक्ष्यको किटानी गर्ने काम पहिलोपटक पुष्पलालकै नेतृत्वमा भएको थियो । जीवनभरि लेखेर, बोलेर र ब्यबहारिकरुपमा त्यसप्रति प्रतिबद्ध रहेर पुष्पलालले आफ्नो सिद्धान्तनिष्ठतालाई कमजोर बन्न दिएनन् ।

नेपालको इतिहासलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट लेख्ने र विश्लेषण गर्ने पहिलो व्यक्ति पुष्पलाल थिए । ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य’, ‘नेपालमा मातृसत्तात्मक समाज’, ‘नेपाली जनाअन्दोलनको एक समीक्षा’, लगायतका इतिहाससम्बद्ध लेखहरु उनले लेखेका थिए । ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा इतिहास लेख्ने लेखक, विश्लेषकहरुलाई पुष्पलालका ती रचनाहरु महत्वपूर्ण आधार बन्ने गरेका छन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा चलेको महान बहस, माओको नेतृत्वको चिनियाँ धार र ख्रुश्चेभ नेतृत्वको रसियाली धारमा पुष्पलालले मूलरुपमा चिनियाँ धारको पक्ष लिएका थिए । रसियाली सामाजिक प्रजातन्त्रको धार र चिनियाँ नयाँ जनवादको धारमध्य उनले नयाँ जनवादको धारलाई रोजे र नेपालको सन्दर्भमा नयाँ जनवाद कस्तो हुनुपर्छ भनेर ‘नयाँ जनवादी कार्यक्रम’ शीर्षकमा दस्तावेज पनि लेखे । साँस्कृतिक संघर्षप्रति पुष्पलाल स्पष्ट थिए । उनले मोदनाथ प्रश्रित, मदन भन्डारी, दिल साहनी लगायतलाई राखेर ‘जनवादी क्रान्तिकारी साँस्कृतिक मोर्चा’ नामक साँस्कृतिक सङ्गठन पनि बनाएका थिए । तर, उनीहरुले पुष्पलालको पार्टी परित्याग गरे । युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, बोधराज काफ्ले, जीवराज आश्रित, दिल साहनीको सहयोगमा पुष्पलालले ‘नयाँ जनवादी सँस्कृति’ शीर्षकमा पार्टी दस्तावेज तयार पारेका थिए । जुन दस्तावेजमा नेपालको कला र साहित्यलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्ने कोसिस गरिएको छ ।

पुष्पलालप्रति आलोचनाहरु पनि छन् । वि.सं. २०१३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाने बेलामा तीन जनामध्य मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ निर्विरोध छनौट भए । कमर साहसित मतदान हुँदा पुष्पलाल एक भोटले पराजित भए र चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा जान पाएनन् । महासचिव मनमोहन अधिकारी चीन गएका बेला कार्यबाहक महासचिव हुनुहोस् भन्ने साथीहरुको अनुरोधलाई पुष्पलालले मान्दै मानेनन् । जसले गर्दा केशरजंग रायमाझीले कार्यवाहक महासचिव बन्ने अवसर पाए । अधिकारी कुष्ठरोगी भएकाले लामो समयसम्म उपचार गरेर उतै बस्नु पर्यो । त्यतिबेला पुष्पलालले कार्यवाहक महासचिव बन्न स्वीकार गरेको भए रायमाझीको राजावादी र दक्षिणपन्थी धार त्यति बलियो हुन पाउने थिएन । चीन जान नपाएको झोंकमा कार्यवाहक महासचिव बन्न अस्वीकार गर्नु उनको कमजोरी थियो भन्ने आलोचना छ । नेपाली कांग्रेसलाई सामन्त, दलाल तथा नोकरशाही पूँजीपति वर्गको पार्टीको रुपमा मूल्यांकन गर्न उनी चुके । कांग्रेसलाई राष्ट्रिय पूँजीपति वर्गको पार्टीको रुपमा नेपाली क्रान्तिको मित्रशक्तिको रुपमा बुझ्नु उनको कमजोरी थियो । राजतन्त्रका बिरुद्धमा कांग्रेससित  कार्यगत एकताको हदसम्म मात्र उनको विचार ठीक थियो ।

कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरू चारजना पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द बैद्य र नारायणबिलास जोशी थिए भन्ने कुरामा विवाद छैन । तर मोतिदेवी श्रेष्ठबारे उनी संस्थापक हुन् कि हैनन् भन्ने बारेमा विवाद रहँदै आएको छ । यो विवाद निम्त्याउनुमा पुष्पलाललाई दोषी देखाउने गरिन्छ । नेकपा स्थापना दिवस अप्रिल २२ हो कि सेप्टेम्बर १५ हो भन्ने बारेमा पनि विवाद देखिन्छ । सेप्टेम्बर १५ मा नेकपाको घोषणापत्र जारी गरिएको दिन थियो । घोषणापत्र जारी गर्ने बेला पार्टी पुनर्गठन गरिएको थियो र पुष्पलालसहित मनमोहन अधिकारी, शैलेन्द्र उपाध्याय, तुलसीलाल अमात्य, डीपी अधिकारीलाई पार्टी समितिमा राखिएको थियो ।  अचम्मलाग्दो कुरा संस्थापक अन्य सदस्यहरु पुष्पलालबाहेक अरु कसैलाई पनि पुनर्गठित समितिमा राखिएन । नेकपाका इतिहास लेखक सुरेन्द्र केसी र भीम रावलले १५ सेप्टेम्बरलाई स्थापना दिवस मान्नुपर्ने भनेका छन् । तर केसी र रावलले अप्रिल २२ मा निर्माण भएको समितिका सदस्यहरु नरबहादुर, निरन्जन, नारायण बिलासलाई संस्थापक मानेको र मनमोहन, तुलसीलाल, डीपीजस्ता १५ सेप्टेम्बरमा पुनर्गठित समितिका सदस्यहरुलाई संस्थापक नमानेको देखिन्छ । यसबाट अप्रिल २२ नै नेकपाको स्थापना दिन हो भन्नेमा धेरै विवाद गरिरहनु नपर्ने देखिन्छ । पुष्पलाल जीवित छँदै यो विवाद आएको थियो । यो विषयलाई प्रष्ट पार्न नखोज्नु पुष्पलालको कमजोरी थियो । नेकपा स्थापनाका बेलासम्म अरु पनि धेरै मानिसहरु कम्युनिष्ट बनिसकेका थिए ।

कांग्रेसले जस्तै अरु धेरै जनालाई संस्थापक बनाएको भए हुन्थ्यो भन्ने दुःख मनाउ गरेको पाइन्छ । कुनै बेला लेखकसित कमलराज रेग्मीले यस्तै कुरा सुनाएका थिए किनभने मनमोहन अधिकारी त भारतीय कम्युनिस्ट पार्टीमा आवद्ध भएर बिराटनगर मजदुर आन्दोलनमा सहभागी भएका थिए । कलकत्ता लगायत भारतका विभिन्न ठाउँमा पढ्न गएका विद्यार्थीहरु भारतीय कम्युनिस्ट आन्दोलनमा सहभागी भएका थिए । कतिपयले त नेवारहरुलाई मात्र संस्थापक बनाए भनेर जातीय सोचका भनेर आलोचना गरेको पनि पाइन्छ । तर त्यसमा त्यति धेरै सत्यता छैन जस्तो लाग्छ । उनी जातीयताभन्दा माथि उठेका नेता थिए । त्यसैले उनले श्रेष्ठ थर नै हटाइदिएर पुष्पलाल मात्र नाम लेख्ने गर्थे भन्नेहरु पनि छन् । पार्टीलाई एक ढिक्का राख्न सकेनन् । त्यसका पछि उनका निजी महत्वाकांक्षाले पनि काम गरेको थियो भन्ने उनीमाथि आलोचना रहँदै आएको छ । १९८१ असार १५ मा जन्मिएका पुष्पलालको मृत्यु २०३५ साउन ७ मा भएको थियो । ५५÷५६ को उमेरमा मृत्यु भएकाले उनको उमेर छँदै मृत्यु भएको देखिन्छ । अझ धेरै बाँच्न सकेको भए उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ धेरै सैद्धान्तिक, राजनीतिक योगदान पुराउन सक्थे । पञ्चायती व्यवस्था पुष्पलालप्रति कति धेरै दुश्मनी राख्दथ्यो भन्ने कुरा उनको मृत्युपछि शव लिन त दिएन नै अस्तुसम्म पनि नेपाल लिन दिएन । पार्टी स्थापना दिवसका बेला पुष्पलालका योगदानलाई स्मरण गरौं