कविता               निजीकरण सहितको समाजवाद                                      आविष्कार कला

एउटै सरहद भित्रका
जेठाहरु, कालेहरु
माईलीहरु,चमेलीहरु
उमेर बढ्दै जादा
बहादुरसिंह र कुमारी बन्छन् ।।

हुत्याउछ हिमालको हावा
उडाउछ पहाडको पवन
अत्याउछ तराईको लु
गोर्खाली मन ,लड्छ फेरि उठ्छ ।।

नदिनाला धेरै भएको देशमा
पसिना पोख्दा
महासागर यतै पो बन्छ कि  भनी
सचेत छ मेरो देश
बहादुरसिंह ,कुमारीहरुलाई
गोर्खाली ईतिहास सम्झाउन
भारत मात्रै होइन
खाडीमा , कोरिया
पठाउछ अनेक मुलुक
पसिना पोख्न मेरो देश ।।

लालसलाम कामरेड
जय नेपाल दाजु
भन्नेहरुलाई विर्सन्छन्
आसनमा पुगेपछि
केवल सम्झन्छ
प्रत्येक भाषणमा
जेलका चिसो छिडि
तारे भिरका रात्रिकालिन यात्रा
बिर्सन्छन सहपाठीका नाम
जेलमा डायरी हराए संगै हराउछ ।।

हुलका हुल नौजवानहरु
पसिना पोख्न रवाना हुन्छन्  सीमा पारी
सीमाना पारी
धिकार्छन सहपाठीलाई
शासक बनेपछि बोल्छ जेठो
उड्ने चरीलाई रोक्नु हुन्न
संसारभर पुग्छ नेपाली ।।

समाजवादको अभ्यास
२०७२ को दस्तावेज बोल्छ
बैज्ञानिक समाजवाद
प्रजातान्त्रिक समाजवाद
होइन, होइन
निजीकरण सहितको समाजवाद ।।

सरकार जनताको लागि सम्पूर्ण काम गर्न तयार छ
भाषणमा
बाकी कार्यान्वयन मात्रै त हो नि
पहिले आफू बलियो नभई कसरी देश बनाउने
मात्रै केही दशक लाग्न सक्छ ।।

देशको सीमाना दुख्दा काँडेतार अभियान
कोरोनाको कहरमा
अमृतरुपी पोकाहरु
कोरियाबाट पठाउछन
पसिना पोख्न समुन्द्रको किनारमा पुगेका
बहादुरीसिंह र कुमारीहरु
यता सहपाठीले भन्न बाकी छ
साथीले केही उपहार मलाई पठाएको छ कि ? ।।

समाजवादी सरकार
जनताको गोजी जाच्ने
अस्पतालको ताला खोल्न सक्दैन
कार्वाही
कार्वाही होइन मायाले चलाउनु पर्छ देश
यो आसनको वाणी हो
बहादुरसिंह र कुमारीका परिवारहरु
सिटामोल नपाएर
निजी अस्पतालबाट फर्कन्छन
यो युगको समाजवाद
निजीकरण सहितको समाजवाद हो
एउटा दस्तावेज आउन बाकी छ ।।

बहादुरसिंह र कुमारी मनहरु
हिमालमा छन्
पहाडमा छन्
तराईमा छन्
बहादुरसिंह र कुमारीहरु
आफ्नो मन कहिल्यै नलानु
आसन तिर
त्यो आसनले
हिमाल ,पहाड ,तराई देख्दैन
तिमीले देखे जस्तो पिडा देख्दैन
तिमी सदैब कुमारी बन्नु
बहादुरसिंह बन्नु ।।       everestkala@gmail.com