अहिले विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्कटले हाम्रो देशको सन्दर्भमा पनि दुईवटा कुराहरू प्रस्ट गरेको छ । प्रथम, नेपाल विदेशी सहायता र आयातमा अत्याधिक रूपमा निर्भर छ र त्यसको अभावमा नेपालको अस्तित्व र सामान्य जीवन निर्वाह पनि सम्भव छैन । द्वितीय, नेपालीहरू संसारको जुन कुनामा गए पनि अन्तमा दुःख वा सङ्कटको बेलामा काम लाग्ने आफ्नो देश नै हो ।

त्यो वस्तुगत अवस्थाले हामीलाई दुईवटा शिक्षा दिएको छ । प्रथम, नेपाललाई आत्मनिर्भर बनाउनुपर्दछ । द्वितीय, नेपालीहरूले आफ्नो देश बनाउने काममा मुख्य जोड दिनुपर्दछ ।

हामीले उक्त शिक्षा ग्रहण गर्ने र तिनीहरूलाई लागू गर्ने कार्यमा कति ध्यान दिने छौँ ? त्यसमाथि नै देश र जनताको भविष्य निर्भर गर्नेछ ।

हाम्रो देश विदेशमाथि कति धेरै निर्भर रहेको छ ? कोरोना भाइरसको विश्वव्यापी सङ्कटको बेलामा धेरै नै प्रस्ट भएको छ । त्यो कुरालाई अर्को शब्दमा यसरी भन्न सकिन्छ – हाम्रो स्थिति कति कमजोर रहेछ ? त्यो कुरा एकदम उदाङ्गो भएको छ । यहाँसम्म कि स्वयं कोरोना भाइरसको प्राथमिक उपचारका लागि आवश्यक पर्ने प्राथमिक औषधी वा उपकरणहरू पनि अन्य देशहरूबाट नल्याउने हो भने हामी बाँच्न पनि सक्दैनौँ । त्यो बाहेक जीवन निर्वाहका लागि आवश्यक पर्ने उपभोग्य सामग्रीहरूका लागि पनि हामी काफी हदसम्म विदेशमा नै निर्भर छौँ । त्यो स्थितिले बताउँछ कि, हाम्रो अर्थतन्त्र विदेशबाट आयात गरिएका सामग्रीहरूमाथि नै निर्भर छ ।

विदेशी भूमिलाई कुनै पनि रूपमा उपयोग नगर्ने भन्ने होइन । आजको युगमा त्यसो गर्नु सम्भव पनि हुँदैन । तर, सबै नेपालीहरूले प्राथमिक रूपमा आफ्नो देशमा बस्ने र देशलाई बनाउने कुरामा नै जोड दिनुपर्दछ

भारतबाट विभिन्न समयमा गरिएको नाकाबन्दीले पनि बताएको थियो, विदेशबाट आयात बन्द हुने बित्तिकै हाम्रो सम्पूर्ण जीवनप्रणाली नै धराशायी हुन्छ । अहिले चीनबाट आएका स्वास्थ्यसम्बन्धी केही औषधि वा उपकरणहरूका कारणले कोरोना भाइरसको उपचारका लागि केही मद्दत पुगेको छ । ती सामग्रीहरू पनि विश्व स्वास्थ्य सङ्गठनले निर्धारित गरेको मापदण्ड अनुसार नभएको कुरा अगाडि आएको छ । तैपनि हाम्रो अगाडि तिनीहरूमाथि भर पर्नु बाहेक अरू कुनै विकल्प छैन । अहिले चीनबाट आएका सामग्रीबाट तात्कालिक रूपमा केही काम चलेपनि त्यो समस्याको स्थायी समाधान होइन ।

अहिले कोरोना भाइरसको विश्वव्यापी सङ्कटका कारणले संसारभरि फैलिएका नेपालीहरूमा खलबल मच्चिएको छ । प्रथमतः बिभिन्न देशहरूमा उनीहरूको रोजगारी समाप्त भएको छ वा त्यसमा ठूलो मात्रामा कटौती हुने स्थिति उत्पन्न भएको छ । त्यो स्थितिमा ती देशहरूमा बस्नु नेपालीहरूका लागि सम्भव हुने कुरा भएन र उनीहरूका अगाडि एउटै विकल्प बाँकी रहन्छ – स्वदेशमा फर्किनु ।

कैयौँ देशहरूका सरकारहरूले विदेशी नागरिकहरूलाई देश छाडेर जान भन्न थालेका छन् । उदाहरणका लागि, अस्ट्रेलियामा सबै विदेशी विद्यार्थीहरूलाई त्यहाँबाट आफ्नो आफ्नो देशमा फर्कन भनिएको छ भने अमेरिकी राष्ट्रपतिले पनि अमेरिकामा भएका विदेशी नागरिकहरूलाई देश छाडेर जान सूचना जारी गरेका छन् ।

यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि, सम्भवतः अन्य देशहरूमा पनि ढिलो छिटो नेपालीहरूले त्यसप्रकारको स्थितिको सामना गर्नुपर्नेछ । पहिले बर्मा (म्यानमार) र आसामबाट समेत ठूलो सङ्ख्यामा नेपालीहरूलाई निकालिएका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । त्यसरी निकालिएका नेपालीहरू नेपालमा नै फर्केर आउनु परेको थियो । ती केही उदाहरणहरूले पनि यो कुरा प्रस्ट गरेका छन् कि विदेशमा तात्कालिक रूपमा केही फाइदा उठाउन सके पनि हामीले अन्तिम र स्थायी समाधान देशभित्र नै खोज्नुपर्दछ । देशभित्र स्थायी समाधान खोज्नुको अर्थ हो– देशलाई बनाउनुपर्दछ । संक्षिप्तमा सूत्रका रूपमा त्यो कुरालाई यसरी भन्न सकिन्छ- देशमा नै बसौँ, देशलाई बनाऔँ ।

यसको अर्थ विदेशी भूमिलाई कुनै पनि रूपमा उपयोग नगर्ने भन्ने होइन । आजको युगमा त्यसो गर्नु सम्भव पनि हुँदैन । तर, सबै नेपालीहरूले प्राथमिक रूपमा आफ्नो देशमा बस्ने र देशलाई बनाउने कुरामा नै जोड दिनुपर्दछ ।

कुनै पनि देशले विदेशीहरूलाई आफ्नो आवश्यकता अनुसार नै उपयोग गर्ने गर्दछ र आवश्यकता नै नभएको अवस्थामा उनीहरूलाई निकालिदिन्छन् । कुनै देशको सरकारले औपचारिक वा घोषितरूपले विदेशी नागरिकहरूलाई ननिकाले पनि त्यहाँ रोजगारीका अवसरहरू समाप्त भएपछि त्यहाँ बस्नु सम्भव हुँदैन र आफ्नो देशमा फर्कनुपर्दछ ।

खास गरेर दुईवटा कारणले कुनै देशमा विदेशीहरूको उपयोगिता कम हुने गर्दछ । प्रथमः कुनै देशको अर्थतन्त्रमा विदेशीहरूको उपयोगिता नभएपछि । द्वितीय, विदेशीहरूको उपस्थितिका कारणले देशभित्रका मानिसहरूका लागि नै रोजगारीको समस्या उत्पन्न भएपछि । केही उदाहरणहरूले त्यो कुरामाथि राम्ररी प्रकाश हाल्नेछन् ।

द्वितीय विश्वयुद्धका कारणले युरोपको अर्थतन्त्र ध्वस्त भएको थियो । त्यो बेला त्यहाँ पुननिर्माणका लागि ठुलो सङ्ख्यामा मजदुरहरूको आवश्यकता थियो । त्यो स्थितिमा त्यहाँ विदेशीहरूलाई युरोपमा आउनको लागि छुट मात्र दिइएको थिएन, तर उनीहरूलाई प्रोत्साहित पनि गरिएको थियो । तर, पछि विदेशीहरूको आगमनमाथि नियन्त्रण गर्न थालियो ।

युरोपमा ठूलो सङ्ख्यामा बेरोजगारी बढ्दै गयो । त्यसपछि जनस्तरमा नै विदेशी मजदुरहरूका ठाउँमा स्वदेशी मजदुरहरूको सङ्ख्या बढाउन माग बढ्दै गयो । उदाहरणका लागि, अहिले यूरोपका कतिपय देशमा मुख्यतः जर्मनीमा नवनाजीवादी आन्दोलन बढेर गएको छ, जसले त्यहाँ भएका विदेशीहरूलाई धपाउने आन्दोलन तीव्र पारेका छन् र कतिपय अवस्थामा भौतिक आक्रमण पनि गर्ने गरेका छन् ।

यूरोप र अमेरिकाका देशहरूमा एउटा ‘राष्ट्रवादी’ जनमत बढ्दै गइरहेको छ, जसले त्यहाँ विदेशी मानिसहरूलाई आफ्नो देशमा काम गर्न नदिने अभियान चलाइरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मुख्यतः त्यही नारा दिएर चुनाव जितेका थिए । उनले एक वा अर्को प्रकारले विदेशीहरूलाई आफ्नो देशबाट निकाल्ने कुरामा जोड दिने गरेका छन् । त्यसरी युरोप अमेरिकामा पहिले विदेशीहरूका लागि काम पाउन जति सजिलो थियो, अब छैन ।

भारतमा पनि पहिले नेपालीहरूले राम्रो नोकरीहरू पाउँथे । तर, अब त्यसप्रकारको स्थिति बदलिएर गएको छ । विभिन्न नोकरीहरूमा नेपालीहरूलाई कटौती गर्न विभिन्न राज्य सरकारहरूले कैयौँ कानुनहरू बनाउँदै गइरहेका छन् । जापानकै कुरा गरौँ, त्यहाँ गएका नेपालीहरूलाई काम पाउन अब पहिलेजस्तो सजिलो छैन ।

विभिन्न देशहरूको आर्थिक अवस्थाले पनि त्यहाँ विदेशीहरूको रोजगारीमा धेरै नै असर पार्ने गर्दछ । पुँजीवादभित्र विभिन्न समयमा गम्भीर प्रकारका आर्थिक मन्दी वा सङ्कटहरू पैदा हुने गर्दछन् । त्यो स्थितिमा उनीहरूले ठूलो सङ्ख्यामा कारखानाहरू बन्द गर्ने वा मजदुरहरूलाई छटनी गर्ने गर्दछन् । त्यो कारणले पनि संसारका कैयौँ देशहरूमा नेपालीहरूको रोजगारीमा असर पर्दछ

अहिले कोरोना भाइरसका कारणले विश्वव्यापीरूपमा नै स्वास्थ्यमा गम्भीर समस्या वा सङ्कट नै उत्पन्न भएको छ । विश्वव्यापी रूपमा नै ठूलो सङ्ख्यामा त्यो भाइरसबाट मानिसहरू सङ्क्रमित भइरहेका छन् वा उनीहरूको मृत्यु पनि हुने गरेको छ । पछिल्लो समाचारअनुसार अहिलेसम्म सवा लाख मानिसहरूको मृत्यु भइसकेको छ र त्यो सङ्ख्या बढ्दो क्रममा छ । त्यो रोगको अहिलेसम्म कुनै औषधी पत्ता लागेको छैन र आउने दिनहरूमा त्यसले कति क्षति पुर्‍याउने हो ? अनुमान गर्न गाह्रो छ ।

नेपालको नै कुरा गरौँ ।

अहिलेसम्म त्यसले महामारीको रूप लिइसकेको छैन र सरकारी रिपोर्टअनुसार त्यसबाट अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन । तर, सम्बन्धित सबै कुराहरूमाथि विचार गर्दा एकातिर, विश्वव्यापीरूपमा र हाम्रो छिमेकी देश भारतमा समेत त्यसको बढिरहेको सङ्क्रमण र अर्कातिर, त्यसमाथि नियन्त्रण गर्नका लागि देशभित्र आवश्यक साधन र स्रोत वा स्वास्थ्यसम्बन्धी उपकरण र जनशक्ति समेतको कमीमाथि विचार गर्दा त्यसले (कोरोना भाइरसले) व्यापक वा महामारीको रूप लिनसक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । अहिले त्यसको (कोरोना भाइरसको) देशमा सीमित असर परेको अवस्थामा पनि त्यसको रोकथामका लागि पर्याप्त तयारी भएको देखिन्न । यदि त्यसले देशव्यापी सङ्क्रमणको रूप लियो भने त्यसको सामना गर्नका लागि अहिलेसम्म भएको तयारी कति धेरै अपर्याप्त हुनेछ ? कसैले पनि त्यो कुराको अनुमान गर्न सक्छ ।

अहिलेसम्म पूरै संसार र नेपाल पनि कोरोना भाइरसको स्वास्थ्यसम्बन्धी समस्यासित नै जुधिरहेको छ । तर, हामीले आशा गरौँ वा हामीलाई विश्वास पनि छ, अहिले विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरसको समस्या लामो समयसम्म रहिरहने छैन र मानवजातिले त्यसमाथि नियन्त्रण गर्ने वा विजय प्राप्त गर्नेछ ।

तर, त्यो समस्याको समाधान भए पनि त्यसले आफ्नो पछाडि विश्वव्यापीरूपमा नै गम्भीर प्रकारका असरहरू छोडेर जाने छ । त्यसको सबैभन्दा ठूलो असर अर्थतन्त्र र जनजीवनमा पर्नेछ । पहिले विभिन्न देशमा भएका भूकम्प, बाढीपहिरो, सुनामी आदि प्राकृतिक घटनाहरू वा युद्धहरू समेतका कारणले अर्थतन्त्रमा वा जनजीवनमा पर्ने गरेका असरबारे हामीलाई थाहा छ । तर, हामीले पुनः कोरोना भाइरसको परिणामस्वरूप पर्ने असर ती सबैकोभन्दा बढी हुने छ । किनभने, यो कुनै देश वा महादेशभित्र मात्र सीमित नरहेर त्यसले विश्वव्यापी रूप लिएको छ ।

अहिले लकडाउनको स्थितिमा नै धेरै देशहरूका अर्थतन्त्रहरूमा गम्भीर प्रकारको सङ्कट देखापर्न थालेको छ र त्यसको असर व्यापक जनसमूहको जीवनमा पर्न थालेको छ । लकडाउनका कारणले कैयौँ देशहरूका उद्योगधन्दाहरू बन्द भएका छन् र मजदुरहरूको रोजगारी समाप्त भएको छ । व्यापार वा त्यही प्रकारका अन्य कारोबारहरू पनि क्षतिग्रस्त हुँदै गएका छन् । त्यसको असर कृषि, व्यापार आदिमा पनि परेको छ ।

बताइरहनुपर्ने आवश्यकता छैन कि, कोरोना भाइरसले आफ्नो पछाडि विश्वव्यापीरूपमा आर्थिक मन्दी र सङ्कटको स्थिति पैदा गर्नेछ । त्यसको परिणामस्वरूप संसारभरि नै नेपालीहरूको रोजगारीमा पनि ठूलो कटौती हुनेछ । खाडीका देशहरूमा अहिले नै त्यसको असर परिसकेको छ । अन्य देशहरूमा पनि त्यसको असर पर्दै जाने छ । त्यसको परिणाम यो हुनेछ कि विदेशमा गएका नेपालीहरू ठूलो सङ्ख्यामा नेपालमा नै फर्केर आउनु पर्नेछ ।

अहिले लकडाउनका कारणले विभिन्न देशहरूमा वा भारतको सीमामा थुनिएर बसेका नेपालीहरू पनि स्थिति सहज हुने बित्तिकै नेपालमा आउन थाल्नेछन् । त्यो अवस्थामा नेपालमा आउने रेमिटेन्स त कम हुने नै छ, त्यसका साथै नेपालमा बेरोजगारीको ठूलो समस्या पैदा हुनेछ । त्यो स्थितिलाई कसरी समाधान गर्ने, त्यसप्रति सबैको ध्यान जानुपर्ने आवश्यकता छ । त्यसको समाधान खाली एउटै तरिकाले हुन सक्दछ- त्यो हो – देशलाई बनाउने ।

देशलाई बनाउनु भन्नुको अर्थ हुन्छ – उत्पादनमा वृद्धि । पुनः त्यसको अर्थ हुन्छ, कृषि र उद्योगधन्दाको विकास । अहिलेसम्म स्वयं देशमा कुनै उत्पादन वा विकास नगरिकन विदेशबाट आएको आयात सहयोग, ऋण वा रेमिट्यान्सको आधारमा बाँचिरहेको नेपालका लागि त्यसो गर्नु सजिलो हुने छैन । वास्तवमा त्यो एक प्रकारको बोझ नै हुनेछ । तर, उत्पादनको वृद्धि र देशको विकास वा देशलाई आत्मनिर्भर बनाउनुबाहेक हाम्रा अगाडि अन्य कुनै विकल्प छैन ।

उत्पादनको वृद्धि या देशको विकासका लागि सबैभन्दा महत्त्वको कुरा राजनीति नै हो । राजनीतिको केन्द्रबिन्दुमा राजनीतिक पार्टीहरू वा सरकार नै हुन्छन् । तिनीहरू मध्ये पनि प्रत्यक्ष रूपले सरकारको भूमिका नै निर्णयात्मक हुन्छ । किनभने, सरकारले कुन प्रकारको नीति वा योजना बनाउँछ र त्यसको भूमिका कुन प्रकारको हुन्छ ? त्यसले सबै कुराको निर्धारण गर्दछ ।

तर, सरकारको भूमिका राजनीतिक दलहरूसित सम्बन्धित हुन्छ । राजनीतिक दलहरूको चरित्र कुन प्रकारको छ ? त्यसले सरकारको नीति वा भूमिकालाई निर्धारित गर्दछ । तर, यो कुरा प्रत्यक्ष रूपमा नै सत्य हो । अप्रत्यक्ष रूपमा जनताको भूमिका निर्णयात्मक हुन्छ । आखिरीमा कुन दललाई बहुमतमा लैजाने ? त्यो कुराको अन्तिम फैसला जनताले नै गर्दछन् । विभिन्न सरकारहरूले राम्ररी काम गरेनन् वा उनीहरू गैरजिम्मेवार वा भ्रष्ट भए भनेर निकै कुराहरू उठ्दछन् ।

अन्त्यमा तिनीहरूलाई सत्तामा पुर्याउने जनता नै हुन्छन् । त्यसरी एकातिर, राजनीतिक दल र सरकार र, अर्कातिर, जनता । यी दुई पक्षहरू आपसमा घनिष्ठ रूपले जोडिएका हुन्छन् र तिनीहरूलाई एकअर्काबाट अलग गरेर हेर्न मिल्दैन र सकिँदैन पनि । ती दुवै पक्षहरूको भूमिका वा तिनीहरूको प्रकृतिले नै देश अगाडि बढ्छ वा बढ्दैन ? त्यो कुराको फैसला गर्दछ । तैपनि जनताको पक्ष एउटा अप्रत्यक्ष र अमूर्त रूप हो ।

तर, सरकारको पक्ष प्रत्यक्ष र मूर्त रूप हो । त्यसकारण आजको परनिर्भर आयातमुखी देशको अर्थतन्त्र मात्र होइन, सम्पूर्ण जीवनप्रणालीलाई नै बदल्न सकिन्छ वा सकिँदैन त्यो कुराको फैसला सरकारको नीति वा भूमिकामाथि नै निर्भर गर्ने कुरा प्रस्ट छ ।

यसबारे हामी स्पष्ट हुनुपर्दछ कि, अहिले सरकारको जुनप्रकारको चरित्र, भूमिका वा कार्यशैली रहेको छ, त्यसको आधारमा अहिलेको देशको अवस्थामा सुधार वा विकास सम्भव छैन । गएको एक वर्षको अवधिमा नै जुनप्रकारका घटनाहरूमा सरकार एकपछि अर्को गर्दै मुछिदैं गएको छ, खास गरेर भ्रष्टाचार र कमिसनसम्बन्धी काण्डहरू । त्यसप्रकारका काण्डहरू देशभित्र प्रशासनयन्त्र, तस्कर, व्यापारी घरानाहरूसम्म मात्र सीमित नरहेर तिनीहरू बहुराष्ट्रिय कम्पनीहरूसित पनि जोडिने गरेका छन् । त्यसले के स्पष्ट गर्दछ भने त्यसप्रकारको कार्यशैलीका आधारमा देशको बिकास निश्चित रूपले सम्भव छैन । गतकालमा जुन प्रकारका काण्डहरू घट्दै गइरहेका छन्, तिनीहरूसित सरकारको उच्च तह संलग्न छैन भन्ने कुराको जनतालाई विश्वास दिलाउन सरकार असफल हुने गरेको छ । त्यसप्रकारको चरित्र वा कार्यशैलीका आधारमा सरकारले देशलाई कहाँसम्म अगाडि बढाउन सक्नेछ, त्यसबारे निश्चित रूपले केही भन्न सकिने स्थिति छैन ।

देशको विकासsf लागि यो निर्णयात्मक शर्त हो कि सरकारको त्यसप्रकारको चरित्र वा कार्यशैलीमा सामान्य प्रकारको सुधार मात्र होइन, आधारभूत रूपमा नै परिवर्तन हुनुपर्दछ । त्यसप्रकारको परिवर्तन कसरी सम्भव छ, देशका सबै राजनीतिक दल सरकार वा जनताले समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । तर, त्यसप्रकारको परिवर्तन हुन सक्छ वा सक्दैन त्यो कुरा आउने दिनहरूमा नै प्रस्ट हुँदै जानेछ । तर, एउटा कुरा प्रष्ट र निश्चित छ, त्यसप्रकारको परिवर्तनविना देश अगाडि बढ्न सक्ने छैन, चाहे सय वर्षको लामो समय नै किन नबितोस् ।

प्रश्न सरकारको मात्र होइन, त्यस सन्दर्भमा अर्को महत्त्वपूर्ण प्रश्न यो हो- सरकारले कसको हितमा काम गर्दछ ? देशमा उत्पादनको वृद्धि वा विकास व्यापक जनसमूहका हितसित जोडिएको प्रश्न हो । तर, त्यसमा यस्ता तत्वहरूको पनि कमी छैन, जसले सम्पूर्ण राज्य सरकार वा प्रशासनलाई आफ्ना निहित स्वार्थको लागि नै प्रयोग गर्न चाहन्छन् ।

अर्का शब्दमा देश जनता वा राज्ययन्त्रको पनि मूल्यमा आफ्ना निहीत स्वार्थहरू पूरा गर्न चाहन्छन् । नाफाखोरी र कालोबजारीमा लागेका व्यापारीहरू, माफिया ग्रुपहरू, भ्रष्ट र नोकरशाही प्रशासनयन्त्र आदिले आफ्ना निहित स्वार्थहरूको लागि नै सरकार वा सम्पूर्ण प्रशासनयन्त्रलाई सञ्चालन गर्न चाहन्छन् । त्यो अवस्थामा यो प्रश्न उठ्दछ – सरकारले ती दुईमध्ये, अर्थात् जनता वा निहीत स्वार्थी तत्वहरूमध्ये कसको हितमा काम गर्दछ ?

तर, व्यवहारले बारम्बार यो कुरा बताउँदै गइरहेको छ कि, सरकारले पछिल्लो पक्ष, अर्थात् निहीत स्वार्थी तत्वहरूको प्रभावमा परेर उनीहरूको हितमा नै बढी काम गर्ने गरेको छ । त्यसकारण आवश्यकता सरकारको चरित्र वा कार्यशैलीमा सुधार गर्ने मात्र नभएर निहीत स्वार्थी तत्वहरूको स्वार्थको घेराबाट सरकार वा सम्पूर्ण प्रशासनतन्त्रलाई कसरी मुक्त गर्ने भन्ने पनि हो । सायद त्यो कार्य सरकारको बशभन्दा बाहिर रहेको कुरा हो र त्यसका लागि जनता नै अगाडि आउनुपर्दछ । तर, त्यो कार्य स्वतःस्फुर्त रूपले हुने कुरा होइन र त्यसका लागि जनतामा उच्च प्रकारको चेतनाको निर्माण हुनु आवश्यक हुन्छ । अर्को शब्दमा बलियो र लगातारको जनदबावपछि नै सरकारलाई गलत नीति वा कार्यशैलीबाट हटाएर इमान्दारिता र दृढतापूर्वक जनताको हित वा देशको विकासका पक्षमा काम गराउन बाध्य पार्नु सम्भव हुनेछ ।

देशमा जनशक्तिको लगातार र ठूलो सङ्ख्यामा विदेशमा पलायनको कारणले सरकारका गलत नीति वा कार्यशैलीका विरुद्ध जनदवावको सृजना गर्न वा आन्दोलन उठाउने कार्यमा बाधा पुगिरहेको छ । सायद सरकारको कोसिस पनि भइरहेको छ कि देशको जनशक्तिको लगातार ठूलो सङ्ख्यामा विदेशमा पलायन भइरहोस् । त्यसो भएमा सरकारका गलत नीतिको प्रतिरोध गर्ने शक्ति देशमा कमजोर हुने छ र सरकारलाई वा सरकारको माध्यमद्वारा आफ्ना निहित स्वार्थहरू पूरा गर्न चाहने तत्वहरूलाई आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि मार्ग प्रशस्त हुनेछ ।

तर, अहिले कोरोना भाइरसले पैदा गरेको विश्वव्यापी सङ्कटको स्थितिमा विदेसिएका नेपालीहरू देशभित्र आएमा सरकारका गलत नीतिहरूका विरुद्ध उभिने एउटा ठूलो शक्ति देशमा देखा पर्नेछ । जीवनको बाध्यताले नै अहिलेको आवश्यकताका लागि उनीहरू सङ्घर्षमा अगाडि आउन थाल्ने छन् । हामीले आशा गर्नुपर्दछ, त्यसले पनि देशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।

तर, यो शर्तमा कि- उनीहरूमा उच्च प्रकारको चेतना भन्नुको अर्थ हो – देशको विकासमा मदत पुर्‍याउने प्रकारको सकारात्मक सोच–को विकास होस् । त्यससित जोडिएको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कतिपय आपतविपद वा अप्ठ्यारा स्थितिहरूले विकासका लागि नयाँ सम्भावनाहरूका लागि पृष्ठभूमि तयार पार्ने गर्दछन् ।  विश्वको इतिहासमा त्यसप्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् ।

अहिले कोरोना भाइरसले ल्याएको सङ्कटले पनि विकासका लागि त्यसप्रकारको आधार तयार हुने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । कोरोना भाइरसले नेपाल र विश्वभरका नेपालीहरूका लागि जुन स्थितिको सङ्कटको स्थिति पैदा गरेको छ, त्यसले नेपालका लागि पनि विकासका नयाँ आधार तयार पार्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

खास गरेर कोरोना भाइरसले ल्याएको सङ्कटले नेपालीहरूलाई, प्रथम, विदेशमाथि बढी भर गर्नेभन्दा आफ्नो देशमा नै बस्ने कुरालाई नै बढी प्राथमिकता दिन र द्वितीय, आफ्नो देशलाई बनाउन बढी प्रेरित गर्‍यो भने, कोरोना भाइरसले हामीलाई दिएको ठूलो शिक्षा वा वरदान हुनेछ । त्यसलाई (कोरोना भाइरसलाई) त्यही प्रकारको सकारात्मक अर्थमा लिने र प्रयोग गर्ने हाम्रो प्रयत्न हुनुपर्छ ।

(सिंह नेकपा मसालका महामन्त्री हुन्)