काठमाडाैं

कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भइन्। डिस्चार्ज भएपछि उनी घर गइनन् । नेपाल टेलिभिजनमा प्रस्तुत भएकी उनले अस्पताल बसाइँका अनुभव साटिन्।

श्रेष्ठ बलियो आत्मविश्वासका साथ प्रस्तुत भएकी थिइन्। उनले विभिन्न प्रश्नको सामना मात्रै गरिनन्, सरकारदेखि जनतासम्मलाई सुझाव दिइन्।उनी गत चैत ४ गते फ्रान्सबाट कोरिया हुँदै नेपाल आएकी थिइन्। घर आएको चार दिनपछि उनीसँगै जहाजमा यात्रा गरेकी भियतनामकी साथीले आफू कोरोनाभाइरस संक्रमित भएको सुनाइन्।

रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि  उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।