दीपक न्यौपाने पोखरा

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वका शक्तिशाली र सम्पन्न मुलुकको समेत टाउको दुखाईको विषय बनेको छ । विश्वका हरेक राष्ट्रहरुमा आर्थिक क्रियाकलापहरु ठप्प छन् । उद्योग कलकारखानाहरुको उत्पादन बन्द छ । व्यापार व्यवसायहरु बन्द अवस्थामा छन् मात्र स्वास्थ्यसम्बन्धी सेवाबाहेक । यसबाट नेपालसमेत अछुतो हुने कुरै भएन । हामी पनि संघर्ष गरिरहेका छौं केबल बाच्नको लागि ।

नेपालमा लकडाउन भएको तीन हप्ता भइसक्यो र कहिलेसम्म यो क्रम जारी हुने हो अत्तोपत्तो छैन । आयातहरु रोकिएको छ । आन्तरिक उत्पादन ठप्प छ । आयात घट्नाले व्यापार घाटा त केही कमी होला तर देसको अर्थतन्त्रमा दिनानुदिन अर्बाैको घाटा परिरहेको दृष्टान्त हामीमाझ रहेको छ । नेपालका अर्थतन्त्र विप्रेषणको भरमा चलिरहेको छ । नेपालको प्रमुख श्रम गन्तव्यहरु कतार, दुबई, मलेसिया, साउदी अरब लगायतका मुलुकसमेत ठप्प छन् । यसले गर्दा आगामी दिनमा विप्रेषण आप्रवाहमा समेत नकरात्मक असर आउन गई नेपालको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने निश्चित छ ।

विभिन्न मुलुकले आर्थिक स्तर उकास्न पूर्वाधार लगायतका क्षेत्रमा भएको खर्च कटौती गर्ने र नेपाली श्रम रोजगारीबाट घर फर्कने दिनसमेत टाढा छैन । नेपाल सरकारले युवा उद्यमशीलतालाई ध्यानमा राखी विदेशबाट फर्केका युवाशक्तिहरु नेपालकै आन्तरिक उत्पादनमा खर्च गर्नु उचित हुन्छ । कृषि क्षेत्र नेपालमा उच्च सम्भावना बोकेको क्षेत्र हो । कृषि क्षेत्रमा सरकारले विभिन्न प्याकेज तथा सहायता घोषणा गरेर युवा शक्तिलाई कृषि उत्पादनमा आकर्षण गरिएमा कृषि क्षेत्रले नै आथिक विकासमा टेवा दिन सक्छ । निर्वाहमुखी खेती प्रणालीलाई परिवर्तन गरी आधुनिक कृषि प्रणाली अवलम्बन गर्नु पर्दछ । माटो र पर्यावरणीय अनुसन्धान गरी मौसम अनुकुलकोे तरकारी, खाद्यान्न नगदे बाली तथा फलफुल खेती गरिएमा यसबाट देशको अर्थतन्त्रमा समेत ठुलो सहयोग पुग्नेछ ।

विभिन्न मुलुकले आर्थिक स्तर उकास्न पूर्वाधार लगायतका क्षेत्रमा भएको खर्च कटौती गर्ने र नेपाली श्रम रोजगारीबाट घर फर्कने दिनसमेत टाढा छैन ।

नेपालको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र हो । सरकारलाई छोटो अवधिको लागि राजश्वको आम्दानीको उत्तम स्रोत भएता पनि दीर्घकालमा आयातमुखी अर्थतन्त्रले आन्तरिक उत्पादन बन्द हुने र विदेशबाट आयात गरिएका मालसामानसँग प्रतिष्पर्धा गर्न नसक्ने हुनाले विभिन्न उद्योग व्यवसाय धारासायी हुन सक्छन् । त्यसैले सरकारले अध्ययन गरी नेपालभित्रै उत्पादन हुने वस्तुहरुको आयातमा प्रतिबन्ध लगाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ । विदेशबाट आयात हुने र नेपालमै कच्चा पदार्थ उपलब्ध हुने वस्तुहरुको प्रशोधन तथा उत्पादन नेपालभित्रै सुरु गर्ने समेत उत्तम समय हो ।

आन्तरिक उत्पादनमा उपभोक्ता र उत्पादकको विचमा रहेको मध्यस्तकर्ताको समस्या सम्बोधन गरिनुपर्छ । आन्तरिक उत्पादनको बिक्रीका लागि उपभोक्ता सहकारीलाई क्रियाशील बनाउनुपर्दछ । उत्पादकले आफ्नो उत्पादनको मूल्य नपाउने र उपभोक्ताले अधिक मूल्य तिर्नुपर्ने बाध्यतालाई आवश्यक सम्बोधन गरिनुपर्छ ।

उद्यमशीलताको ज्ञान, सीप र दक्षता भएका व्यक्तिलाई सरकाले आन्तरिक उत्पादनमा प्रयोग गर्नुपर्छ । उत्पादनसँग गाँसिएका समस्याहरु जस्तै जग्गा तथा सम्पक्ति भाडा, बैंक कर्जा, कर्मचारी लगायतका समस्या सरकारले सम्बोधन गर्नुपर्छ । निश्चित वर्षसम्मको सम्पत्ति तथा भाडाको सुनिश्चितता, बैंकको कर्जाको उच्च व्याजदर, अल्पकालिन तथा मध्यकालिन भुक्तानी अवधि, दक्ष कर्मचारीको अभाव, कर्मचारी युनियनहरुको अनावश्यक माग, बारम्बार काममा हस्तक्षेप लगायतका समस्याहरुलाई सम्बोधन गरेर देशको वर्तमान युवा शक्तिलाई उद्यमशीलतातिर आकर्षण गर्ने सुअवसर सरकारले प्राप्त गरेको छ ।

हाल नेपालीहरुले अल्पकालमा मुनाफा हुने तथा मध्यस्तकर्ताको रुपमा कार्य गर्न चाहने मनस्थितिको विकास भएर समाजमा बेथिति बढ्दो छ । युवा शक्ति आफ्नो परिश्रम लगानीविनै कसरी मुनाफा आर्जन गर्न सकिन्छ र छोटो अवधिमा नै कसरी समाजमा रवाफ फैलाउन सकिन्छ भन्नेमा बढी केन्द्रित छन् । यसले देशको अर्थतन्त्रमा नकारात्मक असर पार्दछ । त्यसैले पनि यस्ता प्रकारका विकृतिहरुमा युवा शक्तिलाई निरुत्साहित गरेर युवालाई उत्पादनशीलतातर्फ लाग्ने वातावरण सरकारले सृजना गर्नुपर्छ ।

यसर्थ, विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको समस्या नेपालमा समेत छ । कोरोनाको कारण तहसनहस भएको अर्थतन्त्रमा युवा शक्तिलाई सही र ठीक ठाँउमा सदुपयोग गरेर आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने, देशमा उद्यमशीलताको विकास गर्ने, आन्तरिक उत्पादनलाई प्राथमिकता दिने, देशमा भएका साधन स्रोतहरुको अधिकतम प्रयोग गरी आत्मनिर्भर हुने सुवर्ण अवसर नेपालले प्राप्त गरेको छ । यसमा सरकार र नागरिक हातमा हात मिलाएर हिडेमा सम्मुनत राष्ट्रको रुपमा विकास हुने अवसर हामी माझ छ । सही समयको सही उपयोग नै बुद्धीमानी हो ।