लक डाउनको अनुभव नेपालीहरुको लागि पहिलो हो। बन्द,हडताल ,चक्काजाम,नेपाल बन्द,उपत्यका बन्द,जिल्ला बन्द क्षेत्र बन्द जस्ता शब्दहरुसित परिचित नेपालीहरु लकडाउन शब्द सम्भबत: धेरैजसोले सुनेका थिएनन। खासमा यो नेपाली भाषाको “बन्द´´ शब्दको अङ्ग्रेजी रुपान्तरण हो। अहिले लक डाउनलाई बन्दाबन्दी शब्द प्रयोग गरिएको छ।

आन्दोलनका बन्दहरु प्रायः सरकार, प्रशासनका बिरुद्ध लक्षित हुन्थे भने यसपालीको लकडाउन सरकारले कोरोना भाइरस सङ्क्रमणका विरुद्ध घोषणा गरेको सरकार र जनताको एकतामा सम्पन्न गरिने बन्द हो । लक डाउनमा के गर्ने भन्ने बिषय सामान्य जस्तो लाग्न सक्छ।तर सुन्दा समान्य लागे पनि यो धेरै महत्त्वपूर्ण बिषय हो ।किनभने लक डाउनका बेला निस्चित ठाउमा एक प्रकारले थुनिएर बस्नु पर्दा समयको सदुपयोग गर्न सकियो भने राम्रा उपलब्धि निकाल्न सकिन्छ र समयलाई उपयोग गर्न नसक्दा कैयौ ब्याबहारिक र मानसिक समस्याहरु आउन सक्दछन।

मैले केही बर्ष पहिले भोजराज चाम्लिङ सम्पादित निर्मल लामाको सस्मरणमा आधारित पुस्तक पढेको थिएँ । त्यो पुस्तकका धेरै जसो हिस्सा बिभिन्नअङ्कमा मुल्यांकन मासिकमा प्रकाशित भैसकेका थिए । लामाजिले आमरण अनसनका बेला के गर्ने बारे भनेका छन कि आमरण अनसन बस्नु भन्दा पहिले दिशा गरेर सकभर पेट खाली गरेर बस्नु पर्छ। त्यसो नगरी आमरण अनसन बसेमा स्वास्थ्यमा समस्या आउदछ।स्पष्ट होस लामाजिले यो कुरा भनेकोअनसनका लागि हैन आमरण अनसनका लागि हो। आमरण अनसनमा स्वास्थका लागि केही खास बिषयमा ध्यान दिनु परे जस्तै यो लक डाउनका बेला पनि स्वास्थ्य र ब्याबहारिक बिषयमा ध्यान दिन जरुरी छ। अहिलेको लकडाउनलाई मैले नजरबन्द सित तुलना गरेर हेर्ने गरेको छु।

यसबेला मलाई दुई जना ब्यक्तिको नजरबन्दको याद आएको छ – आङ्सान सुकि र माधब नेपाल। सुकि म्यानमार(बर्मा)को सैनिक शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलनका पक्षमा संघर्ष गरेकी राजनीतिक ब्यक्तित्व हुन।उनलाई त्यहाको सरकारले लामो समय सम्म नजरबन्दमा राखेको थियो।नेपालमा २०६१ माघ १९ गते राजाले शाही घोषणा मार्फत सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएपछि राजनीतिक दलका धेरै नेताहरुलाई गिरफ्तार र नजरबन्द गरेका थिए।धेरै नेताहरु मध्ये माधब नेपालको प्रसङ वेशी संस्मरणमा किन रहेको छ भने एक, उनले नजरबन्दका बेलाआफ्नो कोटेश्वर स्थित घरको छटबाट कार्यकर्ताहरुलाई सम्बोधन गर्न खोजेका थिए । दुई ,त्यही राजनीतिक घटनाबाट एमाले भित्रको अन्तरसंघर्षमा माधब नेपाल ओरालो लागेका थिए भन्ने मेरो बुझाई छ।

नेपाल नजरबन्दमा भएका बेला विभिन्न माध्यमबाट कार्यकर्ताहरुलाई सन्देश बाहिर पठाइरहेका थिए। एक दिन उनले घरको छटबाट सम्बोधन गर्ने र कार्यकर्ता तथा जनताले तल ग्राउन्डबाट सुन्ने कार्यक्रम थियो।तर प्रहरीले लखेटेर त्यो कार्यक्रम सम्पन्न हुन दिएन।राष्ट्रिय मिडियाहरुले नेपाल घरको छटमा सम्बोधन गर्न उभिएको फोटो छापेका थिए। माधब नेपाल नजरबन्दमा परेपछि एमालेका का बा महासचिव झलनाथ खनाल भए।त्यो घटनाबाट नेपाल बिरोधी क्याम्पले आफ्नो शक्ति बिस्तार गर्ने अबसर पायो।माओवादी प्रती त्यतिबेला ओलीको अगाडि नेपालको तुलनात्मकरुपले सम्झौता परस्त चरित्र पनि उनी कमजोर बन्ने अर्को आधार थियो ।२०६४को पहिलो संविधान सभा निर्बाचनमा नेपाल आफैले चुनाब हारे र पार्टीले पनि धेरै ठाउँ हारे पछि नैतिकताको आधारमा भन्दै नेपालले राजीनामा दिए।त्यसपछि आन्तरिक पार्टीमा उनी झन कमजोर बने। जे होस ।

माथिको प्रशङग सन्दर्भबस जोडेको मात्र हो । यहाँ खास भन्न खोजेको कुरा नजरबन्दमा रहदा जस्तै लकडाउनका बेलामा पनि केही खास कुरामा ध्यान दिनजरुरी छ।

१) बाहिर हिड्न नपर्ने भएकाले हामी सित समय हुन्छ। त्यो समयलाई कसरी उपयोग गर्ने भन्ने कुरा नै मुख्य हो । सकभर लकडाउनका बेला समय तालिका बनाएको राम्रो। बिहान उठ्ने,बेलुकी सुत्ने,चिया नास्ता , खाना, लेख्ने -पढ्ने ,शारीरिक ब्यायाम ,केटाकेटीका लागि समय, समचार हेर्ने/सुन्ने, सृजनात्मक कार्य,घर धन्दा,मनोरन्जन आदि शीर्षकमा समय छुट्टाएर नै लक डाउनको समय उपयोग गर्न सकिनेछ।

२) डाक्टरहरुले भने जस्तै धेरै च्यापेर खाना नखाएको राम्रो।किनभने शारीरिक श्रम कम गर्नु पर्ने भएकाले खाना छिटो पच्दैन ।बरु खाना र खाजा गरि तीन वा चार पटक खाने तर थोरै थोरै मात्र खाने।

३) लामो समय सम्म बस्ने ,खाने र सुत्ने मात्र गरियो भने शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। डाइबिटिज आदिको समस्या निम्तिन सक्छ।त्यसकारण घरमा वा कोठामा बसेर गर्न सकिने शारीरिक ब्यायाम ,योगा आदि गर्नु पर्छ।

४) लगातार कोरोना भाइरसको समस्या,बिमारी र मृतकका समाचार मात्र हेर्ने र सुन्ने गर्नु हुन्न।एक दिनमा डेढ दुई घन्टा सम्म मात्र समाचार हेरेको राम्रो।दुरघटना ,मृत्यु आदिको मात्र समाचारले मानसिक समस्या ल्याउन सक्छ। कोरोना भाइरसको आतंक बढेपछि त्यसबाट विश्वब्यापीरुपमा डिप्रेसनका बिमारी वा मानसिक बिमारी बढेका छन।मानसिकरुपमा स्वस्थ रहन तनाब बाट ध्यान हटाउनु पर्छ।परिवारमा खुसी दिने खालका कुराकनी गर्नु पर्छ।

५)मानसिकरुपमा असन्तुष्ट भएपछि परिवारमा झगडा ,कलह ,अनावश्यक बिबाद बढ्छ ।त्यसले घरेलु हिङ्सा बढाउछ।कोरोना भाइरसको समस्या सङ्गै विस्वब्यापीरुपमा घरेलु हिंसा बढिरहेको छ। न्यायिक सङ्स्थाहरुमा घरेलु हिङ्साका मुद्दाहरू बढिरहेका छन।घरेलु हिंसा हुन नदिन परिवारमा एकले अर्काको भावनालाई सम्मान गर्ने र सहयोगको व्यवहार गर्न जरुरी छ।घरायसी समस्यालाई मिलिजुली हल गर्न कोशिश गर्नु पर्दछ।बेलाबखतमा मनोरन्जन गर्ने र परिवारमा हासीखुसी रहने वातावरण बन्यो भने घरेलु हिङ्साका समस्याआउदैन।

६) लेखक,साहित्यकार ,गीतकार ,सङ्गीतकार,पेइन्टर लगायतका सम्पुर्ण श्रीजनकर्मीहरु तथा खोज – अनुसन्धानकअनुसन्धानकर्ता र अध्ययनकर्ताहरुको लागि यो सबै भन्दा उपयुक्त अवसर हो। बाहिर निस्कनु पर्ने वा भेटघाटमा समय बिताउन नपर्ने भए पछि लेख्ने,पढ्ने ,श्रीजना गर्ने र अधुरा कामहरुलाई पूरा गर्ने अवसर मिलेको हुन्छ।लकडाउनलाई त्यस प्रकारको महत्त्वपूर्ण अवसरका रुपमा प्रयोग गर्न सकिन्छ।

७)मानिसहरु सधै ब्यस्त भैरहनु पर्दा आफ्नो परिवार र बच्चाबच्चीहरुलाई समय दिन पाइरहेका हुदैनन।परिवारलाई समय दिने अवसरका रुपमा लकडाउनलाई प्रयोग गर्न सकिन्छ। परिवारका सद्स्यहरु सित दुख सुखका भाबनात्मक कुराहरु गर्न सकिन्छ।केटाकेटीहरुलाई केही समय टि भि वा मोबाइलमा भुल्न दिए पनि लगातार त्यसमा घोप्टो पर्न दिनु हुन्न।त्यसले केटाकेटीहरुको मस्तिस्कमा नकारात्मक प्रभाव पर्न सक्छ।उनीहरुले बिद्यालयमा पढेका कुराहरुलाई दोहोराएर पढ्न लगाउने ,नया कुरा सृजना गर्न लगाउने ।उनीहरुले गरेका काममा के भयो भनेर सोधपुछ गर्ने र हौसला दिने गर्नु पर्छ।केटाकेटीहरुलाई खेल्ने समय पनि दिनु पर्छ तर धेरै टाढा जान दिने र असम्बन्धित मानिसहरुको सम्पर्कमा जान दिने गर्नु हुदैन।

८)जागीर ,अध्ययन वा अन्य काम विशेषले आफ्नो घर परिवारसित संगै हुन नपाएका ब्यक्तिहरुले पनि आफुलाई एक्लो महसुस गर्ने ,दुख मान्ने गर्नु हुन्न ।साथी भाइहरुसित कार्यस्थल वा डेरामा गफगाफ गरेर वा आफनो जिम्मेवारी प्रति ध्यान दिएर तनाब नलिने सकभर आफुलाई हासीखुसी राख्ने प्रयत्नगर्नु पर्दछ।सुरक्षाकर्मी र स्वास्थकर्मीहरुको जीवनलाई हेरेर चित्त बुझाउनु पर्दछ।उनीहरुको पनि घर परिवार छन ।उनीहरुलाई पनि बिपत्तिका बेलामा परिवार सित बस्न मन होला ।तर आफ्नो दायित्व सम्झेर काममा लागिरहेका हुन्छन।

९) कतै टोल छिमेकमा विमार भै हाले भने तत्काल सम्बन्धित ठाउँ वडा कार्यालय,प्रहरी कार्यलयमा खबर गर्ने र उपचारको प्रकृया अगाडि बढाउनु पर्छ।

१०)आफ्नो टोल छिमेकमा खर्चपर्च सकिएर अप्ठ्यारोमा परेका ब्यक्तिहरु,दैनिक मजदुरी गरेर जीबन गुजार्नेहरुलाई राहत उपलब्ध गराउन यथासम्भब पहल गर्नु पर्दछ।वडा कार्यालय /गाउँ,नगरपलिका कार्यालयलाई पारदर्शी ढङले राहत बितरन भए नभएको बुझ्नु पर्दछ र त्यस्का लागि पहल गर्नु पर्दछ।

११)पार्टी /सङ्गठनका कार्यकर्ताहरु अहिले लकडाउनका बेलामा बाहिर निस्कन मिल्दैन तर अप्ठ्यारोमा परेकाहरुलाई उद्दार गर्न वा राहत बितरण गर्न स्थानीय प्रशसन सङ्ग समन्वय गरेर गर्न सकिन्छ।त्यस तर्फ पनि हाम्रो ध्यान जानू पर्दछ।

१२) यो लकडाउनका बेला शहरमा भन्दा गाउमा सजिलो छ।गाउमा शहरमा भन्दा जनघनत्व कम हुने भएकाले भिडभाड भएर छिटो रोग फैलिने कम सम्भावना हुन्छ।घाँस दाउरा गर्ने ,गाई बस्तु चराउने,खेत बारीमा काममा जाने ,मल छर्ने ,जोत्ने, खन्ने जस्ता दैनिक कार्यहरु ग्रामीण क्षेत्रहरूमा चलिरहेकोछ।गाउमा अनावश्यक भेटघाट र भिडभाड नगरी आफना दैनिक कार्य गर्नु नै पर्दछ।ग्रामीण कृषि क्षेत्रले देशको परनिर्भरतालाई न्युनगर्न योगदान पुर्याउनेछ।

१३) सरकारले अहिले सङ्क्रमण रोग नियन्त्रन ऐन २०२० को दफा २ को आधारमा जारी गरेको लक डाउन र सामाजिक दुरी कायम गर्ने ,अत्यावश्यक कामले मात्र बाहिर निस्कने,बाहिर निस्कदा मुखमा मास्क लगाउने,पटक पटक हात धुनु पर्ने जस्ता सुचनाहरुलाई पालन गर्ने र पालन गर्न लगाउने गर्नु पर्दछ।

१४)बिदेशमा रहेका र लक डाउनमा परेका नेपालीहरु पनि धैर्यतापुर्बक लकडाउनको नियममा बस्न जरुरी छ।संबंधित देशमा नेपाली राजदुतावास र नेपाली समुदायका सम्पर्कमा रहन जरुरी छ।रोगले छोपे के गर्ने बारे न्युनतम तयारी गर्न जरुरी छ।बिपत्तिमा परेकाहरुलाई स्वदेश फर्काउन परे त्यस्का लागि पनि सरकारले पहलकदमी लिनु पर्दछ।

१५) भ्रष्टाचार ,कालोबजारी नियन्त्रण गर्न तथा लक डाउनका बीचमा दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति गर्न सम्बन्धित निकायहरुले ध्यान दिनु पर्दछ।सचेत नागरिकहरुले पनि त्यस प्रती ध्यान दिनु पर्दछ।

१६) लक डाउनका बेला आबश्यकपर्ने ग्यास,दाला ,चामल नून,तेल लगायतका दैनिक उपभोग्य वस्तुको न्युनतम जोहोगर्ने र सरसापटी ,रिण ,उधारो जे हुन्छ त्यसको न्युनतम तयारी गर्न जरुरी छ। यो लक डाउन कहिले सम्म ? के खाएर बाच्ने? कसरी दिन बिताउने ? यस्ता कैयौ प्रश्नले मानिसहरू पिरोलिएका छन।यस्ता महामारी मानव जातिको इतिहासमा धेरै पटक आएका छन र ती सधैभरी रहेका थिएनन।ठीक त्यसैगरी यो कोरोनभाइरसको महामारी पनि सधै भरी रहिरहने छैन।त्यसैले हामी केही समय कष्ट उठाउने हिम्मत गरौ ! धैर्यता ,आपसी सहयोग र सदभाब,एकताले हामी यो महामारीलाई परास्त गर्न सफल हुनेछौ ।