३० चैत, काठमाडौ

पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । ती मध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको देखिएपछि टेकु ल्याइएकोमा उनीहरुको कोरोना रिर्पोट पोजेटिभ भेटिएको हो।

संक्रमण पुष्टी भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए। उनीहरु १३ दिनदेखि वीरगञ्जको जामे मस्जिदमा बस्दै आएका थिए। धार्मिक सभामा भाग लिन आएका उनीहरुलाई कोरोना संक्रमण भेटिएको हो।