काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने सम्भावना व्यक्त गरेका छन् । सरकारले तय गरेको लकडाउनको समयावधि वैशाख ३ गते सकिँदैछ ।

प्रधानमन्त्री ओलीले भर्चुअल बैठकमार्फत् सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्दै कोरोना सङ्क्रमण रोकथाम गर्न भौतिक–सामाजिक दूरी नै हतियार भएको प्रष्ट पारेका छन् ।  प्रधानमन्त्री ओलीले शनिबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे तीनबजेसम्म मुख्यमन्त्रीसँग भिडिओ कन्फ्रेन्स गरेका थिए ।

“प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । प्रधानमन्त्रीले संघीय सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेको सन्देश दिएका थिए । “सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्त्वहरूबाट प्रभावित  नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्नुभयो,” थापाको भनाइ थियो ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको प्रधानमन्त्री ओलीको सन्देश रहेको थापाको भनाइ छ ।“भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो,” थापाले भने ।