विश्वभरि कोरोनाको चल्यो महामारी                                                                                         जिउ जोगाउनु यस्तो बेला जसोतसो गरी                                                                                  संसारका मानव जाति सचेत भई सारा                                                                                              यो सङ्कटलाइ हटाउन बसौं घरघर                                                                                               लौ आयो ताजाखबर लौ आयो ताजाखबर                                                                                    टाढा–टाढा बसौं भन्ने आयो खबर…

विश्व मानव जगत यतिबेला कोरोना कहरबाट प्रताडित भइरहेको छ । कोरोना भाइरस (कोभिड– १९) का कारण विश्वभरमा पुगनपुग १ लाखको हाराहारीमा मानिसहरुको मृत्यु भइसकेको छ । १५ लाख बढी सङ्क्रमित भइसकेका छन् । विश्वका प्रायः देशहरुमा लकडाउनको अवस्था छ ।

स्वास्थ्य प्रविधिको उच्चतम विकास भएको ठानिएका विकसित देशहरु समेत कोरोनाका अगाडि आकुलव्याकुल भइरहेका छन् । सारा मानवजगत नै कोरोनाका कारण भयभीत  भइरहेका बेला नेपाली जनताका प्रिय गायक जीवन शर्माले नयाँ  आशाको गीत लिएर आएका छन् । जनगायक शर्माले नयाँ गीतमार्फत विश्वभरिका मानव जातिलाई सङ्कटको यो घडीमा हिम्मत नहार्न र निराश नहुन आव्हान गरेका छन् । मानव जीवनमा यस्ता सङ्कट बेलाबेलामा देखा परिरहने भन्दै उनले अहिलेको यो सङ्कटलाई मानव जातिले एकताबद्ध भई छुट्टाछुट्टै, आआफ्नो घरमा बसेर हटाउन सकिने प्रस्ट पारेका छन् । सबैलाइ होशियारीपूर्वक घरैमा बस्न शर्माले गीतमार्फत अपिल गरेका छन् । जनगायक शर्माले आफ्नो नयाँ गीतमा भनेका छन्

जिन्दगी हो सधैभरि हुन्न एकैनास                                                                                          हिम्मत कहिले हार्ने होइन मार्ने होइन आश                                                                               जीवनमा यस्ता सङ्कट आउछन् घरिघरि                                                                                       तर पनि सुन्दर संसार उदाउने छ भोलि...

जनगायक जीवन शर्माको आफ्नै युटुब च्यानलबाट २६ चैत्रका दिन सार्वजनिक गरिएको उक्त गीतमा कोरोना कहरमा रहँदाका यथार्थ वेदनाहरुलाई मर्मस्पर्शी शब्दमा उतारिएको छ । गीत अत्यन्त सरल छ तर गम्भीर भाव बोकेको छ । कुनै रेकर्डिङ स्टुडियोमा गएर होइन आफ्नै कोठाभित्र हार्मोनियम बजाएर सो गीत गाएका छन् जीवन शर्माले । जनगायक शर्माले ल्याएको सो गीतको दृश्यलाई जनगायिका निलिमा पुनले छायाङ्कन गरेकी छन् । देश र जनतामाथि सङ्कट परेका हर समयमा जीवनप्रति आशा जगाउने खालका, समस्यासङ्ग झुकेर सम्झौता गर्ने होइन डटेर सामना गर्न सघाउने खालका गीतहरु जनगायक शर्माले यसअघि पनि ल्याउने गरेका छन् ।

अहिले जुन संगीतमा शर्माले नयाँ आशाको सन्देशमूलक गीत लिएर आएका छन् ठिक १६ बर्ष अगाडि पनि यही संगीतमा उस्तै सन्देशमूलक गीत ल्याएका थिए । त्यो बेला देशमा दुईथरी बन्दुकबाट जनता त्रसित थिए । जनता शान्ति चाहन्थे । देशमा युद्धबिराम भएर शान्ति कायम होस भन्ने जनताको चाहना थियो । त्यो बेला रक्तिमको केन्द्रीय  टोली लिएर देशब्यापी साँस्कृतिक जागरण अभियान चलाउँदै हिँडेका जनगायक जीवन शर्माले अहिलेको यही भाकामा  गाएका  थिए :

यो युद्धले जनताको हुन्न पक्कै भलो                                                                                           हुन्छ केवल विदेशीको दाइँ हाल्ने थलो                                                                                       दुबैथरी बन्दुकहरु बिसाउनै पर्छ                                                                                                 नत्र भने विदेशीले घेरा हाल्ने डर छ...

त्यो २०६१ सालको कुरा थियो । त्यो बेला युद्धले सिर्जना गरेको सङ्कटबाट नेपाली जनता प्रताडित थिए । तर अहिले स्थिति फरक छ । देशमा शान्ति सम्झौता भएको पनि डेढ दशक भइसकेको छ । तर अहिले फेरि नेपाली जनता मात्र होइन सारा विश्वका मानव जातिमाथि नै नयाँ सङ्कट आइलागेको छ । यो सङ्कटको घडीमा जनताका उनै जनप्रिय गायक कसरी चुप बस्न सक्थे र ? आआफ्नै घर र कोठाभित्र एकप्रकारको बन्दी जीवन बिताइरहेका सम्पूर्ण मानव जातिलाई उर्जा र साहस भर्न जनगायक जीवन शर्मा फेरि नयाँ आशाको सन्देशमूलक गीत लिएर आएका छन् ।

जनगायक शर्मा रक्तिम परिवारका संस्थापक अध्यक्ष समेत हुन् । उनकै विशेष पहलकदमी र प्रस्तावमा आजभन्दा ३३ बर्ष अगाडि २०४३ चैत्र २६ गते रक्तिम परिवारको स्थापना भएको थियो । कोरोना कहरका कारण अहिले सभा समारोह गरेर रक्तिम स्थापना दिवस मनाउने अवस्था थिएन । चैत्र २६ नेपालमा बहुदलीय ब्यवस्थाको घोषणा भएको दिन पनि हो । २०४६ चैत्र २६ गते नेपालमा बहुदलीय ब्यवस्थाको घोषणा भएको थियो । चैत्र २६ को यही ऐतिहासिक दिनमा जनगायक शर्माले आफ्नो नयाँ आशाको सन्देशमूलक गीत सर्बजनिक गरेका हुन् । गीत शुरु गर्नुपूर्व उनले यसबारेमा प्रष्ट पनि पारेका छन् ‘चैत्र २६ लाई पल्टाएर हेर्दा इतिहासमा अनेकौ घटना परिघटना देख्न पाइन्छ । २०४६ सालमा आजकै दिनमा बहुदलीय ब्यवस्थाको स्थापना भयो । २०४३ सालमा आजकै दिन हामीले रक्तिम साँस्कृतिक अभियानको स्थापना गरेका थियौं ।’ उनले  भनेका छन् ‘यही चैत्र २६ गतेकै दिन आज हामी संसारभरि एउटा गीत प्रवाह गर्न चाहन्छौं ।’ भोलि कोरोनाबाट मुक्त सफा, सुन्दर विश्व उदाउने विश्वास व्यक्त गर्दै उनले अगाडि भनेका छन् ‘यो अप्ठ्यारो घडीमा एक्लाएक्लै बसेर संसारभरिका मानव समुदायले यो सङ्कट टार्नु छ । यही भावनाको सन्देशमूलक गीत समाचारको रुपमा प्रस्तुत गर्न गइरहेका छौं– लौ आयो ताजाखबर, छाप्दाछाप्दै आयो हजुर ताजा खबर ।

सुनौ अब हामीले पनि त्यो ताजा खबर