वसन्तको पालुवासरि
एउटा नौलो आयाम थपेर
उषाको किरणजस्तै
उज्यालो भबिश्यमा कुदिरहेका
उसका सपनाहरु
तिम्रो बिबेकहिन अहंकारले
बिच बाटोमै तुहाउने चेष्टा गरेको छ
कोशी झैं छङछङ बग्ने र
गुराँस झैं राताम्मै फुल्ने रहरहरुलाई
तथ्यहिन आशंकाको कशौडिमा
तिमी आफ्नो बौद्धिकता पकाएर
उसका रहरहरुको खिल्ली उडाइरहेका छौ
उकुसमुकुस शहरको गल्ली सिंगार्दै
गगनचुम्बि कंक्रिटको झ्यालबाट
तिमी जालीझेलीहरुसंग
मितेरी लगाइरहेका छौ
यथास्थितीको चक्रब्यूहमा
दुषित सत्ताको गोलचक्करभित्र
तिमी अल्मलिरहेका छौ
फुलबुट्टे सपनाहरुलाइ
अलपत्र पार्दै
अदृश्य बस्तुको कल्पनामा डुबेर
तिमी बिश्वासको धज्जी उडाउदै
उसको बलिदानमाथी घात गर्दैछौ
बेखवर भावनाका
गोरेटोहरुलाइ पछ्छाउदै
बिना गन्तब्यको यात्रामा
तिमी खुसी मनाइरहेका छौ
पारिपट्टीको बन्जर भूमिबाट
वारीपट्टीको उपवन टेक्ने बित्तिकै
तिमी कति अन्धो
तिमी कति अबिबेकी
पानीमै बिलाउने रङ छरेर
तिमी कसरी सौन्दर्य प्राप्त गर्छौ
फुलको आँशु जम्मा गरेर
घैलाभरी बटुल्न
कसरी मज्जा मान्छौ
भ्रमित दौडमा एकोहारो बाजी लगाउदा
बिश्वासको पहाड फुटाउदैछौ
बिचारको नदि टुटाउदैछौ
तिम्रा गुणगानमा लुकिछिपी
बाच्ने भरौटेहरु
लालचको अन्ध आशक्तिको शिखरबाट
तिमीलाई अल्मलाइरहेका होलान्
प्रायोजित तर्क गर्दै
उसको खिल्ली उडाउन
खुब रमाइलो मान्दै होलान्
निरिहमाथी छुरा चलाउदा
जिन्दगीको खास उत्सव
सम्झदैहोलान्
बिस्कुन खाएको नाममा
भँगेरा र ढुकुरहरु लखेट्दा
घर फोहोर गरेको बहानामा
गौँथलीका गुँडहरु भत्काउदा
सारीको हल्ला सुन्न नसकेर
बाँसका झ्याङहरु मास्दा
उनको जीवनको कुरा सोच्यौ
उनको पिडांको कुरा बुझ्यौ
उनको प्रकृति सौन्दर्यता सम्झियौ
आखिर धारिला नौजवानहरुमाथी
लठ्ठी बजार्ने तिम्रो ट्रेडमार्क
नेपथ्यमा बसेर कुर्लिरहेको छ
अन्धमादकतामा भिजेर
हिंस्रक नजर लगाउदै
आफ्नै कानुन भुल्दा
उसको पनि इतिहाँस बोकेको घर
गलर््याम्म ढल्यो भने
उसले पनि धर्तिबाट पानी खिचेर
जीवन उर्वर बनाउने
सूर्यबाट रङ चोरेर
जीवन रङ्गिन बनाउने
सपथ खाएको त्यही घरमा
बसेर त हो
आफ्नो माटोेमा आरुबखडा
उसलेपनि रोपेकै होला
सम्भावनाका सारा सुन्दर र
रहरलाग्दा क्षितिजहरुलाइ
ओझेल पारेर
तिमी निर्जिब र संबेदनहिन
सुन्दरतामा गर्व गर्दैछौ
एकपटक थुम्कोमा चढेर त हेर
यो जङघार तर्ने कोहो चिन्नेछौ
बिचारका पहाडहरुलाइ छेक्न
अर्को पर्खाल तेस्र्याउने
दुश्प्रयत्नहरुलाई
पारी डाँडाको भञ्ज्याङले
खिज्याइरहेको देख्नेछौ
समयले नियालीरहेको हुन्छ
पिंडादायी अत्याचारका काँडाहरुलाई
युगबिजयी यात्रीहरुले
निमोठ्दै गन्तब्य कोर्नेछन्
तिम्रो संसारमा
मूलपानीको मूलबाट
मूहानहरु फुट्न नपाउने
गह्रागह्रामा धानका बालाहरु
झुल्न नपाउने
तर तिमी बास्ना हराएको
बगैचामा रमाइरहने
आशा भरिएको झोला बोकेर
हिडेको यात्री ऊ
जहाँ जहाँ तिमीले
जिब्रो थुत्न खोज्छौ
त्यहाँ उसले पिँडाको
आगो ओकल्नेछ
उसले कैयौपटक आगो निल्नेछ
तिम्रा काँडाका गुच्छाहरुभित्र
उसले मुस्कुराउदै
कैयौं कोपिलाहरु सृजना गर्नेछ
सम्भावीत आँधिको मुकाबिला गर्न
उसले आफुलाइ तयार गरिरहेको छ
कालोलाइ सेतो भन्न
इन्कार गरेकोले आएका
तिम्रा वारेन्टका काला पूर्जिहरुलाई
उसले आगोको लप्का ओकलेर जलाइदिनेछ
तिमी आफ्नै बिश्वसनियतामा
पहिरो हाल्ने चेष्टा गर्दैछौ
उसकै निम्ति तिमी
यति बिघ्न क्रुर र बिषाक्त बन्दा
शितले कक्रिएका घुम्तिहरुमा
आफै चिप्लिनेछौ
बिद्रोहका झिल्काहरुलाई
दरिद्रताका पर्खालहरुले
कतिदिन छेक्लान् र
कैयौं कष्टहरुको घुइँचो
बाटोभरी होला तर
मुक्तियुद्धको उसको यात्रा
अबिचलित रहनेछ
झिमरुक नदि र चिवेचराको कथाभित्र
बनका फुलहरु मरेर गएपनि
घरका फूलहरु फूलिरहन पाउन्
अनि त क्रान्ति आउँछ भन्ने सन्देश छ
यसैले तिम्रा कुटिल र निर्मम प्रहारहरु
धुलोमा मिसिनेछन्
सत्य बिचारको धार इस्पात बन्दै जाँदा
अवरोधमा उभिने पर्खालहरु
मक्किदै,ढल्दै जानेछन्
दासताका चुचुराहरु पल्टनेछन्
उसको जीवन तिम्रो चाहानाको
भागबिलो पनि होइन
तिम्रो बिर्ता वा निजी गुठी पनि होइन
त्यसैले क्रान्तिका ज्वारभाटाहरु
उर्लदै जादा
बादलहरु च्यातिनेछन्
डाँडो डगमगाउनेछ
घाम उदाउनेछ
आकाश गर्जनेछ
तिम्रा प्राचिन इच्छाहरुमा
आगो सल्कनेछ
हावाको एक झोक्काले
प्रायोजितहरुलाइ उडाउनेछ
बिद्रोहको आरनमा बलिरहेका
बिचारका लप्काहरुले
बिजयको फाँट चुमिरहनेछन्
ऊ रक्तबिजहरुको हुलभित्र
साहस बटुल्ने एक योद्धा हो
दमनको प्रतिरोधमा बलेको
बिद्रोहको एक मशाल हो
उसले चाहनाका आकाशमा
एकताको जेट उडाउदै
भरोसाको टुसा उमार्नेछ
स्पाती मैदानहरुमा
कवाजहरुलाइ प्रफुल्लीत गर्दै
राता किल्लाहरु निर्माण गर्न
प्रत्येक बगैचामा
सपनाका फुलहरु फुलाउनेछ
उसले सुदुर भबिश्यका
बुट्टेदार कल्पनाहरु सजाउदै
सदाबहार साहस बोकेर
बिजय उत्सवको
झण्डा फहराउनेछ ।।