विश्वका अधिकांश देशहरुमा कम्युनिष्टहरुले साम्राज्यवादी, विस्तारवादी, वुर्जुवा पूँजीपति वर्ग तथा सामाजिक अन्यायका विरुद्ध क्रान्तिका विगुल फुकेका छन् । तिनै क्रान्ति र सङ्घर्षभित्र सानदार विजयका गाथाहरु कोरिएका छन् । विश्वका स्वतन्त्रता प्रेमी सर्वहारा जनताको मन मस्तिस्कमा ती क्रान्ति अजर अमर छन् । जनता र समाजको अधिनायकत्व स्थापना र साम्राज्यवादी हर्कतलाई धुलो पार्न सफल थुप्रै क्रान्ति र युद्धहरु भए । त्यस्तै मध्येको एक भियतनाम कम्युनिष्ट पार्टी, भियत कोङ्ग र विजयका श्रृङ्खला मध्यको एक साहसिक तथा ऐतिहासिक विजय थियो, भियतनामी युद्ध । यस युद्धमा कम्युनिष्टहरुको शासन हत्याउन अमेरिकी साम्राज्यवादले भियतनाममा युद्ध अपराधको श्रृङ्खला नै चलायो, क्रुर हमलाहरु गरिए । द्वितीय विश्वयुद्धमा संसारभर खसालिएका बमहरु मध्ये बढी बम भियतनाममा मात्रै खसालिए, सारा बस्तीहरु खरानी पारिए, जङ्गलहरुमा आगो लगाइयो, लाखौं भियतनामी निर्दोष जनताको ज्यान गयो । तापनि एक कदम पछाडि नहटी अमेरिकी साम्राज्यवाद विरुद्ध भियतनामीहरुले साहसपूर्वक लडाइ लडे । सन् १९५५ नोभेम्वर १ देखि १९७५ अप्रिल ३० सम्म चलेको यो युद्धमा विश्व दुई ध्रुवमा विभाजित थियो । उत्तरी भियतनामलाई सोभियत युनियन, चीन, र अन्य कम्युनिस्ट घटकहरुले साथ दिएका थिए भने दक्षिण भियतनामलाई अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, अष्ट्रेलिया, थाइल्याण्ड र अन्य कम्युनिस्ट विरोधी देशहरुको साथ रहेको थियो ।

दक्षिण-पूर्वी एसियामा रहेको भियतनामको उत्तरमा चीन छ । चीन, लाओस र कम्वोडिया यसका घनिष्ट छिमेकी देश हुन् । सन् १८६० देखि १९४१ सम्म फ्रान्सको अधिनमा रहेका यी देशलाई ‘फ्रेन्च इण्डो चाइना’ पनि भनिन्थ्यो । करिव ८० वर्षको साम्राज्य सन् १९४१ मा जापानसँगको हारसँगै फ्रान्सको शासन सकिएको थियो । तर यी देशहरु दक्षिण-पूर्वी एसियामा एकछत्र साम्राज्य फैलाइरहेको जापानको शासन खेप्न बाध्य भए । द्वितीय विश्वयुद्धमा जापान पराजित हुनुपूर्व दक्षिण-पूर्वी एसियामा जापानले एकछत्र राज नै गर्‍याे । जापान केन्द्रित द्वितीय विश्वयुद्धका अन्तिम हमलाहरु अगाडि जापान पराजित भयो ।भियतनामको दक्षिणी भागमा रहेका जापानी सेनाहरुले व्रिटिस सेनाहरुसँग आत्मसमर्पण गरे भने  उत्तरी भागमा रहेकाहरुले चीनको जनमुक्ति सेनासँग आत्मसमर्पण गरे । यहीँ बेलादेखि भियतनाम अघोषित रुपमा उत्तरी र दक्षिणी भागमा विभाजित भयो । यो भन्न सकिन्छ कि साम्राज्यवादीहरुको ‘फुटाउ र राज गर’को नीति अनुरुप नै भियतनाम पनि षड्यन्त्रको जालोमा फस्यो र विखण्डनको रेखा कोर्न बाध्य भयो ।

जापानको साम्राज्य हटेसँगै भियतनाम स्वतन्त्र जस्तो देखिए पनि फ्रान्सले फेरि आफ्नो पुरानै साम्राज्य स्थापना गर्ने मनसाय दोहोर्‍यायाे । यी देशहरुमा फ्रान्स फेरि शासन गर्न पाउनुपर्ने अड्डीमा उभियो । चीन त्यसको विपक्षमा रह्यो भने व्रिटिस पक्षमा । सन् १९४६ देखि फ्रान्सले फेरि आफ्नो शासन थोपर्ने दुस्प्रयास गर्‍याे । भियतनामी जनता स्वतन्त्र हुन खोजिरहेको बेला यो निर्णय स्वीकार्य थिएन । यसै पनि सन् १९४१ देखि स्वतन्त्र भियतनामको माग राख्दै कमरेड होचि मिन्हको भियत मिन्ह (भियतनाम कम्युनिष्ट पार्टी) साम्राज्यवादविरुद्ध सशस्त्र युद्धमा थियो । जापान फर्केसँगै फ्रान्सको शासन स्वतन्त्रता प्रेमी भियतनामीलाई असह्य थियो । फ्रान्सको यही रबैयाविरुद्घ सन् १९४६ देखि भियतनाम कम्युनिष्ट पार्टीको नेतृत्वमा ‘इन्डो चाइना’ युद्ध सुरु भयो । पहिलो विश्व युद्धको समयमा हानोइ जापानी शासकहरुले नियन्त्रणमा लिएका थिए । १९४० मा जापानी शासनमा रहेको हानोइ १९४५ मा स्वतन्त्र भयो । होचि मिन्हले भियतनाम स्वतन्त्र घोषणा गरेपछि हानोइ पनि स्वतन्त्र भयो । तर, पनि त्यसको एक वर्षपछि फ्रान्सले हानोइमा कब्जा जमायो । फ्रान्ससँगको ९ वर्ष लामो र कडा सशस्त्र सङ्घर्षमा भियत मिन्ह सन् १९५४ मा विजय प्राप्त गर्न सफल भयो । सन् १९५४ को जेनेभा शान्ति सम्झौतामार्फत् फ्रान्सले यी देशहरुबाट पछाडि हट्ने घोषणा गर्‍याे । तर, बिडम्वना ! भियतनाम उत्तर र दक्षिण गरी २ भागमा औपचारिक रूपमा नै टुक्रियो ।

उत्तरी भियतनामको नेतृत्व कम्युनिष्ट नेता होचि मिन्हले गरे, जसले लामो समयसम्म सोभियत सङ्घ र चीनमा काम गरिसकेका थिए । मिन्हलाई सोभियत संघ र चीनको पूर्ण समर्थनसंगै उत्तरी भियतनाम कम्युनिष्ट राष्ट्रमा परिणत भयो । अर्कोतिर, दक्षिणी भियतनाममा निगो डिम्हाले नेतृत्व गरे, उनी अमेरिका र वेलायतका कठपुतली भियतनामी एजेन्टजस्तै थिए । उनलाई उत्तर भियतनाम र स्वयं दक्षिण भियतनामको कम्युनिष्ट पार्टी भियत कोङ्गका विरुद्ध गतिविधि गर्न सत्ताको कठपुतली बनाइएको थियो । यो विभाजनसँगै शितयुद्धको प्रत्यक्ष प्रभाव भियतनाम विभाजनको पक्ष वा विपक्षमा प्रष्ट रूपमा देखिने गरी नै परेको थियो ।

जेनेभा शान्ति सम्झौता नाम दिइएको १९५४ को शान्ति सम्झौतामा भियतनाम छोटो समयका लागि छुट्याइएको, निर्वाचनपछि नयाँ शासक चुन्ने र युद्ध पुर्ण रुपमा रोक्ने भन्ने थियो । तर, भइदियो उल्टो । दक्षिण भियतनामका अल्पसंख्यक क्याथोलिक वर्गका शासक डिन्हा निकै नै भ्रष्ट, क्रुर, फासिष्ट एवं राजनीतिक उदण्डकारी थिए । उनी चुनाव सुन्नै चाहन्नथे । बरु, बहुसंख्यक वुद्धिष्टमाथि हत्या, हिंसा एवं क्रुर अमानवीय गतिविधि गर्न थाले । दक्षिण भियतनाममा यस राजनीतिक हिसांविरुद्ध आवाज बुलन्द भयो । अन्ततः कम्युनिष्ट पार्टी सशस्त्र सङ्घर्षमा होमियो, जसको मूख्य एजेण्डा संयुक्त भियतनाम र फाँसिष्टहरुको अन्त्य थियो । यति बेलासम्म भियतनाममाथि अमेरिकाको कुनै महत्वपूर्ण भूमिका वा प्रत्यक्ष प्रभाव थिएन । उत्तरी भियतनाम कम्युनिस्ट देश स्थापनासँगै दक्षिणमा कम्युनिस्ट पार्टीको बलियो पकड र त्यसले पार्न सक्ने प्रभावबारे अमेरिकन विज्ञहरु जानकार नै थिए । उनिहरुको बुझाई थियो कि कुनै एक देशमा कम्युनिष्ट सरकार स्थापना भयो भने त्यसको प्रभाव वरिपरिका सबै देशहरुमा पर्दछ । यसैकारण भियतनाम अमेरिकनहरुको विषेश चासोको विषय बन्यो, ताकि दक्षिण पूर्वका देशहरुमा सल्किरहेको कम्युनिस्ट क्रेजलाई ब्रेक लगाउन सकियोस् ।

शितयुद्ध जारी नै थियो । अमेरिका जसरी पनि कम्युनिस्ट प्रभाव निमिट्यान्न पार्न चाहन्थ्यो । यसै सिलसिलामा सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अध्ययनका लागि टोली भियतनाम पठाए । जसले भियतनाममा अमेरिकी सैनिक स्थापना गर्न सुझाव दियो । त्यसबेलासम्म अमेरिका प्रत्यक्ष नलडे पनि लडाईबारे सम्पूर्ण सर-सहयोग दक्षिणी भियतनामलाई दिइरहेको थियो । सन् १९५० देखिको यो सिलसिला सन् १९६२ राष्ट्रपति जोनको शासन कालसम्म रह्यो । तर, अमेरिका त्यतिञ्जेल उपलब्धिबिहीन थियो । सन् १९६४ तिर यो रणनीति असफल भएको बुझेर अमेरिकाले भियतनाममाथि प्रत्यक्ष सेना परिचालनको षड्यन्त्र रच्न थाल्यो । यसै बीच उसले उत्तरी भियतनामको समुन्द्री तटमा आफ्नो पानी जहाजमाथि आफैंले बिस्फोट गराई दोष उत्तर भियतनामलाई लगायो । यही निहुँमा अमेरिकाले भियतनाममाथि आफ्नो सेना पठायो र प्रत्यक्ष दमन गर्‍याे । सन् १९६२ मा आइपुग्दा दक्षिण भियतनाममा अमेरिकी सैनिकको संख्या ९००० पुगेको थियो । सन् १९६५ को जुन सम्म ८२ हजार अमेरिकी सैनिक भियतनाम पुगेका थिए । जुलाईको अन्त्यमा थप एक लाख र अर्को वर्ष थप एक लाख सैनिक त्यहाँ खटाइयो । अमेरिका बाहेक दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्डबाट पनि सैनिकहरु उत्तर भियतनाम विरुद्ध लड्न त्यहाँ पुगे । सन् १९६७ मा आइपुग्दा भियतनाममा अमेरिकी सैनिकको संख्या ५ लाख पुुगिसकेको थियो । त्यसको साथै सुपेरियर एयरपावर, अत्याधुनिक हतियारसहित युद्ध सामग्री पठाउने काम जारी राख्यो । त्यसबेलासम्म जसमध्ये १५ हजार ५८ जना मारिइसकेका थिए भने एक लाख ९ हजार ५२७ घाइते भएका थिए ।

युद्धको यस अवधिमा अमेरिकी सेनाले निकै युद्ध अपराध गरे । त्यसमा कति भियतनामी मारिए, अझै त्यसको कुनै लेखाजोखा छैन । प्रत्येक ३० मिटरमा बम पड्काइए । गाउँ, बस्तीहरु ध्वस्त पारिए। जङ्गलमा आगो लगाउन ‘नेपाम’ नामक रासायनिक बम हानियो। रुखका पातहरु झार्न ‘अरेन्ज एजेण्ट’ नामक बमहरु प्रयोग गरियो, ताकि जङ्गल वा रुखमुनिका सबै गतिविधिहरु पनि आकाशबाट निगरानी गर्न सकियोस् । जुन रासायनिक बमले भियतनाममा लामो समय सम्म वातावरणीय एवं मानवीय असर गरिरह्यो । अमेरिकाले जतिसुकै युद्ध उदण्डता मच्चाए पनि भियतनाम कम्युनिस्ट पार्टी दृढतापूर्वक लडिरह्यो । अमेरिकी सेना पूरापूर अनभिज्ञ रहेको भियतनाम भूगोलको भियत कोङ्गका क्याडरहरुले फाइदा उठाए । कोङ्ग क्याडरहरुलाई हवाई आक्रमणको मात्र चिन्ता थियो । पछि पूरै सुरुङ युद्ध सुरु भयो । भियतनामभरि सुरुङ खनिए । अमेरिकी तोप र एटम बमविरुद्ध कोङ्ग क्याडरहरु अरिङ्गाल र बारुलाका गोला लिएर लडे । भियत कोङ्गका लागि यो युद्धकला निकै नै सफल रह्यो । अमेरिका अब स्थल र हवाई लडाईमा शिथिल बन्दै गयो । बढ्दै गएको हौसलाबाट भियत कोङ्गले सन् १९६८ जनवरीतिर टट् अफेन्सिप युद्धनीति बनायो । यही युद्धनीति भियतनाम युद्धको ‘टर्निङ प्वाइन्ट’ बन्यो । यो नीतिअन्तर्गत दक्षिणी भियतनामका सम्पूर्ण सैनिक इलाकामाथि एकसाथ हमला भयो । अमेरिकी दुतावास, आवासालय र सरकारी कार्यालयमा कडा हमला गरिए । सत्ताकब्जा गर्ने उद्देश्य प्राविधिक कारणले बिफल भयो । तर, एकसाथ गरिएका यी हमलाहरुले विश्वको ध्यान भियतनामतिर खिचिदियो । अमेरिकी आधुनिक हतियारसँग लड्न नसकिएला कि भन्ने भियत कोङ्गको मनोबल उच्च बिन्दुमा पुग्यो । युद्ध जित्नै लागेको घोषणा गरेको अमेरिका स्तब्ध भयो । सबै अमेरिकीहरु नमज्जाले झस्के । सारा तिकडमका बाबजुद पनि अमेरिकाको हारको श्रृङ्खला बढ्दै गएपछि अमेरिकामा नै त्यसको विरोध हुन थाल्यो । बहसको मुद्दा थियो, ‘कुनै सम्बन्ध नै नभएको मुलुकमा अमेरिका किन लड्ने ? किन मर्ने र मार्ने ?’ सन् १९६७ मा ३५ हजारभन्दा बढीले पेन्टागन अगाडि भियतनामविरुद्ध युद्धको विरोधमा प्रदर्शन गरे । १९६७ को अन्त्य तिर हानोइको कम्युनिस्ट फौजले दक्षिण भियतनाममा लगातार आक्रमण गर्न थाले । १९६८ को जनवरी ३१ मा उत्तर भियतनामको ७० हजारको सैन्य टुकडीले दक्षिण भियतनामका १०० वटाभन्दा बढी शहरमा एकै पटक आक्रमण गरे ।

ठीक यही समयमा अमेरिकी सैनिक हारको पीडामा उदण्ड भए, उनीहरु युद्ध अपराधतिर उद्दत्त भए । अमेरिकी सेनाद्वारा निकै क्रुर एवं अमानवीय तरिकाले महिला, बालवालिका र वृद्धवृद्धा मारिए । बलात्कारको श्रृङ्खला नै चलाए । बस्तीहरु खरानीमा परिणत भए । अमेरिकी सेनाको अराजकता विश्वभर फैलियो । अमेरिकामा ‘सफ्ट’ भावना जाग्न थाल्यो । अनिवार्य सेनामा भर्ना भएर लड्नैपर्ने नियमविरुद्ध अमेरिकी युवाहरु बहस गर्न थाले । विनाकारण लड्ने नीतिविरुद्ध आवाज बुलन्द भए । अमेरिकामा पहिलोपटक ह्वाइट हाउसले विश्वभर गरिरहेको नरसंहारका विरुद्ध प्रदर्शन हुन थाल्यो । यस घटनासँगै सन् १९६८ मा भियतनाम बाट अमेरिका फिर्ताको एजेण्डा लिएका रिचर्ड निक्सन राष्ट्रपति उम्मेदवार बने । यतिबेला अमेरिकी सेना भियतनाममा हारको धुलो चाटिरहेको थियो । गाउँमा बम हान्ने, आगो लगाउने बाहेक ठोस युद्ध जित्न सकिरहेको थिएन । अमेरिकी आक्रमणहरु निस्प्रभावी बनिरहे । यही हारका कारण अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउन थाल्यो । रिचर्ड निक्सनले युद्ध अन्त्यको आह्वान गर्दै राष्ट्रपतिमा विजयी भए। सन् १९७३ जनवरीमा अमेरिका र उत्तर भियतनामबीच शान्ति सम्झौता भयो। अमेरिकी सैनिक फिर्ता भए। तर, भियतनाम युद्ध १९७५ अप्रिल ३० सम्म चल्यो। उत्तरी फौजले दक्षिण भियतनाम नियन्त्रणमा लिएसँगै युद्धको अन्त्य भयो। सन् १९७६ मा भियतनाम एक भए।

अन्ततः अमेरिकाले भियतनामी युद्धमा सबैभन्दा धेरै आफ्ना सेना गुमायो । ५८ हजारभन्दा बढी सैनिक गुमाएको अमेरिकाको आर्थिक क्षति निकै नै धेरै रह्यो । करीव १५-३० लाख भियतनामीहरुले ज्यान गुमाए । हारसँगै रणनीतिक सम्बन्धका लागि अमेरिकाले सन् १९७२ मा पहिलोपटक शितयुद्धकै बेला चीनसँग हात मिलायो । आधुनिक हतियारले मात्र युद्ध जितिन्छ भन्ने अमेरिकी दम्भलाई भियतनामी जनताले गलत सावित गरिदिए । सन् १९७३ को पेरिस शान्ति सम्झौतासँगै अमेरिका पूर्ण रुपले भियतनामबाट बाहिरियो । औपचारिक बाह्य हस्तक्षेप रोकिने बित्तिकै उत्तरी भियतनामले दक्षिणी भियतनाममाथि कब्जा जमाउने सुनौलो अवसर छोडेन । उत्तरी भियतनामको दक्षिणी भियतनाममाथि जीतसँगै संयुक्त भियतनाममा कम्युनिस्ट झण्डा फहरायो । सन् १९७५ मा टुक्रिएका २ भियतनाम एकीकृत भए, त्यहाँ कम्युनिष्ट शासन चल्न थाल्यो । साधन र श्रोतको अभाव भएपनि अनुशासित, साहसिक युद्धकला र बारम्बारको प्रयासले सफलता हासिल हुनसक्ने कुरा भियतनाम युद्धले विश्वसामु देखाइ दियो ।