ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

“इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनको कोरोनाभाइरस परीक्षण गरिएको थियो,” प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ।

बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ।

परीक्षण

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्।

उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए।

दुई दिनअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो।

ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्।

यसको असर कस्तो हुनसक्छ?

प्रधानमन्त्रीको सम्पर्कमा आएका कति मन्त्री एवम् अधिकारीहरू अब एक्लिएर बस्नुपर्ने हो भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।

सरकारका मुख्य वैज्ञानिक र यो महामारीसँग जुझ्ने सरकारका विभिन्न प्रयासमा नेतृत्वदायी भूमिकामा खटिएका मानिसहरूसँग जोनसन सम्पर्कमा थिए।

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्ग भन्छिन्- प्रधानमन्त्री अहिले प्रविधिको सहायताले काम गर्न सक्षम छन् र तत्कालका लागि उनी सरकारबाट पछि हट्ने सम्भावना देखिँदैन।

“यदि जोनसन काम गर्न नसक्नेगरी बिरामी भएमा विदेशमन्त्री डोमिनिक राबले सरकारको नेतृत्व सम्हाल्नेछन्। तर हाललाई जोनसन नै सरकारका नेतृत्वकर्ता हुन्।

जोनसनबिहीवार जोनसन यो महामारीसँग जुझ्न खटिएका मानिसहरूप्रति सम्मान दर्शाउन सार्वजनिक रूपमा उपस्थित भएका थिए

गत साताको बिहीवारसम्म जोनसन पत्रकार सम्मेलनमा प्रत्यक्ष उपस्थित भइरहेका थिए।

त्यसबेला उनी यस प्रयासमा खटिएका अन्य मानिसहरूबाट दुई मिटरभन्दा कमको दूरीमा थिए।

त्यसयता भने उनले अनलाइनमार्फत् पत्रकार सम्मेलन गरिरहेका थिए।

तर अहिलेको अवस्थामा जोनसनलाई कहिले सङ्क्रमण भयो भन्ने स्पष्ट छैन र यसबारे व्यापक चासो छ।

Presentational white space