काठमाण्डौ – कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सरकारले आजदेखि भारत र चीनका सीमा नाका बन्द गर्ने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।