यही मार्च १७ को ‘द डेली’ पोडकास्टका लागि न्यूयोर्क टाइम्सका प्रस्तोताले इटालीको कोरोना भाइरसग्रस्त बर्गामो सहरका डा. फाबियानो डि मार्कोसित हृदयस्पर्शी कुरा गरे। डा. मार्को सोही सहरको हजार शैयासहितको पापा ज्योभानी अस्पतालका श्वासप्रश्वास विभागका प्रमुख हुन्।

तीन साता लगातार अस्पतालमा सेवा दिएर घर फर्केका डा. मार्कोले त्यो अन्तर्वार्तामा कोरोनाविरूद्ध लडिरहेको इटालीको दयनीय अवस्था चित्रण गरेका छन्।

उनी भन्छन्- अस्पतालको सर्जरी विभागको काम ८० प्रतिशत रोकेर ती विभागका वार्डहरू श्वासप्रश्वास विभागका लागि उपलब्ध गराइएको छ। अहिले दैनिक ५० देखि ७० जना ‘रेस्पिरेटरी फेलर’का (फोक्सोको काम गम्भीर रूपमा अवरुद्ध भएका र ज्यान बचाउन भेन्टिलेटर आवश्यकता भएका) नयाँ बिरामी आइरहेका छन्। हामीसित अहिले आकस्मिक कक्षमा समेत गरेर ३५० भन्दा बढी त्यस्ता बिरामी छन्।

महामारीका कारण अस्पतालमा अकास्मात बढेको यस्तो चापको सबभन्दा ठूलो शिकार स्वास्थ्यकर्मीहरू भइरहेका छन्।

डा. मार्को भन्छन्- आज मात्रै ४६० जना नर्स बिरामी भएर घरमै छन्।

महामारीका बीच यति ठूलो जनशक्ति सेवाबाट बाहिर कसरी? तीमध्ये कतिमा कोरोना देखिएको छ। अरू कति धेरै काम गरेका कारण शरीरले धान्न नसक्ने भएपछि घर बसेका हुन्। अरू कति कोरोनाका बिरामीको सम्पर्कमा आएका कारण घरमै क्वारेन्टाइनमा छन्।

यो अवस्थामा उपचार गर्ने जनशक्ति कसरी जुट्छ त?

डा. मार्को भन्छन्- हामीले छालादेखि मुटुका विशेषज्ञसम्मलाई श्वासप्रश्वासमा उपचार सिकाएर काममा लगाइरहेका छौं। त्यति गर्दा पनि जनशक्ति पुगेको छैन। मेरा साथीहरू, डाक्टर र नर्स दिनदिनै रुन्छन्।

उनका अनुसार कोरोना महामारीले आम मानिसमा परेको मानसिक आघात निकै गहिरो छ। उनको अस्पतालमा एक दिनमा २० जनासम्म यो रोगका कारण मरिरहेका छन्। अस्पताल भर्ना भएका बिरामी आफन्तसित भेटघाट गर्नबाट वञ्चित छन्, किनकि कुरुवाका लागि संक्रमण रोक्ने गाउनलगायत सामान अभाव छ।

मर्नेहरू एक्लै अस्पतालमा मर्छन् र मरिसकेपछि उनीहरूका घरमा फोन जान्छ। कामको अन्योलमा कहिलेकाहीँ स्टाफले फोन गर्न छुटाउँछन्। पछि घरबाट बिरामीलाई कस्तो छ भनेर फोन आउँदा बिरामीको मृत्यु भइसकेको हुन्छ।

चिकित्सकका रूपमा सबभन्दा पीडादायी अनुभवबारे डा. मार्को भन्छन्- हामीसित आइसियु चाहिने सयौं बिरामी छन् तर आइसियुका बेड दसौं मात्रै छन्। कस्तो बिरामीलाई आइसियु वा भेन्टिलेटर सहायतामा राख्नुपर्छ भन्ने निर्देशिका हामीसित छ। तर त्यो सेवा आवश्यक पर्ने दुई जना छन् र भेन्टिलेटर एउटै छ भने कसको ज्यान बचाउन प्रयास गर्ने र कसको आश मार्ने भन्ने कुनै निर्देशिका छैन। जबकि उपचारका पत्येक कदममा अहिले उनीहरूले त्यस्ता अप्रिय निर्णय गर्नुपरेको छ।

कोरोना महामारीको सबभन्दा कठिन अवस्थाबारे मार्को भन्छन्- आम बिरामीलाई उपचार गर्दा हामी खासै भावुक हुँदैनौं किनकि उनीहरूको उपचार गरेको अनुभव हामीसित छ। तर अघिल्लो दिन आफैंसँग काम गरेका साथी र सहकर्मीको उपचार गर्नु निकै कठिन हुने रहेछ। अहिले हाम्रो अस्पतालमा दसौं सहकर्मी र नर्स उपचाररत छन्।

इटालीको जस्तो अवस्थामा नपुगेका बाँकी सबै देशका लागि डा. मार्कोको अनुभवसिद्ध सल्लाह छ- कोरोना आउला र उपचार गरौंला भनेर कोही नबसौं, त्यो सम्भवै छैन। जति गर्न सकिन्छ, महामारी आइनपुग्दै, नफैलिँदै गरौं। अहिलेको सानो लापरवाही वा हेल्चेक्र्‍याइँ पछि गएर हजारौं ज्यान जाने कारक बन्न सक्छ।

इटालीको यो सन्देश नेपालजस्तो अस्तव्यस्त स्वास्थ्य प्रणाली भएको देशका लागि झनै महत्वपूर्ण छ। आइसोलेसनका लागि टहरा बनाउनु र कोरोनाका सामान्य अवस्थाका बिरामीलाई उपचार गर्न ठूला अस्थायी अस्पताल बनाउनु हाम्रा लागि सम्भव हुन सक्ला। तर भेन्टिलेटरसहितको आइसियु सेवा विस्तार हाम्रा लागि फलामका चिउरा चपाएसरह हुनेछ।

किन त?

सामान्य अवस्थामा समेत हाम्रा सरकारी अस्पतालमा मागभन्दा कैयौं गुणा कम आइसियु बेड उपलब्ध छन्। स्वभावतः सघन उपचारको जनशक्तिको अवस्था उस्तै निम्छरो छ।

जसरी हुन्छ कोरोनाको यो महामारीसँग त हामीलाई जुध्नु छ नै, हाम्रो स्वास्थ्य सेवा प्रणाली किन यति कमजोर भयो भनेर बुझ्नु र अवस्थामा सुधार गर्न सरकारलाई झक्झक्याउनु पनि आवश्यक छ।

गत अढाइ दशकको अवधिमा नेपालमा २० भन्दा बढी निजी मेडिकल र डेन्टल कलेज खुले। अहिले देशमा उपलब्ध अस्पताल बेडको उल्लेख्य हिस्सा तिनले धानेका छन्।

तर सेवा थपिने गरी एउटा मात्रै त्यस्तो सरकारी संस्था बन्योः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान।

राज्यको ध्यान सार्वजनिक स्वास्थ्य संस्थामा गएन। वीर अस्पतालस्थित ट्रमा सेन्टरको अत्याधुनिक भवन निर्माण भएपछि वर्षौं प्रयोगमा आएन। क्यान्सर उपचारका लागि बनाइएको त्रिवि शिक्षण अस्पतालको विशाल नयाँ भवन निर्माण सुरू भएको दशक बित्दा पनि सञ्चालनमा आएको छैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सुरू भएको दशक बित्न लाग्दा अहिलेसम्म एमबिबिएस भर्ना सुरू भएको छैन।

कान्ति बाल र परोपकार स्त्रीरोग अस्पताल लगायत कुनै सरकारी अस्पतालको पनि मागअनुसार क्षमता विस्तार भएको छैन।

सरकारी अस्पतालको क्षमता कम हुँदै गएसँगै ती अस्पताललाई घेरेर निजी अस्पतालको भिड खडा भएको छ। सरकारी अस्पतालबाट ‘लखेटिएका’ बिरामीको घरखेत बेचाएर सेवा दिने ती अस्पताल सञ्चालकमध्ये धेरै पहुँचवाला र राजनीतिक संरक्षण भएका डाक्टर र अरू लगानीकर्ता छन्।

परिणामः कोरोना वा यस्तै महामारीले नेपाललाई इटालीको अवस्थामा पुर्‍यायो भने हामीसित भेन्टिलेटर चाहिने सय जना बिरामी बराबर भेन्टिलेटरसहितको एउटा बेड पुग्ने दुरावस्था आउन सक्छ।

सधैंभर त्यो अवस्था आउनबाट रोक्न अब एउटा मात्रै उपाय छ।

भ्यूटावर निर्माणदेखि घाटामा चलेको चिनी उद्योगको उद्धारका लागि सरकारले छुट्याउन सक्ने दसौं अर्ब रुपैयाँ लगाएर प्रत्येक प्रदेशमा कम्तीमा एउटा ठूला सरकारी अस्पताल वा मेडिकल कलेज निर्माण गर्नु आवश्यक छ। जसमध्ये प्रत्येकमा पर्याप्त आइसियु बेड रहून्।

अहिले पनि हामीले यो पाठ सिकेर राज्यलाई जवाफदेही बनाएनौं भने सायद अर्को दस वा बीस वर्षमा पनि हाम्रो स्वास्थ्य सेवाको हालत यस्तै रहनेछ।